संस्कृति

नारीशक्तिको पूजा गर्ने पर्व दशैं

कमल रिजाल
कमल रिजाल

लोकान्तरका नियमित स्तम्भकार कमल रिजाल धार्मिक संस्कार र समसामयिक विषयमा कलम चलाउँछन् ।

नारीशक्तिको पूजा गर्ने पर्व दशैं

यतिबेला दशैं पर्व चलिरहेको छ । यस पर्वलाई नवरात्र पनि भनिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म माता भगवतीको उपासना गरिने भएकाले नवरात्र भनिएको हो ।


Advertisement

दशैंको अर्थ पनि यसैसित सम्बन्धित छ । यतिबेला नौ रातसम्म भगवतीको उपासना गरी दशमीको दिन विर्सन गरेर प्रसादको रूपमा टीका र जमरा लगाउने चलन छ । यसै अर्थमा दशैं भनिएको हो ।


Advertisement

असत्यमाथि सत्यको विजय हुन्छ भन्ने मान्यताले मनाइने नवरात्र पर्व शक्ति उपासनाको पर्व हो । शक्ति भन्नाले नारीशक्तिलाई लिने गरिएको छ, जसले माता भगवतीको स्वरूप र सत्तालाई बुझाउने गरेको छ ।    

हिन्दू संस्कृतिले नारी शक्तिलाई विशेष मान्ने गरेको छ । ऋग्वेदले अदिती, उषा आदि नामबाट नारी शक्तिलाई प्रकृतिकै एउटा अंग मानेको छ । 


Advertisement

केनोपनिषद्मा उल्लेख भए अनुसार एकपटक दानवमाथि पाइएको विजयको स्थिति बोध गर्न नसकेर देवताहरू आपसमा झगडा गरिरहेका थिए । त्यतिबेला उनीहरूलाई यिनै नारी शक्तिले हैमवती उमाको रूपमा प्रकट भएर यथार्थ बोध गराएकी थिइन् ।  

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार महिषासुर आदि दानवहरूको अत्याचारबाट संसारलाई मुक्त गर्न पनि नारी शक्ति नै अघि सर्नुपरेको छ । जतिबेला दानवी शक्तिलाई परास्त गर्न नसकी देवताहरू किंकर्तव्यविमुढ भइरहेका थिए, त्यतिबेला नारीशक्तिले नै दूर्गा, भ्रामरी, शताक्षी, शाकम्भरी, भीमा, कौशिकी आदि विभिन्न रूपमा प्रकट भई राहत प्रदान गरेकी थिइन् ।  

सृष्टि, स्थिति र प्रलयका प्रतीक मानिएका ब्रह्मा, विष्णु र महेश्वरलाई समेत समय–समयमा नारीशक्तिको सहयोग अपेक्षित हुन पुगेको छ । वास्तवमा शक्ति विना ब्रह्मा निकम्मा बन्छन्, विष्णु सिनु बन्दछन् भने शिव शव बन्न पुग्छन् । सृष्टिको रहस्य थाहा पाउन नसकेर हैरान भएका ब्रह्माजीलाई नारी शक्तिले योगमायाको रूपमा प्रकट भएर मार्गदर्शन गरेकी थिइन् । 

मातृसत्ताकै शक्तिद्वारा शक्तिवान् भएर विष्णु पालनकर्ता बन्न सकेका हुन् ।  कर्तव्य र दायित्वबोध गर्न नसकी भाग्दै आएका शिवलाई यिनै नारी शक्तिले काली, छिन्नमस्ता, उग्रतारा, षोडसी, बगलामुखी, कमला आदि रूप लिएर  समालेकी थिइन् । 

शिवका अर्धाङ्गिनी सतीदेवी भनेकै शक्तिदेवी हुन्, जसले साथ छाड्दा शिवजी बौलाएर हिँडेका थिए । धन्न शक्तिदेवीले पुन पार्वतीको रूपमा प्रकट भई सम्हालिन् र मात्रै, अन्यथा भन्न सकिन्न उनको हविगत थप केकस्तो हुने थियो । 

पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार पृथ्वीको भार उतार्न आएका रामलाई रावणमाथि विजय पाउन पनि नारीशक्तिकै उपासना गर्न परेको थियो । यदि उनले नारी शक्ति सीताको सहयोग नपाएका भए सम्भवतः रामको रूपमा चिनिने अवसर समेत पाउने थिएनन् । कृष्णको अवस्था पनि त्यस्तै हो । उनी पृथ्वीको भार हरण गर्न सोह्र कलालाई धारण गरेर आएका थिए तर उनको जन्मको पूर्वाधार तयार गर्न भने नारीशक्ति योगमाया नै अघि सर्नुपरेको थियो ।

हिजोआज कहीँकतै हिन्दू संस्कृतिले नारीहरूको शोषण र थिचोमिचो गर्दै आएको छ भन्ने आवाज सुन्नमा आउने गरेको छ तर यो वास्तविकतालाई बुझ्दै नबुझी वा बुझ्नै नखोजी लगाइएको आरोप मात्र हो । गणमातृका युगदेखि नै नारीशक्तिलाई नमन गर्दै आएको यस संस्कृतिले नारीशक्तिको शोषण गर्न त के त्यस्तो सोच्न पनि सक्दैन ।

ब्रह्मपुराणमा उल्लेख भएअनुसार एकपटक ऋषिमुनिहरू संसारमा नारी शक्ति र पुरुष शक्तिमा कुन चाहिँ शक्ति ठूला होलान् भन्ने कुराको निष्कर्ष निकाल्न व्यासको आश्रममा पुगेका थिए । व्यासजी त्यतिबेला स्नान गर्न लागेका रहेछन् । उनले ऋषिहरूका मनोभाव मनद्वारा नै बुझेछन् र स्त्री साधु भन्दै नदीमा डुबुल्की लगाएछन् । ऋषिहरूले आफूहरू आउनाको कारण बुझेर नै व्यासजीले यसो भनेका हुनुपर्छ भन्ने सोचेछन् र बाटोबाटै फर्केछन् । यहाँ व्यासजीले वास्तविकता बुझ्दै नबुझी आजभोलिका नेताहरूले जस्तो हचुवाको भरमा स्त्री साधु पक्कै भनेका थिएनन् । वास्तविकता बुझेर नै त्यसो भनेका हुन् र ऋषिहरू पनि वास्तविकता बुझेर नै फर्केका हुन् ।
 
जहाँ नारीशक्तिको सम्मान हुन्छ, त्यहाँ देवताको वास हुन्छ । अनि देवताको वास भएकैले सो स्थान आफैंमा स्वर्ग पनि बनिरहेको हुन्छ तर जहाँ नारीको अपमान हुन्छ, त्यहाँ घोर विपत्ति र विखण्डनको बादल घनिभूत हुन पुग्दछ । वेदले यही निर्देश गरेको छ । उपनिषदले यही सन्देश दिएको छ । रामायण र महाभारतले यही शिक्षा दिएको छ र पौराणिक ग्रन्थहरुको पनि यही नै सन्देश रहँदै आएको छ ।   

नारीहरूले आफ्नो दायित्वबाट एकैछिन फुर्सद लिने हो भने सिंगो सृष्टिकै अवस्था कस्तो हुन्छ होला कल्पनासम्म पनि गर्न सकिन्न । तैपनि उनीहरूले यस ममिलामा न घमण्ड गरेका छन्, न अहंकार नै । संसारमा एकैसाथ कतै छोरी, कतै बुहारी, कतै श्रीमती, कतै आमा र कतै हजुरआमा बनेर आ–आफ्नो भूमिका र दायित्व निर्वाह गर्न सक्ने कुनै शक्ति छ भने त्यो नारी शक्ति नै हो ।

अरुको खुशीमा खुशी हुनसक्ने शक्ति पनि संसारमा कुनै छ भने त्यो पनि नारी शक्ति नै हो । दशैं पर्वले तिनै नारी शक्तिको सम्मान गर्न सिकाएकाले यसको विशेषता हिजो जति थियो आज पनि उत्तिकै रहेको छ ।

कमल रिजाल
कमल रिजाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्