भारतको मध्य प्रदेशमा रहेको रीवा शहरमा मास्क नलगाइकन स्कूटरमा हिँडिरहेकी एक महिला उल्टै प्रहरीसँग निहुँ खोज्दै भिडेकी छन् ।
मास्कको साटो शलले अनुहार छोपेर ती महिला गइरहेकी थिइन् । प्रहरीले रोकेर जरिवाना तिराएपछि उनी सडकमै हल्लाखल्ला गर्न थालिन् । उनले एसपी र कलेक्टरकहाँ जाने धम्की दिन थालिन् ।
रीवामा मे ३१ सम्म कोरोना कर्फ्यु लगाइएको छ । ठाउँठाउँमा चेकिङ भइरहेको छ ।
चेकिङकै क्रममा प्रहरीको टोलीले कलेज चौबाटोमा स्कूटीमा गइरहेकी युवतीलाई रोक्यो । स्कूटरमा नम्बर प्लेट पनि थिएन । प्रहरीले मास्क किन नलगाएको भनी सोध्दा शलले मुख छोपेकै छु त भनी उनले वचन लगाइन् ।
कपडाले मुख छोपेर बाहिर निस्कने अनुमति छैन, मास्क नै चाहिन्छ भनी प्रहरीले भन्यो । त्यसपछि युवतीले आफू स्वास्थ्य विभागको कर्मचारी भएको बताइन् । खै, परिचयपत्र देखाउनुस् त भन्दा उनी झगडा गर्न तम्सिइन् ।
प्रहरीले पुर्जी थमाएपछि उनले भनिन्, ‘कोरोना लागे लागोस् । मलाई कलेक्टर र एसपीकहाँ लग । त्यसपछि मात्र अफिस जान्छु ।’
प्रहरीसँग बहस गर्दागर्दै उनले स्कूटी पनि भुइँमा पछारिन् । प्रहरीलाई तथानाम बक्न थालिन् ।
एक महिला प्रहरीले धेर बकवास गर्ने हैन भन्दा हातै उठाउन खोजिन् ।
घटनाको भिडियो भाइरल भइरहेको छ ।