
चीनको शांघाईमा रहेको नेभल मेडिकल युनिभर्सिटीका वैज्ञानिकहरूले एउटा भाले मुसामाथि परीक्षण गरेर त्यसबाट बच्चा जन्माएका छन् ।
उनीहरूले त्यो भाले मुसालाई पोथीसँग जोडे अनि गर्भाशय प्रत्यारोपण गरे ।
यस परीक्षणले प्रजनन जीवशास्त्रमा गहन असर पार्ने वैज्ञानिकहरूको भनाइ छ ।
मानवमा यसको असर कस्तो पर्छ भनी उनीहरूले बताएनन् । तर तेस्रोलिंगी महिलामा गर्भाशय प्रत्यारोपण गर्ने सम्भावनाको अध्ययन भइरहेको बेलामा यो परीक्षण गरिएको हो ।
वैज्ञानिकहरूको टोलीले भाले र पोथीको छाला जोडे अनि रगत साटासाट गरे । त्यसपछि उनीहरूले भाले मुसामा गर्भाशय प्रत्यारोपण गरे अनि भाले र पोथी दुवैथरी मुसामा भ्रूण राखे ।
त्यसपछि भ्रूणलाई साढे २१ दिनसम्म विकसित हुन दिइयो । अनि सिजेरियन गरेर २७ वटा भ्रूणबाट १० वटा मुसा जन्मिए ।
त्यसरी जन्मेका मुसाहरू वयस्क भएर प्रजनन गराउन सफल भए । उनीहरूलाई मुटु, फोक्सो, कलेजो कतै पनि नराम्रो असर परेन, वैज्ञानिकहरूको टोलीले जनायो ।