२३ असार २०८३, मंगलबार
एमाले विवाद समाधानको प्रयास

ओलीले बोलाएको स्थायी कमिटी बैठक जेठ २ कै अवस्थाको हो ?

भदौ ७, २०७८
ओलीले बोलाएको स्थायी कमिटी बैठक जेठ २ कै अवस्थाको हो ?

नेकपा एमालेको विभाजनमा तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूको माग थियो– १० बुँदे पूर्ण रूपमा कार्यान्वयन गरियोस् र त्यसका लागि पार्टी संरचना २०७५ जेठ २ को अवस्थामा फर्काइयोस् । 

माधव नेपालको साथ छाडेका नेताहरू आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको छलफलपछि भोलिका लागि बोलाइएको स्थायी कमिटी बैठकमा सहभागी हुन सहमत भएका छन् । 

ओलीले आजको छलफल शुरू गर्दा नै भोलि स्थायी कमिटीको बैठक बोलाउने र मध्यमार्गी भनिएका नेताहरूको मागका बारेमा छलफल गर्ने प्रस्ताव राखेका थिए । 

बैठकमा नरम ढंगले प्रस्तुत भएका दोस्रो पुस्ताका नेताहरू अन्ततः भोलिका लागि स्थायी कमिटीको बैठक बोलाउने र त्यसमा सहभागी हुने सहमति गरेर निस्किए । 

अध्यक्ष ओलीले भदौ ८ गते बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन् । तर, यो बैठक मध्यमार्गी भनिएका नेताहरूले भनेजस्तो २०७५ जेठ २ को अवस्थाको भने होइन । 

एमाले विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमतिमा पनि पार्टी संरचनालाई २०७५ जेठ २ को अवस्थामा लैजाने भनेको छ ।

एमालेका लागि २०७५ जेठ २ किन महत्वपूर्ण छ भने २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रको एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो ।

नेकपा बन्नुअघि एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय थियो । 

२०७५ जेठ २ को स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीलाई २४१ सदस्यीय बनाउने र त्यसको जिम्मा केपी ओली र माधव नेपाललाई दिने निर्णय गरेको थियो ।

२०७५ जेठ ३ बनेको नेकपा २०७७ फागुन २३ गते पूर्ववत् अवस्था एमाले र माओवादी केन्द्रमा फर्कियो । 

नेकपामा हुँदा नै शुरू भएको अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल बीचको विवाद साविकको एमाले बन्दा जस्ताको तस्तै रह्यो ।

नेकपा विभाजन हुँदा त्यसअघि माओवादीमा रहेका केही नेता पनि एमालेमा आए । 

ओलीको गतिविधि र शैलीमा फरक मत राखेको समूह ओलीले बोलाएको बैठकमा सहभागी भएन । त्यही बेला माओवादी केन्द्रबाट आएका पाँच नेतालाई ओलीले एमालेको स्थायी कमिटी सदस्यमा मनोनित गरे । 

एमालेको मध्यमार्गी धारमा रहेका नेताहरूले माग गरेको पार्टी संरचना माओवादीबाट आएका नेताहरू मनोनित हुनुभन्दा अगाडिको थियो । 

उनीहरूले भन्ने गरेका थिए, ‘२०७५ जेठ २ को अवस्थामा पार्टी संरचना फर्किनुपर्छ र त्यसपछिका बैठकले मात्रै माओवादीबाट आएका नेताहरूको बारेमा निर्णय गरेर अघि बढ्नुपर्छ ।’

ओलीले भदौ ८ गते बोलाएको स्थायी समिति बैठकमा माओवादीबाट आएर मनोनित भएका नेताहरू सहितको हो । 

‘भोलिको बैठक माओवादीबाट आउनु भएर स्थायी कमिटीमा मनोनित हुनुभएका साथीहरू सहितको बैठक हो । एमाले असार २९ गतेबाट नै २०७५ जेठ २ को अवस्थामा फर्किसकेको छ’, एमाले नेता एवं केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने ।

नेकपा एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पनि भदौ ८ गतेको लागि बोलाइएको स्थायी कमिटी बैठक माओवादी केन्द्रबाट आएका नेताहरू सहितको भएको बताए ।

‘भोलिको बैठक माओवादी केन्द्रबाट आउनुभएका साथीहरू सहितको हुन्छ । यसअघि जो स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको थिएन, उहाँहरू पनि बैठकमा बसेर यसअघि भएका निर्णयलाई आत्मसाथ गर्नुहुन्छ’, ज्ञवालीले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्