
कोरोना महामारीका कारण विश्वभर जस्तै नेपालमा पनि पर्यटन तथा हस्पिटालिटी व्यवसाय नराम्ररी प्रभावित भएको छ । नियमित सञ्चालन भइरहेका ठूला होटलहरू लामो समयदेखि सुनसान जस्तै छन् ।
नेपालमा २०७६ फागुनमा मात्रै कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपनि अन्य मुलुकहरूमा २०७६ पुसदेखि नै संक्रमण फैलिएको थियो ।
संक्रमण फैलिएसँगै अन्तर्राष्ट्रिय मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा गिरावट आउन थाल्यो । फागुनसम्ममा आइपुग्दा पर्यटकहरू आउनै छाडेका थिए भने नेपाल सरकारले पनि चैत ११ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै मुलुकमा पूर्ण बन्दाबन्दी कायम गरेको थियो ।
त्यसपछि आज पर्यन्त नेपालको होटल तथा पर्यटन व्यवसाय ठप्पप्रायः छ ।
अहिले निषेधाज्ञा कम हुँदै जाँदा विस्तारै होटल तथा पर्यटन क्षेत्रमा चहलपहल देखिएका छन् । यद्यपि नेपालमा सञ्चालित ५ तारे होटलहरूलाई सञ्चालन खर्च उठाउनै धौधौ देखिएको छ ।
यहाँ केही पाँचतारे होटलहरूको वर्तमान अवस्थाबारे चर्चा गर्दैछौं ।
होटल याक एन्ड यति
काठमाडौंंको दरबारमार्गमा रहेको ५ तारे होटल हो, याक एण्ड यति ।
सामान्य अवस्थामा निकै व्यस्त रहने यस होटल कोरोना महामारीका कारण अहिले दयनीय अवस्थामा छ ।
कोरोना महामारीको समयमा मासिक करीब १३ करोड रुपैयाँसम्म घाटा भएको होटलका कर्मचारीहरू नै बताउँछन् ।
विगतमा दैनिक ५ देखि ७ वटासम्म विशेष कार्यक्रम भइरहने सो होटलमा अहिले मुस्किलले १/२ वटा कार्यक्रम हुन्छ । विगतमा हजारौँको उपस्थिति रहने कार्यक्रमहरू अहिले २५ जनामा सीमित भएको छ ।
‘अहिले केही कर्पोरेट प्रोगामबाहेक अन्य कारोवार छैन, गेस्टहरू पनि छैनन्,’ एक उच्च पदस्थ कर्मचारीले लोकान्तरसँग भने, ‘होटलको अवस्था दयनीय छ ।’
ती कर्मचारीका अनुसार अहिले होटलमा करीब ५ प्रतिशतमात्रै कारोवार भइरहेको छ ।
विगतमा अधिकांश समय ७० देखि ८० प्रतिशतसम्म ग्राहक तथा पर्यटक आउने होटलमा अहिले मुस्किलले ४ प्रतिशत आउने ती कर्मचारीको भनाइ छ ।
होटल र्याडिसन
५ तारे होटलमा सूचीकृत होटल र्याडिसनको अवस्था पनि उस्तै छ । २ वटा भवन रहेको यस होटलको एक भवन त बन्द नै छ । बाँकी एक भवन मात्रै अहिले सञ्चालनमा आएको छ, जसमा पनि ग्राहक छैनन् ।
कोरोनाको समयमा करीब ९० प्रतिशत घाटा भएको होटलको प्रारम्भिक अनुमान छ ।
होटलका उच्च पदस्थ कर्मचारी भन्छन्, ‘अहिले करोडौंको घाटा भएको छ, मोटामोटी भन्नुपर्दा ९० प्रतिशतभन्दा बढीको घाटा छ ।’
आन्तरिक पर्यटन प्रबर्द्धनका लागि केही प्याकेजहरू ल्याइरहेको होटलका कर्मचारी बताउँछन् ।
अहिले होटल सञ्चालनमा ल्याइए पनि सञ्चालन खर्च नै नउठ्ने ती कर्मचारी सुनाउँछन् ।
‘लकडाउन खुलेपछि होटल सञ्चालनमा आयो, यससँगै निकै न्यून मात्रामा प्रोगामहरू आएका छन् । कहिलेकाहीँ हप्तामा एक दिनमात्रै यस्तो कार्यक्रम आउँछ, कहिले दिनमा एउटा आएको हुन्छ ।
कहिलेकाहीँ दिनको २–३ वटा पनि हुन्छ । तर न्यून संख्यामा मात्र गेस्टहरू ल्याइरहेका छौँ । यसले सञ्चालन खर्च नै धान्दैन,’ ती कर्मचारीले भने ।
होटल हायात
कोरोना महामारीका कारण अन्य होटलहरू जस्तै होटल हायातको अवस्था पनि उस्तै छ ।
विगतमा दैनिक हजारदेखि १ हजार ५ सय जनासम्म ग्राहक हुने त्यस होटलमा अहिले निकै न्यून मात्रै ग्राहक पुग्छन् ।
कहिले एयरलाइन्सका क्रु मेम्बर त कहिले व्यवसायीहरू मात्रै त्यहाँ जाने गरेको होटल हायातका एक कर्मचारीले लोकान्तरलाई बताए ।
ती कर्मचारीले भने, ‘अहिले होटलको अवस्था निकै दयनीय छ, कठीन छ । कतिपय लोकल प्याकेजहरूका कारण कारोवार त भइरहेको छ, तर निकै न्यून ।’
२ सय ८० कोठा रहेको सो होटलमा अहिले दैनिक मुस्किलले २० कोठा मात्रै बूक हुने गरेको ती कर्मचारी बताउँछन् ।
‘कोरोना आउनुपूर्व २०–२२ कोठा त कर्पोरेट कम्पनीहरूले नै लिन्थे,’ ती कर्मचारीले सुनाए ।
उनका अनुसार अहिले शुक्रवार राति बस्नका लागि केही ग्राहकहरू जाने गरेका छन् । तर उनीहरूले पनि खासै खर्च नगर्ने वा खर्च गर्ने मूड नहुने अवस्था छ ।
ती कर्मचारी भन्छन्, ‘केही गेस्ट आइरहेपनि अहिले सञ्चालन खर्च पनि उठ्ने अवस्था छैन ।’
सोल्टी होटल
सोल्टी होटलको पनि अवस्था उस्तै छ ।
२०७७ असार मसान्तसम्ममा मात्रै कोरोना कारण यस होटलले १८ करोडभन्दा बढी घाटा बेहोरेको छ ।
अहिले मासिक रुपमा प्रत्येक महिना ३० लाखसम्म घाटा व्यहोरिरहेको भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईं बताउँछन् ।
सोल्टी होटलमा जम्मा २ सय ८२ कोठा छन्, जसमध्ये अहिले दिनको १५ देखि २० वटा कोठामात्रै बूक भइरहेको उनको भनाइ छ ।
उनी भन्छन्, ‘यसले हाम्रो सञ्चालन खर्च पनि उठ्दैन । यस्तो अवस्थामा माथि उठ्न गाह्रो छ ।’
अहिले होटलमा ससाना कार्यक्रमका लागि कोठा बूक भइरहेको उनले सुनाए । चापागाईंले भने,‘ कुनै–कुनै दिनमा ५० देखि सय जनासम्म गेस्ट आउलान्, तर त्यसले अर्थ राख्दैन, खर्च मात्रै बढ्छ ।’
होटल सोल्टीमा करीब साढे ४ सयभन्दा बढी जनशक्तिले रोजगार पाएका छन् । जसमध्ये करीब २ सय २० कर्मचारीले रोजगारी गुमाएका छन् ।
‘बाध्यताले मात्रै चलिरहेका छन् होटल’
पर्यटकीय होटलहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान)ले अहिले बाध्यताले मात्रै होटलहरू सञ्चालन भइरहेको जनाएको छ ।
हानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेक महतले अहिले होटल सञ्चालन नगरे सामानहरू बिग्रिने अवस्थामा पुगेको सुनाउँदै बाध्यताले खुलिरहेको बताए ।
होटलहरू अहिले सरदर ४ प्रतिशतमात्रै सञ्चालनमा रहेको सुनाउँदै उनले भने, ‘सञ्चालन खर्च धान्न सक्ने अवस्था पनि छैन । अपरेशन कस्ट पुग्न कम्तिमा ४० प्रतिशतको अकुपेन्सी हुनुपर्छ । अहिले ४ प्रतिशतमात्रै छ ।’
उनले अहिले प्रायः होटलहरू कोरोनाका कारण ९० देखि ९५ प्रतिशत घाटामा रहेको सुनाए ।
उनले भने, ‘कुनै होटलको २०२१ मा एक सय करोडको हाराहारीमा बिजनेस हुन्थ्यो भने यो पिरियडमा करीब ९० देखि ९५ करोड लसमा छ, खाली ५ देखि १० करोडमात्रै बिजनेस भइरहेको छ ।’
अहिले होटलहरू सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने सञ्चालकहरूको आशय रहेको र सरकारले के गर्ला भन्ने पनि चासो रहेको उनले सुनाए ।
उनले होटल खुल्नेबित्तिकै पर्यटक आउने स्थिति नदेखिएको भन्दै यसले पनि केही द्विविधा उत्पन्न भएको पाइएको बताए ।
अहिले फाइदा लिनका लागि नभई केही बाध्यता र केही सकारात्मक सन्देश दिनका लागि होटलहरू सञ्चालनमा आएको उनको बुझाइ छ ।
उनले भने, ‘अहिले होटल सञ्चालन गरियो भने भोलि पर्यटकहरूमा पनि एक किसिमको ऊर्जा आउन सक्छ, त्यसकारण सकारात्मक सन्देशका लागि पनि अहिले होटल सञ्चालनमा ल्याइएको छ ।’