
मुलुकमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेका संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढेको छ ।
पछिल्लो २ महिनामा मात्रै मुलुकबाट वैदेशिक रोजगारीमा जानेहरूको संख्या ६१ हजारभन्दा बढी रहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
महामारीकै बीचमा विदेशी मुलुकबाट बढी मात्रामा माग पत्र आइरहँदा नेपालबाट रोजगारीका लागि बाहिरिनेको संख्या बढ्न थालेको हो ।
दशैंअगाडि नै ४५ हजारले मुलुक छाड्ने !
नेपालीहरूको महान् चाड दशैंको मुखमा करीब ४५ हजार नागरिक वैदेशिक रोजगारीका लागि जाने देखिएको छ ।
विभागका अनुसार अहिले दैनिक रूपमा १२ सयदेखि २ हजारसम्म श्रमिक वैदेशिक रोजगारीका लागि गइरहेका छन् ।
‘यसरी हेर्दा दशैं अगाडि नै थोरैमा नै करीब ३० हजार मानिस रोजगारीमा जाने देखिन्छ,’ वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित श्रेष्ठले लोकान्तरसँग भने ।
यो संख्या श्रम स्वीकृति लिएर जाने मात्रैको हो । तर यो संख्या यति मै सीमित रहने देखिँदैन ।
महासचिव श्रेष्ठका अनुसार दुबईमा अहिले फरक अवस्था छ ।
दुबईमा कामदारको रूपमा भन्दा पनि पर्यटक भिसाको माग बढी छ ।
जसका कारण नेपालीहरू पनि त्यहाँसम्म पर्यटक भिसामा पुग्ने र त्यहाँ पुगेपछि भिसा ट्रान्सफर गर्ने गरिरहेका छन् ।
उनका अनुसार अहिले दैनिक ६ सय नेपाली पर्यटक भिसामा दुबई गइरहेका छन् । त्यहाँ पुगेर उनीहरूले श्रमिक बनेर काम गरिरहेको पाइएको महासचिव श्रेष्ठले बताए ।
उनले भने, ‘दुबईमा अहिले फरक अवस्था छ । कामदारहरू टुरिस्ट भिसामा गएर भिसा ट्रान्सफर गरी बसिरहेका छन् । पर्यटक भिसामा दुबई जानेको संख्या दैनिक ६ सयको हाराहारीमा छ ।
पर्यटक भिसामा दुबई जानेहरूको संख्यालाई पनि जोड्ने हो भने दशैंअगाडि नै ४५ हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने देखिएको उनले बताए ।
‘असोज महिनामा अर्थात् दशैं अगाडिसम्ममा नै करीब ४५ हजारले वैदेशिक रोजगारीका लागि उडान भर्ने देखिन्छ,’ लोकान्तरसँग उनले भने ।
बढ्दै मागपत्र
कोरोनाका कारण प्रभावित वैदेशिक रोजगारी लयमा फर्किने क्रममा छ ।
कामदार आयात रोकेका मुलुकहरूले पनि धमाधम माग पत्र पठाउन थालेका छन् ।
असोज महिनामा विभिन्न मुलुकबाट करीब ६५ देखि ७० हजारको हाराहारीमा मागपत्र आउने सम्भावना रहेको महासचिव श्रेष्ठले बताए ।
कोभिड १९ को खोप लगाउनेहरूको संख्या बढ्दै जाँदा श्रमिक आयात गर्ने मुलुकहरूले नेपाली कामदार बढी मात्रामा मागिरहेको उनले सुनाए ।
पछिल्ला दिनहरूमा साउदी अरबमा नेपाली कामदारको माग सबैभन्दा उच्च छ । यस्तै कतार, मलेसिया, कुवेत, बहराइन र ओमानले पनि धमाधम मागपत्र जारी गर्दैछन् ।
यसबाहेक केही युरोपेली मुलुकबाट पनि माग आएको छ ।
‘युरोपेली मुलुकमध्ये रोमानिया र साइप्रसमा माग उच्च छ,’ उनले भने ।
सामान्यतयाः मागपत्र आएर श्रमिकले श्रम स्वीकृति पाएको कम्तिमा ३ महिनाभित्रमा श्रमिकहरू वैदेशिक रोजगारीका लागि जाने गरेका छन् ।
कोरोना महामारीले अस्तव्यस्त बनेको वैदेशिक रोजगारी अहिले विस्तारै चलायमान हुँदै गएको छ । पछिल्ला दिनहरूमा श्रम स्वीकृति लिनेहरूको संख्या पनि बढ्दै गइरहेको वैदेशिक रोजगार कार्यालय ताहाचलका शाखा अधिकृत प्रदीप ढकालले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार साउनमा २५ हजार ४ सय २८ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पाएका छन् । यस्तै भदौमा ३६ हजार ४० जनाले श्रम स्वीकृति पाएका छन् ।
दैनिक रूपमा अहिले १ हजार ५ सय देखि २ हजार जनासम्म उडिरहेको देखिन्छ ।
दशैंसम्ममा यो संख्या बढ्ने देखिन्छ ।
छुट्टीमा आउने र श्रम स्वीकृति गर्ने देखिन्छ । यस्तै नवीकरण गर्ने र रिइन्ट्री गर्नेको संख्या बढी देखिन्छ ।
गत आर्थिक वर्षमा १ लाख ६६ हजार ६ सय ९८ जनाले वैदेशिक रोजगारीका लागि गएका थिए ।
जसमध्ये संस्थागत (८ सय ५५ म्यानपावरबाट) रूपमा जानेको संख्या ६१ हजार ४ सय २८ रहेको थियो । यस बाहेकको संख्या यस्तै बिदामा आएर फर्किएका तथा व्यक्तिगत भिसामा गएका थिए ।