
म जानेछु धेरै टाढा
ताराहरूको देश
यो भूस्वर्गभन्दा बाहिर अर्कै स्वर्गको देश
अन्तरिक्षमा गन्न नसकिने
अर्बौं प्रकाशवर्ष टाढाबाट
मलाई आएको छ सन्देश
म जानेछु धेरै टाढा ताराहरूको देश
१‘अल्फा सेन्टाउरी’ त मेरो नजिकको छिमेकी
‘एन्ड्रोमेडा’को फैलावटभन्दा माथि
सूर्यभन्दा हजारौं गुना विशाल
अर्बौं ताराहरू छन्
अनि तिनीहरूका सौर्यमण्डल कति अर्ब होलान्
स्वयं प्रकाशित विश्वनियन्ता
त्यो अविनाशी देदीप्यमान प्रकाशसँग
बहस गर्ने म छुद्र प्राणी
कीरो बराबरको मेरो अस्तित्व बुझेर
गर्दिनँ म यो तानातान
बरू जानेछु आत्मप्रकाशको गतिमा
बडो यत्नले आफूलाई साँधेर
अति उज्यालो ताराहरूको देश
२आर्मस्ट्रङ चार लाख किलोमिटर उडे
कोलिन्स फन्को मारिरहे
तर मैले थाहा पाएँ एलियनहरू
चार अर्ब प्रकाशवर्ष टाढाबाट
आउने गर्छन् पृथ्वीमा
हजारौं गुना अघि छन् उनीहरू सभ्यतामा
ती को होलान् ? अनौठा जीवहरू
अर्बौं सौर्यमण्डलमध्येको
एउटा सौर्यमण्डलको
पृथ्वी नामको ग्रहको म तुच्छ झिँगो
उफ्रनु च्याखुरा उफ्रे झैं
पूर्व र पश्चिम देशका बहादुरका कथा झैं
मेरो हैसियत र हविगतलाई बुझेर
जानेछु त्यही स्वर्णिम ताराहरूको देश
३धन्य छु म छुद्र मान्छे
ईश्वरको आभास मलाई भएको छ
उनी त्यहाँ छन् मलाई थाहा छ
पूर्णब्रह्म सच्चिदानन्द स्वरूप
धन्य ! ‘गीता’ मलाई सम्झायौ
‘न तद्भासयते सूर्यो’ समझमा आउँदैछ मेरो
मेरो विज्ञान त्यही भन्दैछ
सापेक्ष समय र खर्बौं ताराहरू
अहो ! कस्तो प्रकाशित दिव्यधाम होला त्यो ?
ब्ल्याक होलका सुरुङ हुँदै शायद पुगिएला त्यो ब्रह्माण्ड
त्यो अनौठो संसारमा
जहाँ होला मेरो परमधाम
भैगो मान्छेहरू खाओ लुछाचुँडी गर्दै
जन्म फेरि जन्म अनेकौंपल्ट मर्दै
मेरो हृदयमा झल्क्यो देवकोटाको अन्तिम वाक्य
‘आखिर श्रीकृष्ण रहेछ एक’
भो चाहिएन काम, क्रोध र आडम्बरहरू
लैजाऊ तिमी सारा मान, शान र फोस्रा इज्जतहरू
किनकि म जानेछु ताराहरूको देश
जहाँबाट आएको छ मलाई दिव्य सन्देश
४सम्प्रति : श्री त्रिभुवन मावि, गोहिगाडा ,मोरङ