
भारी वर्षाका कारण पर्वतका विभिन्न ठाउँमा गएराति पहिरोमा घर पुरिँदा १० जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।
सदरमुकाम कुस्मा नगरपालिका–३, दुर्लुङ भोगेनीका माधव शर्माको घर माथिबाट आएको पहिरोमा पुरिँदा परिवारका पाँच जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७५ वर्षीया आमा कौशिला पौडेल, ३५ वर्षीया श्रीमती भगवती पौडेल, १६ वर्षीया छोरी विमला पौडेल, ११ वर्षीया विनिता पौडेल र ९ वर्षीय छोरा विनोद पौडेल छन् ।
यस्तै कुस्मा–११, सिल्मीका मनिलाल पौडेलको घर माथिबाट खसेको पहिरोले पुरिएको छ । उनको घरमा पाहुना बस्न आएका मोदी गाउँपालिका–७, राम्जाका ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ ।
मोदी गाउँपालिका–५, अम्बोटमा अविरल वर्षाका कारण ओखलढुंगा सामुदायिक वनबाट आएको पहिरोले फूलमाया थापाको मृत्यु भएको छ । जस्तापाताले बनेको उनको घर पहिरोले बगाउँदा ५० वर्षीय थापाको घटनास्थलमै मृत्यु भएको हो ।
यसै गरी कुस्मा–११, पपुवा पाल्चेका हरि पौडेलको घर पहिरोले भत्किँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा उनकी ४० वर्षीया श्रीमती मायाकुमारी पौडेल, उनका ३ वर्षीया छोरा प्रयुस पौडेलको मृत्यु भएको हो ।
पहिरोमा हिरा पौडेलकी ७० वर्षीया आमा डल्ली पाध्या पौडेल हालसम्म बेपत्ता छिन् । उनको खोजी कार्य भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
यस्तै पहिरोले पोखरा–कुस्मा सडकखण्ड अवरुद्ध भएको छ ।
पोखरा–३२, खुँदीखोलाले बगाउँदा ६० वर्षीय रमेश मगरको मृत्यु भएको छ । खोला तरेर गगनगौंडातर्फ जाने क्रममा उनलाई खोलाले ३० मिटर जति बगाएको थियो ।
रुखमा अड्किएका उनलाई प्रहरीले उद्धार गरी अस्पताल लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।