
कैलाली जिल्लाको भजनी नगरपालिकामा निर्माणाधीन तटबन्ध बगेको छ ।
नगरपालिकाको वडा नम्बर ३ स्थित कान्द्रा नदीको कुसुमघाटमा गत वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको तटबन्ध बगेको हो ।
निर्माणमा चरम ढिलासुस्ती र प्राविधिक त्रुटिका कारण नदीमा आएको सामान्य बाढीले पनि तटबन्धको केही भाग भत्काएर बगाएको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीको डिजाइनमा भएको त्रुटि र निर्माण कम्पनीले गरेको ढिलासुस्तीले सम्पन्न हुन नपाउँदै तटबन्ध भत्काएको उनले बताए ।
डिभिजन कार्यालय र निर्माण कम्पनीले स्थानीय तहसँग कुनै समन्वय समेत नगरेको वडाध्यक्ष चौधरीको भनाइ छ । मानव बस्ती, दूर्गा माध्यमिक विद्यालय, बीओपी कुसुमघाट सहितका क्षेत्र जोगाउन निर्माण गर्न थालिएको तटबन्ध नै भत्किएपछि उच्च जोखिममा परेको बताइएको छ ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले निर्माण कम्पनीको ढिलाइले तटबन्धको केही भागमा क्षति पुगेको बताएको छ तर डिजाइनमा भने कुनै कमी नभएको कार्यालयको दाबी छ ।
डिभिजन प्रमुख डम्मरप्रसाद धितालका अनुसार तटबन्ध निर्माणको लागि राजेन्द्र निर्माण सेवासँग २०७७ जेठ २५ गते निर्माण सम्झौता भएको थियो । २०७८ भदौ ३ गते समेत तटबन्ध निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको छ ।
डिभिजन कार्यालयले भत्किएको तटबन्धसहित नगरपालिकाको वडा नम्बर ९ भुरुवामा २ स्थानमा तटबन्ध निर्माणको लागि ३ करोड ३३ हजार ७०७ रुपैयाँ लागतमा निर्माण सम्झौता गरेको छ । तर हालसम्म ४० प्रतिशत मात्रै काम गरेको डिभिजन प्रमुख धितालले बताए ।
भुरुवामा निर्माण गरिने भनिएको तटबन्धको काम निर्माण कम्पनीले शुरू समेत नगरेको डिभिजन प्रमुख धितालले लोकान्तरलाई जानकारी दिए ।
निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाले निर्माणको ठेक्का पाएको सबै काम प्रभावित भएको बताइएको छ । राजेन्द्र निर्माण सेवाका सञ्चालक डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद हुन् ।