१८ असार २०८३, बिहीबार

कोभिडका कारण मृत्यु भयो भनिएकी महिला जिउँदै, कसको लाश जलाए आफन्तले ?

कोभिडका कारण मृत्यु भयो भनिएकी महिला जिउँदै, कसको लाश जलाए आफन्तले ?

भारतको आन्ध्र प्रदेशमा कोभिड–१९ लागेर मृत्यु भयो भनिएकी एक वृद्ध महिला जिउँदै घर फर्केकी छन् । 
 

मुक्त्याला गिरिजाम्मा नामक ७० वर्षीया महिलाको परिवारलाई मे १५ मा उनको मृत्युको खबर दिइएको थियो । 
 

जग्गाइयापेत शहरमा रहेको अस्पतालले अर्कै व्यक्तिको शव गिरिजाम्माको परिवारलाई बुझाएको थियो । परिवारले त्यही शवको दाहसंस्कार गरेको थियो । 
 

गिरिजाम्मालाई मे १२ मा अस्पताल भर्ना गरिएको थियो । 

उनका पति गदैया अवस्था बुझ्नका लागि अस्पताल जाँदा गिरिजाम्मा शय्यामा थिइनन् । अस्पतालका कर्मचारीले उनलाई अर्को वार्डमा सारिएको बताए । 
 

गदैयाले गिरिजाम्मालाई अस्पतालको कुनै पनि वार्डमा फेला पारेनन् । 
 

गिरिजाम्माका भतिजा नागुका अनुसार, अस्पतालका अधिकारीहरूले उनको शरीर मूर्दाघरमा भएको बताए । 

परिवारले भौतिक दूरी अपनाउँदै शवलाई नजिकबाट नहेरी दाहसंस्कार गरेको थियो । 

अस्पतालले मृत्यु प्रमाणपत्र समेत जारी गरिदियो । 

खासमा त्यही जिल्लाकी अर्की गिरिजाम्माको मृत्यु भएको थियो र अस्पतालका कर्मचारीहरू झुक्किए । 

उता यी गिरिजाम्मा चाहिँ अस्पतालमा निको भइरहेकी थिइन् अनि आफूलाई लिन किन कोही आएनन् भनी छक्क परेकी थिइन् । 

राज्य सरकारले कोरोनाबाट निको हुने सबैलाई तीन हजार भारु दिने गरेको छ । त्यही पैसा लिएर गिरिजाम्मा घर फर्किन् । 

पत्नी जीवितै फर्केकोमा गदैया तीनछक्क परेका छन् र ईश्वरलाई धन्यवाद दिइरहेका छन् । 

तर उनीहरूका छोरा रमेशको मृत्यु कोरोनाको कारण भएकाले उनीहरू शोकमा छन् । आमा अस्पतालमै हुँदा रमेशको मृत्यु भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्