०५ साउन २०८३, मंगलबार
पुस्तक समीक्षा

मशिनजस्ता मान्छेको नवीनतम उपद्रो : को वरिष्ठ ?

बैशाख २५, २०७८
मशिनजस्ता मान्छेको नवीनतम उपद्रो : को वरिष्ठ ?
  • लक्ष्मण गाम्नागे

अलि अस्ति हेटौंडा गएका बेला दाजु आरसी रिजालले प्रेमपूर्वक दिनुभएको व्यंग्य संग्रह ‘को वरिष्ठ’ एकै बसाइमा पढी सिध्याएँ ।

कुरा के छ भने हात परेका कतिपय किताबहरू कभर सुमसुम्याएर पत्रिकाहरूसँगै राखिन्छ, कति भूमिका पढेर थन्क्याइन्छ, कति केही पाना पढेर लुकाइन्छ, कति किताबहरू कन्दैओर्दै केही हप्ता वा महिना लगाएर भए पनि पढी सिध्याइन्छ । 

कति किताबहरूले पढ्न थालेपछि सकेर मात्रै उठ्ने अनुमति दिन्छन् भने कति किताबहरूले पढिसकेपछि पनि के गरौं के गरौं भएर छट्पटीमा पारिदिन्छन् । मेरा लागि आरसी रिजालको किताब पढिसकेर पनि त्यतिकै थन्क्याउन नपाइने किताब पर्‍यो । एक त यो हाँस्य–व्यंग्यको किताब त्यसमा पनि आरसी रिजालले लेखेको । त्यसैले किताबमाथि केही लेख्न मन लाग्यो । अनि यो पाठकीय टिप्पणी लेख्छु भनेर कस्सिएँ । 

नेपाली हाँस्यव्यंग्य साहित्यको क्षेत्रमा आरसी रिजाल चिनाइरहनुपर्ने नाम रहेन । निदाएको बेलाबाहेक आरसीजीको ध्याउन्न साहित्यबाहेक अन्त हुन्छ होला जस्तो मलाई लाग्दैन । निदाएकै बेला पनि सपनामा आरसीजी साहित्यिक सपना नै देख्नुहुँदो हो ।

हाँस्यव्यंग्य लेख्ने, कुनै साहित्य महारथीको सम्मान गर्ने, शालिक बनाउने, अक्षय कोष खडा गर्ने, पुरस्कार स्थापना गर्ने, पत्रिका निकाल्ने । नभए समाजका विकृति र विसंगतिहरूलाई मनमा खेलाइरहने, त्यसलाई लेखनीमा कसरी उतार्ने भनेर सोचिरहने र उतारिपनि हाल्ने । केही न केही उपद्रो नगरी एकछिन पनि बस्न नसक्ने ।

अहिले पनि आरसीजीको एउटा इष्र्यालाग्दो उपद्रो चलिरहेको छ । बुढ्यौली साहित्यको उन्ननयनका लागि कोष बनाउने, पत्रिका निकाल्ने र बुढाबुढीका लागि अरु के गर्न सकिन्छ ? त्यो गर्ने । कोष खडा भइसक्यो, बुढ्यौली साहित्य विषयक रेडियो कार्यक्रम शुरू भइसक्यो, पत्रिका निस्कने तयारी अगाडि बढिसक्यो । एउटा अभियान सकिन पाएको छैन, अर्को अभियान थालिहाल्ने । मशिन जस्तो मान्छे ।

यी मशिन जस्ता मान्छेका आधा दर्जन बढी कृतिहरू प्रकाशित छन् । केही अनुवाद पनि छन् । हाँस्यव्यंग्यको मौलिक कृतिमा चाहिँ यो पाँचौं हो शायद । 

अब यही किताबको कुरा । साहित्य संगम मकवानपुरले प्रकाशन गरेको चिटिक्कको यो किताबमा छत्तिस थाना छोटा रचनाहरू छन् । कुनै–कुनै अलि लामा पनि छन् । छत्तिसमा छत्तिस नै व्यंग्य रचना छन् भनेर ठोकुवा गर्नु हुँदैन । धेरैजसो व्यंग्य छन् र बाँकी पनि व्यंग्यात्मक शैलीका छन् । व्यंग्य नै हुनु र व्यंग्यात्मक हुनुमा केही भेद हुन्छ होला भन्ने मलाई लागेकोले यो भनेको हुँ । कतिपय रचना निकै गम्भीर खालका छन् भने कतिपय रचना पढ्दा एक्लै पनि खितखिताएर हाँस्न मन लाग्ने छन् । 

पुस्तकका अगाडि विधा छुट्याउने ठाउँमा ‘हाँस्यव्यंग्य’ भनिएको छ । विधा किन प्रस्ट उल्लेख नभएको हो ? मैले बुझिनँ । हाँस्यव्यंग्य मात्र भन्दा हामी स्वतः निबन्ध होला भन्ठान्छौं । तर यो संग्रहका धेरै रचनाहरू कथाको बान्की र विशेषता भएका छन् । निबन्धभित्र पनि अनेक कथा उपकथा घुस्रिएका छन् । आख्यान विधामा हाँस्यव्यंग्यको खडेरी छ । यस्तो बेला लेखिएका यी कथाहरूलाई कथा नै भनेर घोषणा गर्न पाएको भए गजब हुन्थ्यो भन्ने मेरो मान्यता छ ।

मलाई अचेल कथा र निबन्धबीचको दूरी घट्दै गएको जस्तो लाग्छ । त्यसमा पनि हाँस्यव्यंग्य निबन्धहरू त कथाकै स्वरूपमा आउन थालेका छन् । ‘को वरिष्ठ’बाट केही निबन्ध झिकेर यसलाई व्यंग्य लघुकथा संग्रह भन्न पाएको भए खास्सा हुन्थ्यो होला । आगे पाठकहरूको विचार । 
 
‘को वरिष्ठ’का यी छोटा रचनाहरू अत्यन्त समसामयिक र उपयोगी छन् । केहीबाहेक प्रायः रचनाहरू सामाजिक विषयवस्तुमा केन्द्रित छन् । खासगरी सामाजिक, सांस्कृतिक, परम्परागत, अन्धविश्वास, कुरीति र कुसंस्कारविरुद्ध लेखकको भद्र विद्रोहलाई यी रचनाहरूले अभिव्यक्ति दिएका छन् । 

लेखकको व्यक्तित्व जस्तै शान्त, सौम्य र भद्र रचनाहरूको माध्यमबाट सामाजिक, राजनीतिक, सांस्कृतिक, वैयक्तिक लगायत विविध क्षेत्रका विकृतिहरूमाथि लेखकले च्वास्स–च्वास्स घोचेका छन् । कतै–कतै अलि कडा प्रहार पनि गरेका छन् ।  

भैरवसँग भलाकुसारी भन्ने रचनाबाट पुस्तकको श्रीगणेश गरिएको छ । आरसी यसै पनि भैरवका भक्त हुनुहुन्छ । भैरव अर्याल नेपाली हाँस्यव्यंग्य साहित्यका शिर, हामी धेरैका गुरु । नेपाली हाँस्यव्यंग्य निबन्ध जगतका मानक व्यक्तित्व । त्यसैले पनि हुनुपर्छ पहिलो रचना भैरवको स्मृतिमा छ । 

भैरव अर्याललाई एक रात सपनामा भेटेर आरसीजीले यस मर्त्य लोकको पोल लगाउनुभएको छ । यहाँका अनेकौं विकृति विसंगतिका कुरा सुनाएर भैरवलाई सुसूचित गर्नुभएको छ । समाजको र साहित्यको अवस्थाबारे रोचक कुराकानी गर्नुभएको छ ।  

‘को वरिष्ठ ?’ भनेर पुस्तकको अवरणले नै प्रश्न गरेको छ । उमेर खाएको, कपाल फुलेको, ठूलो भुँडी भएको मोटोघाटो, खाइलाग्दो ज्यान परेको, टन्न सम्पति भएको । हाम्रो समाजले वरिष्ठ मान्ने मापदण्ड यस्तै हो । लेखकका अनुसार खास हुनुपर्ने चाहिँ आफ्नो क्षेत्रमा इमान्दार, सबैलाई नेतृत्व दिनसक्ने खुबी भएको, असल चरित्रवान, श्रद्धा गर्न लायक व्यक्ति पो वरिष्ठ हुनुपर्ने भन्ने छ । जसोतसो आयू बढाएर, घाममा कपाल फुलाएर यसो १–२ वटा कविता, २–४ वटा गन्थने किताब लेख्दैमा उसलाई वरिष्ठ मान्नुपर्ने, कस्तो विडम्बना होला भनेर लेखक छक्क परेका छन् । 
 
काममा नाममा भुत्लोभाङ नगर्ने, कोठामा बसेर राष्ट्रवादका आदर्श कविता लेखेर विदेशमा कमाउन गएकाहरूलाई घर फर्केर आऊ भनेर लेख्ने कवि लेखक पनि आरसीजीलाई पटक्कै मन पर्दैनन् । व्यंग्यकार सोध्छन्, के आदर्शले भुँडी भरिन्छ ? विदेशमा २ पैसा कमाएर जहान पाल्न हाड घोटिरहेकाहरूलाई भड्काएर देशमा बोलाएर तिमी रोजगारी दिन्छौ ? देशको वास्तविकता बुझी–बुझी यस्ता नक्कली कविता लेख्ने ? सामाजिक यथार्थको धरातलमा टेकेर साहित्य सिर्जना गर्नुपर्छ भन्ने लेखकको भनाइ मननयोग्य छैन त ?
 
नमस्कार, जिउँदो जुत्ता शहीद, कोरोना शहीद हुँदै व्यंग्यहरू अघि बढ्छन् । ‘वैतरणी’ हँसाएर हुरुक्क पार्ने कथा छ । ‘हुन्थ्यो’ भन्ने शीर्षकको निबन्धमा पुगेपछि तपाईंलाई लेखकले आन्द्रा बटारिने गरी हँसाउँछन् । ब्रह्माजीले हाम्रा दुइटा आँखामा दुइटै किन अगाडि नै राखेका होलान् ? लेखकको गम्भीर प्रश्न छ । 

उनी भन्छन्, ‘आँखा हेर्नुस् त दुइटै अगाडि जडान गरेका ! एउटा पछाडि राखिदिएको भए बाबुको ठेगान नभएका ती ब्रह्मा बूढाको के जान्थ्यो ? यस्तो भए पछाडिको दृश्य देखिन्थ्यो, राम्रो भए मज्जाले हेरिन्थ्यो । अर्को कुरा, पछाडिबाट हुने दुर्घटनाबाट बचिन्थ्यो । ल यति गर्न सकेनन् रे, घाँटीमा बेरिङ सिस्टम व्यवस्था गरिदिएको भए जिउ नघुमाई टाउको मात्र घुमाउन सकिन्थ्यो । आफू चाहिँ ४ वटा टाउकोमा ४ दिशा देखिने गरी ८ वटा आँखा राख्ने ।’

अब हरेक रचनाको व्याख्या गरेर तपाईं पाठकलाई दिक्क लगाउँदिनँ । समग्रतामा प्रवेश गर्छु । कतै हँसाउँदै कतै च्वास्स हुने गरी घोच्दै, कतै गम्भीर बनाउँदै, कतैकतै रुवाउँदै लेखकले पाठकलाई भित्रैसम्म घच्घच्याउने प्रयास गरेका छन् । गम्भीर विचारहरू रमाइलो शैलीमा आएका यी हरेक रचनाहरू पठनीय र मननीय छन् । हामी धेरैका गलत संस्कार, प्रवृति र आनीबानीमाथि लेखकले सिस्नुपानी लगाउने काम गरेका छन् । कतिपय रचनाको पात्र म आफैं पो हुँ कि झैं लाग्छ । 

संक्षेपमा आरसीजीका रचनाहरू पहिला–पहिलाका जस्तै उत्कृष्ट छन्, हँसाउने छन्, व्यंग्य गर्ने छन् । सबैभन्दा मूल विशेषता मलाई लागेको आरसीजीका यी रचना रचना मात्र होइनन्, यी उहाँका अनुभवहरूका संग्रह पनि हुन् । समाजमा देखिने मसिनाभन्दा मसिना विषयहरूलाई टपक्क टिपेर बडो मेहनतसँग केलाएर राम्रा कुरालाई ग्रहण गर्दै नराम्रा कुराहरूलाई परित्याग गर्दै सफा समाजको निर्माणमा लाग्न हामी सबैलाई घच्घच्याउने काममा यी रचनाहरू केन्द्रित छन् । 

हाँस्य व्यंग्यका हस्ती, नेपाली साहित्यका महारथी आरसी रिजालको सुस्वास्थ्य, दीर्घायु र निरन्तर सिर्जनका लागि हार्दिक शुभकामना दिन्छु । भूलचुक लिनेदिने ।

salt training

कमेन्ट गर्नुहोस्