
जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिका अध्यक्ष महन्थ ठाकुर फेरि शक्तिशाली बनेका छन् ।
साविकका समाजवादी पार्टी नेपाल र राजपा नेपालबीच एकीकरण भएर बनेको जसपामा विगतमा उपेन्द्र यादव बलियो देखिएका भए पनि विकसित राजनीतिमा ठाकुर शक्तिशाली मात्र बनेका छैनन्, सत्ता समीकरणका लागि ‘गेम चेन्जर’को भूमिकामा देखिएका छन् ।
साविकमा राजपा नेपाल र सपाको औपचारिक बैठक बस्दै आए पनि फागुन २५ गते जसपाको पहिलो औपचारिक संसदीय दलको बैठक डाकिएको थियो । त्यसअघि सोमवार उपेन्द्र यादवले अनौपचारिक रूपमा सपाको संसदीय दलको बैठक बोलाएका थिए भने राजपाले पनि मंगलवार संयुक्त बैठक बस्नुअघि साविकको राजपाको संसदीय दलमा बैठक बोलाएको थियो ।
मंगलवार १ बजे सिंहदरबारस्थित साविकको सपाको संसदीय दलको कार्यालयमा ठाकुरकै अध्यक्षतामा बैठक बस्यो । प्रतिनिधिसभा तथा राष्ट्रियसभा दुवैका सांसदलाई बोलाइएको दलको बैठकको अध्यक्षता भने ज्येष्ठ सदस्यका हैसियतमा ठाकुरले गरेका थिए ।
अध्यक्षता गरेको बैठकको प्रारम्भमै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको कुरा बताउनुका साथै सत्ता सहकार्यका लागि जसपा तथा एमालेबीच ५ सदस्यीय कार्यदल समेत बनेको कुरा ठाकुरले खुलासा गरे ।
एमालेको तर्फबाट विष्णु पौडेल, सुभासचन्द्र नेम्वाङ र डा. राजन भट्टराई तथा जसपाको तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण सम्मिलित ५ सदस्यीय कार्यदल बनेको कुरा खुलाएपछि बैठकमा उपस्थित सांसदहरू झसङ्ग भएका जसपाका सांसद प्रदीप यादवले बताए ।
महन्थ ठाकुर निकट कार्यकारिणी सदस्य डा. सुरेन्द्रकुमार झाका अनुसार ओलीको प्रस्ताव अनुसार जसपाको मुद्दा सम्बोधन गर्नका लागि कार्यदल बनेको हो । विगतमा संसदको रोस्ट्रममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको प्रतिबद्धता अनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, जेलमा कैदीबन्दी रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ तथा मुद्दा फिर्ता हुनुपर्ने, संविधान संशोधनका लागि प्रारूप तयार पार्नुपर्ने लगायतका सवालमा वार्ता गर्नका लागि जसपा तथा एमालेका नेताबीच कार्यदल बनेको झाले बताए ।
‘नेकपासँग मात्र होइन, अन्य दलसँग पनि जसपाले संसदमा भएको आफ्नो सिट संख्याको आधारमा, उपयोगिताको आधारमा हामी सबै दलसँग छलफल तथा वार्ता गर्न खुला भएका छौं,’ झाले भने, ‘मधेश थरुहट मुद्दाप्रति जुन दलले सहमति जनाउँछ, त्यस दलसँग सहकार्य गर्न हामी तयार हुन्छौं ।’

जसपामा ठाकुर कसरी भए शक्तिशाली ?
प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक घटनाक्रममा उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराईको एउटा राजनीतिक लाइन थियो भने महन्थ ठाकुर र राजेन्द्र महतोको अर्को लाइन देखिएको थियो । प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रचण्ड–नेपाल समूह तथा कांग्रेससँग सहकार्य गर्नुपर्ने राजनीतिक लाइनमा उपेन्द्र–बाबुराम थिए भने ओली–देउवासँग सहकार्य गर्नुपर्छ भन्ने लाइनमा ठाकुर तथा महतो देखिएका थिए ।
तर सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न भएको राजनीतिक घटनाक्रममा आएर ठाकुर बलियो बनेका छन् । उपेन्द्र यादव र बाबुराम भट्टराईलाई समेत थाहै नदिएर ओलीसँग भेट वार्ता मात्र होइन, कार्यदल समेत बनाएर वार्ता थाल्नुले पनि ठाकुर बलियो भएको संकेत दिएको जसपाका एक सांसदले बताए ।
ठाकुरलाई जसपा भित्रको गणितले शक्तिशाली बनाएको छ । जसपामा अहिले कूल ३४ जना प्रतिनिधिसभा सदस्य, ३ जना राष्ट्रियसभा सदस्य छन् । पार्टी एकीकरण हुनुअघि राजपा र सपाका समान १७/१७ जना सांसद थिए । सपाका हरिनारायण रौनियार र राजपाका रेशमलाल चौधरी निलम्बित छन् । राष्ट्रिय सभामा २ जना साविकको राजपाका र १ जना मात्र सपाका छन् ।
‘प्रतिनिधि सभामा रहेका ३४ सिटमध्ये २४ जना सांसदको हस्ताक्षर ठाकुरजीको गोजीमा पुगिसकेको छ,’ ठाकुर निकट एक नेताले लोकान्तरसँग भने, ‘संसदीय दलको नेताको निर्वाचन नभएको अवस्थामा समेत उहाँले आफूलाई दलको नेताको रूपमा नै प्रस्तुत भएर ओलीसँग वार्ता गर्नुभएको छ ।’
८०१ सदस्यीय केन्द्रीय कमिटीमा दुवै पार्टीको तर्फबाट समान ४००/४०० सदस्य राख्ने तथा १ जना दुवैले प्रस्ताव गरेको व्यक्तिलाई मनोनयन गर्ने गरी सहमति भएको थियो । त्यसअनुसार हालसम्म कूल ७७९ जना मात्र केन्द्रीय कमिटीमा चयन भएका छन् ।
५३ सदस्यीय कार्यकारिणी कमिटीमा पनि दुवै दलबाट समान २६/२६ जना मनोनयन गरेर १ जना साझा व्यक्तिलाई मनोनयन गर्ने सहमति अनुसार हालसम्म साविकको राजपाबाट २६ जना छन् भने सपाबाट २५ जना मात्र चयन भएका छन् । जसपाका कार्यकारिणी सदस्य केशव झाका अनुसार सपाको तर्फबाट १ जना मनोनयन गर्नुपर्ने सिट अझैसम्म खाली छ, त्यसबाहेक दुवै दलबाट साझा व्यक्ति मनोनयन हुनुपर्ने पनि नहुँदा ५३ सदस्यीय कार्यकारिणीमा अहिले ४९ सदस्यीय मात्र छन् ।
हाल संसदीय दल मात्र होइन, केन्द्रीय कमिटीदेखि कार्यकारिणी कमिटीमा समेत ठाकुर–महतो पक्षको पल्ला भारी भएका कारण जसपामा ठाकुर हावी भएका उनी निकट एक जना सांसदले बताए । ‘जसपामा उपेन्द्र यादव यदि चोइटिएर जाने हो भने उहाँ जानुहुन्छ,’ ती सांसदले भने, ‘नत्र ठाकुरजीले अहिले लिने लाइनमा समर्थन जनाएर पार्टीभित्रै बस्नुपर्ने हुन्छ ।’

उपेन्द्र यादवले पार्टी विभाजन गर्नका लागि आवश्यक पर्ने संसदीय दल तथा केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्याउनुपर्ने हुन्छ, त्यस्तो अवस्था आयो भने उपेन्द्र यादवसँग सीमित संख्यामा मात्र नेताहरू रहने उनले बताए ।
ओली सरकारमा जाने वा नजाने ?
ठाकुर तत्कालै ओली सरकारमा सहभागी भइहाल्ने पक्षमा छैनन् र ओलीसँग उधारो सहमति गर्ने पक्षमा पनि छैनन् । नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत लिनका लागि चाहिने १ महिनाको समय अवधिभित्र सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र रेशम चौधरीको रिहाइका लागि केही निर्णय भयो भने ओलीसँग सहकार्य गर्न सकिने उनले बताए । त्यसका लागि सरकारमा जानै परे जाने वा नभए बाहिरबाट समर्थन गर्ने रणनीति ठाकुरले लिएको उनले बताए ।