ट्विटरका सहसंस्थापक तथा सीईओ ज्याक डोर्सीले गरेको पाँच शब्दको एक ट्वीट लिलाम बिक्रीमा राखिएको छ ।
यस ट्वीटलाई किन्नका लागि २९ करोड रुपैयाँसम्मको बोली लगाइएको छ ।
डोर्सीले ट्विटर खोलेपछिको यो पहिलो पोस्ट थियो । सन् २००६ को मार्च २१ मा गरिएको ट्वीटमा उनले ट्विटर अकाउन्ट तयार पारिरहेको (जस्ट सेटिङ अप माई ट्विटर) लेखेका थिए ।
ट्वीट बेच्ने एक वेबसाइटमार्फत यो ट्वीटको लिलामी भएको हो । त्यसलाई किन्ने व्यक्तिलाई डोर्सीको अटोग्राफसँगै ट्वीटको सर्टिफिकेट दिइनेछ ।
आइतवार बिहानसम्म डोर्सीको ट्वीटमा २९ करोडसम्मको बोली लागेको छ ।
मलेसियाको ब्रिज ओराकल नामक कम्पनीका सीईओ सीना इस्तवीले डोर्सीको ट्वीटका लागि यति ठूलो रकम दिन लागेका हुन् ।
डोर्सीको ट्वीट किन्नेले ट्वीटको डिजिटल सर्टिफिकेट पाउनेछ ।
आजकल भर्चुअल सामग्रीहरूको खरिदबिक्री गर्ने चलन बढेको छ । केही दिनअघि १० सेकेन्डको एक भिडियो क्लिपको बिक्री ७७ करोड रुपैयाँमा भएको थियो ।