![टोकियो प्यारालिम्पिक्सको तयारीमा पलेशा : क्लोज क्याम्पमा बगाउँदै पसिना, पदकको आशा [भिडियो]](https://lktcdn2.prixacdn.net/media/paleshaaa_Thumb_esqA9o8kXk.jpg)
जापानको टोकियोमा २४ अगस्टदेखि ५ सेप्टेम्बर २०२१ सम्म अपाङ्गता भएका व्यक्तिहरूको 'प्यारालिम्पिक गेम्स' आयोजना हुँदैछ । त्यसमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनले पनि प्रतिस्पर्धा गर्दैछिन् ।
उनले के ४४ अन्तर्गत ५८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । पलेशाको साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा र पलेशा गोबर्द्धनसँग गरिएको कुराकानी :
१) प्यारालिम्पिक खेलमा सहभागिता जनाउन पाउँदा कस्तो अनुभव हुँदैछ?
पहिलोपटक जापानमा हुने प्यारालिम्पिक गेम्समा सहभागिता जनाउन पाउँदा धेरै नै खुशी लागिरहेको छ। मैले त सोचेको पनि थिइनँ कि यो खेलका लागि म सेलेक्ट हुन्छु भनेर । मैले अहिले एकदमै मेहनत गर्दैछु । एकदमै एक्साइटेड छु ।
२) कस्तो तयारी गरिरहनुभएको छ?तयारी गर्ने समय त धेरै पाउनुभएको जस्तो लागेन ।
अहिले हामी क्लोज क्याम्पमा छौं । तालिका मिलाएर तालिम गर्दैछु । हामी टीममा बसेर अनि साफ खेलमा जितेका राष्ट्रिय खेलाडीहरूसँगै मिलेर तालिम गर्दैछौं । तयारी राम्रो गर्दैछौं।
हामीले अगाडिदेखि नै तालिम गर्दै आएकाले प्रशस्त समय नभएर खासै फरक पर्दैन किनभने हामी यही खेलका लागि भनेर धेरै पहिलेदेखि नै ट्रेनिङमा थियौं । म उच्च मनोबलका साथ तयारी गर्दैछु । आशा छ, मैले पदक ल्याउनेछु ।
३) कसको प्रेरणाले गर्दा तेक्वान्दो खेलमा लाग्न हौसला मिल्यो?किन तेक्वान्दोमा लाग्नुभयो?
तेक्वान्दो मैले स्कूलदेखि नै खेल्न थालेको हुँ । मेरो स्कूलको करिकुलममा नै यो खेल थियो । तर मलाई प्यारातेक्वान्दो भन्ने थाहा थिएन । मलाई स्कूलको कोचले प्यारातेक्वान्दोको बारेमा जानकारी दिनुभयो र म खेल्न थाले त्यसपछि स्कूलमा खेल्दाखेल्दै मलाई राष्ट्रिय प्यारातेक्वान्दो टीमबाट बोलाउनुभयो र म सेलेक्ट भएँ । त्यहाँदेखिनै मेरो यात्रा शुरू भयो । सो म अहिले सबैजना जसले मलाई यसमा लाग्न हौसला दिनुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु।
४) प्रशिक्षक तथा खेल पदाधिकारीबाट कस्तो सहयोग पाउनुभएको छ?
नेपाल तेक्वान्दो एसोसियसन र नेपाल पारा कमिटीलाई म धेरै धन्यवाद दिन चाहन्छु जसले हाम्रो ट्रेनिङदेखि बस्ने व्यवस्था सबै मिलाएको छ हामीले तालिम गर्ने हलमा पनि सेन्सर सिस्टम बनाएको छ ।
डाक्टर, फिजियोथेरापिस्ट, योगा, जिम सबै मिलाएकोमा म वहाँहरूलाई धेरै धन्यवाद दिन चाहन्छु । म मेरो कोच कविराज नेगी लामा, ओलम्पीयन दीपक विष्ट सर कोरियन गुरू जसले मलाई हौसला र साथ दिनुभयो, उहाँहरू सबैलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु ।
कोच कविराज नेगी लामा यसो भन्छन्,प्यारातेक्वान्दो खेलाडी पलेशा गोबर्द्धनको बारेमा:
नेपाल तेक्वान्दो एसोसिएसन र नेपाल प्याराकमिटीले प्यारालिम्पिक गेम्सका लागि सबै व्यवस्था मिलाएको छ, जसमा ट्रेनिङदेखि बस्ने व्यवस्था, डाक्टर, फिजियोथेरापिस्ट, योगा, जिम सबै मिलाएको छ। जसका लागि पलेशा गोबर्द्धनले गरेको मेहनत हामीले २०१६ देखि हेर्दै आएका छौं, जसअन्तर्गत उनले धेरैपटक विदेशमा गएर प्रतिस्पर्धा गरिसकेकी छन् ।
![]()
जसअन्तर्गत कोरिया, भियतनाम, फिलिपिन्स, जापान, टर्कीलगायत देशहरूमा प्रतिस्पर्धा गरिसकेकी छिन्, जसमा फिलिपिन्सबाट पदक समेत ल्याउन सफल भैसकेकी छिन् । विश्व र्याङ्कमा पनि उनी १३औं स्थानमा छिन् । उनले पदक ल्याउनेमा हामी आशावादी छौं । अहिले उनको खेलस्तरमा पनि उलेख्य प्रगति भएको छ।
हामीले तालिममा कुनै कमी गरेका छैनौं । सबै सुविधा सम्पन्न तबरले आधुनिक प्रविधि अपनाएर तालिमको व्यवस्था मिलाएका छौं । दिनको तीनपटक समय तालिका अपनाएर तालिमको व्यवस्था मिलाएका छौं। हामी पदक ल्याउने कुरामा आशावादी छौं ।
हेर्नुहोस्, भिडियो :