माघ ५, २०८०
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
असोज २५, २०७८
नेकपा एमालेले असोजको १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा पहिलो विधान महाधिवेशन आयोजना गर्यो । एमालेको आन्तरिक राजनीतिक जीवनमा यो सर्वथा नौलो अभ्यास थियो । हरेक राष्ट्रिय महाधिवेशनमा नै एमालेले विधि, विधान र विचारको बारेमा छलफल गर्दै आएको थियो । नेतृत्व चयन गर्न महाधिवेशनमा विधि र विचारमा कम तथा नेतृत्व चयनमा बढी ध्यान हुने भएकाले नवौं महाधिवेशनमा एमालेले दुई महाधिवेशनको बीचमा विधान महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको कार्यान्वयन एमालेको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रबाट गर्यो ।
एमालेको विधान महाधिवेशनमा करीब ६ हजार ६ सय जना प्रतिनिधि सहभागी भए । ती प्रतिनिधिका सहयोगी, सवारी चालक, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत गरेर सनराइज सम्मेलन केन्द्रमा प्रतिदिन करीब १० हजार मानिस सहभागी भएर तीन दिन कार्यक्रम आयोजना भयो । यति ठूलो संख्यामा प्रतिनिधि सहभागी गराएर आयोजना भएको राजनीतिक दलको अधिवेशन यो पहिलो घटना थियो । त्यसमा पनि एउटा हलमा १० हजार जना मानिसका लागि खाने, बस्ने र अधिवेशन गर्ने कामको व्यवस्थापन असाध्यै कठिन थियो ।
तर, पनि कार्यक्रम व्यवस्थापन कुनै कमजोरी महशुस हुन पाएन । सबै काम निर्धारित शेड्युलमै चलेको थियो । अरू त अरू कार्यक्रममा सहभागी सबै प्रतिनिधिले करीब डेढ घण्टामा खाना खाइसक्ने गरी व्यवस्थापन गरिएको थियो ।
सम्मेलन केन्द्रको मुख्य हलको कुल क्षमता तीन हजार हो तर, तेब्बरभन्दा बढी मानिस हरेक दिन उक्त कार्यक्रममा सहभागी भए । र, यसको कुशल व्यवस्थापनको नेतृत्व गरे एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ।
एमालेको केन्द्रीय सदस्य र पूर्व मन्त्री समेत रहेका तामाङ आफूले जीवनमै पहिलोपटक यति ठूलो कार्यक्रम व्यवस्थापन गरेको बताउँछन् ।
एमालेले विधान महाधिवेशन आयोजना गर्ने निर्णय गर्दा करीब २८ सय जना प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरेको थियो । तर, पछि एमालेले त्यसलाई बढाएर साढे ६ हजारको संख्यामा पुर्याएको थियो ।
भव्य रूपमा सफल भएको महाधिवेशन आयोजना तथा व्यवस्थापनमा तामाङ पनि उत्तिकै सफल देखिए ।
गोदावरीको महाधिवेशन हलको झकिझकाउ भव्य बनाइनुका साथै प्रविधिको सहयोगले हाइ–टेक बनाउने प्रयास गरिएको थियो । तीन दिन चलेको महाधिवेशनमा प्रत्येक दिन करीब १० हजार मानिस महाधिवेशन हल वरपर रहे । तर, व्यवस्थापनमा कमजोरी महशुस भएको गुनासो गरेको खासै सुनिएन ।
सनराइज सम्मेलन केन्द्रमा यसअघि कुनै कार्यक्रम आयोजना भएकै थिएनन् । हल निर्माण सम्पन्न गरेर हतारमा उद्घाटन त गरिएको थियो तर, पहिले कुनै कार्यक्रम नभएको हुँदा सबै कुरा शून्यबाट शुरू गर्नुपर्ने थियो । तीन हजार मानिस अट्ने क्षमताको हललाई करीब साढे ६ हजार मानिस अट्ने बनाइएको थियो । मुख्य हलको दायाँबायाँ रहेका साना हलमा ठूला एलईडी स्क्रिन राखेर प्रतिनिधिलाई बस्ने व्यवस्था मिलाइएको थियो ।
महाधिवेशन व्यवस्थापनका लागि २२५ जना स्वयं सेवक परिचालित थिए । त्यसको मुख्य कमाण्डमा तामाङ नै थिए । त्यसमध्ये २५ जनाको टीम स्टेज सुरक्षाको लागि खटाइएको थियो । बाँकी स्वयं सेवकलाई भने १० जनाको दरले २० वटा समूहमा परिचालन गरिएको थियो । उनीहरू सम्पर्कको लागि हरेक टोली नेतालाई सञ्चार सेट दिइएको थियो । त्यही सेटमार्फत तामाङले आवश्यक निर्देशन दिन्थे । आवश्यक पर्दा टोली नेतालाई बोलाएर छलफल गर्थे ।
एमालेको स्थायी र केन्द्रीय कमिटी बैठकले नेता रामबहादुर थापा बादलको संयोजकत्वमा महाधिवेशन आयोजना तथा व्यवस्थापन मूल समिति गठन गरेको थियो । केन्द्रीय कार्यालय सचिव पनि रहेको नाताले तामाङले उक्त कमिटीमा पनि सचिवकै भूमिका पाए । तर, विधान महाधिवेशन व्यवस्थापनको काममा उनी नै कमाण्डरको भूमिकामा देखिए । संयोजक बादलको कार्यकारी भूमिका महाधिवेशन हलमा पुगेका प्रतिनिधिले अनुभूत गर्ने अवसर पाएनन् । ‘केन्द्रीय कार्यालयको सचिव पनि भएको नाताले सबैजसो काममा मैले नै प्राविधिक विषयको जिम्मेवारी र संयोजनकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था आयो । त्यसैले महाधिवेशन व्यवस्थापनमा मेरो भूमिका बढी देखिएको हुनसक्छ’, तामाङले भने ।
महाधिवेशन आयोजनालाई प्रभावकारी व्यवस्थापनका लागि एमालेले विभिन्न उपसमितिहरू बनाएको थियो । जसमा प्रचार, खाद्य, यातायात व्यवस्थापन, आवास व्यवस्थापन र स्वयंसेवक परिचालन उपसमिति बनाइएको थियो । प्रचार उपसमिति संयोजकको जिम्मा खिमलाल भट्टराईले पाएका थिए । त्यसैगरी, खाद्य उपसमितिमा विनोद श्रेष्ठ, यातायातमा कृष्ण गोपाल श्रेष्ठ, आवासमा पासाङ श्रेष्ठ र स्वयं सेवकको जिम्मेवारी महेश बस्नेतले पाएका थिए । यी सबैको संयोजन गरेका थिए, शेरबहादुर तामाङले ।
‘कार्यालयको सचिव भएको हुँदा सबैजसो व्यवस्थापनको काम मसँगै ठोक्किन आइपुग्थ्यो । सबैजसो काममा निर्णायक भूमिका निर्वाह गर्नुपर्ने अवस्था आयो’, तामाङले भने ।
उपसमितिको जिम्मामा रहेको खाद्य र यातायात व्यवस्थापनको काम अन्तिममा तामाङकै काँधमा आइपर्यो । उनले नै काठमाडौंमा रहेका १५ वटाभन्दा बढी ठूला क्याटरिङ र पार्टी प्यालेससँग कोटेसन मागेर प्रतिनिधिलाई खाना खुवाउने कामको व्यवस्थापन गरे ।
उपसमितिको जिम्मामा रहेका बाहेक पनि महाधिवेशन हुने हलको साजसज्जा, महाधिवेशन स्थलको बाहिरी सजावट, प्रतिनिधिलाई दिइने झोला, पानी, परिचय पत्र, महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजको छपाई लगायतका काम कार्यालय सचिवको नाताले तामाङकै जिम्मेवारीमा थियो ।
एमाले महाधिवेशनमा प्रमुख चर्चाको विषय थियो, महाधिवेशन हलको स्टेज । चिनियाँ कम्युनिस्ट पार्टीले चीनको ग्रेटहलमा बनाएको जस्तो स्टेजको झल्को दिएको भन्दै यसको चर्चा भयो । शुरूमा स्टेजको थ्रीडी डिजाइन एम्स माउसले गरेको थियो । एम्स माउसको डिजाइनलाई एमाले स्थायी समिति सदस्य विष्णु रिमालले परिमार्जन गरिदिएको तामाङले बताए ।
महाधिवेशनमा प्रतिनिधिलाई दिने केही सामग्री भने शुरूको दिन अपुग भएको थियो । प्रतिनिधिको संख्या ४ हजार हुने यकिन भएपछि प्रतिनिधिलाई वितरण गरिने ‘लजिस्टिक’ व्यवस्थापनको काम शुरू गरेको उनले बताए ।
‘शुरूमा २८ सय जना प्रतिनिधि सहभागी हुने अनुमान थियो । प्रतिनिधिको संख्या बढेर, तीन, चार, पाँच हजार हुँदै अन्तिममा साढे ६ हजार प्रतिनिधि सहभागी भए । चार हजार जना प्रतिनिधि हुन्छन् भन्ने भएपछि सामानको अर्डर र अरू कामको व्यवस्थापन थालेका थियौं’, उनले भने, ‘त्यसमा पनि खाना खुवाउने काम सबैभन्दा कठिन थियो । व्यवस्थित रूपमा खाना र खाजा खुवाउन नसक्दा महाधिवेशनको कार्यतालिका नै प्रभावित हुन्थ्यो ।’
ठूलो संख्यामा प्रतिनिधि सहभागी हुने भएपछि उनले प्रतिनिधिलाई खाना र खाजा खुवाउने कार्यलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा लिएका थिए ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली असोज १४ गते बेलुका मात्रै संगठन विभागबाट आफूले प्राप्त गरेको उनले बताए । ‘१५ गते दिउँसो सवा १२ बजे महाधिवेशन उद्घाटन गर्ने भनिएको छ । अघिल्लो साँझ मात्रै प्रतिनिधिको संख्या टुंगो लाग्न सक्यो । कतिपय प्रदेश कमिटीले त १४ गते मात्रै पूर्णता पाए । त्यसले पनि व्यवस्थापनमा समस्या भयो’, उनले भने ।
त्यही कारण प्रतिनिधिलाई दिनुपर्ने परिचयपत्र, झोला र प्रतिवेदन पहिलो दिन नै सबैलाई दिन नसकिएको उनले बताए ।
‘अस्थायी कार्डको व्यवस्था गरेर भए पनि भोलिपल्ट सबैलाई परिचयपत्र दियौं । अस्थायी कार्ड पाएकाले प्रिन्टेड कार्ड अहिले पनि लगिरहेका छन्’, तामाङले भने ।
महाधिवेशन आयोजना हुनुअघि मूल व्यवस्थापन समितिको जम्मा चारवटा बैठक बस्यो । त्यसबाहेकका सबै काम तामाङकै निर्देशन र रेखदेखमा भएका थिए । उपसमितिलाई जिम्मा लगाइएको केही बाहेकका सबैजसो कामको निर्णायक भूमिकाको जिम्मेवारी तामाङकै काँधमा आइपर्यो ।
असोजको १३ गते एमाले अध्यक्ष केपी ओलीले महाधिवेशन आयोजना स्थलको अवलोकन गरेका थिए । त्यसबेला महाधिवेशन हल सजावटको काम करीब २५ प्रतिशत मात्रै सम्पन्न भएको थियो । तर, ओली दुई दिनमै सबै काम भइसक्नेमा ढुक्क देखिएका थिएनन् । महाधिवेशन हलको सबैतिर अवलोकन गरेका उनी केही निर्देशन दिएर फर्किए । अध्यक्षको मनोभाव बुझेका तामाङले सबै काम समयमै सम्पन्न हुने र महाधिवेशन उद्घाटनमा कुनै समस्या नपर्ने बताएका थिए ।
‘महाधिवेशन आयोजनाको कामको चटारोका कारण करीब १५ दिन कार्यालयबाट राति ११ बजेमात्रै घर पुगेको थिएँ । पछिल्लो एक हप्ता त करीब दुई घण्टाभन्दा बढी सुत्ने समय नै पाइएन’, तामाङले भने, ‘महाधिवेशन आयोजना भइरहँदाका दुईदिन दिउँसोको खाना खानै बिर्सिएछु ।’
सफल रूपमा महाधिवेशन आयोजना भएपछि अहिले तामाङ व्यवस्थापनमा सफल भएकोमा खुशी छन् । तर, आफू एक्लैको प्रयासले मात्रै महाधिवेशन व्यवस्थापन नभएको उनी बताउँछन् ।
‘एक्लैको प्रयासले यो सबै व्यवस्थापन सम्भव भएको होइन । पार्टीका केन्द्रीय नेताहरू, मूल व्यवस्थापन समिति, उपसमिति, कार्यालयका कर्मचारी र प्रतिनिधिको सहयोगले नै यो सम्भव भएको हो । व्यवस्थापनको नेतृत्व भने मैले गरेको हुँ’, तामाङले भने ।
महाधिवेशन आयोजना र व्यवस्थापनको काममा पार्टी अध्यक्ष केपी ओलीको निरन्तर चासो, निर्देशन र सहयोग रहेको तामाङले बताए ।
त्यसबाहेक, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, मूल व्यवस्थापन कमिटीका संयोजक रामबहादुर थापा, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र विष्णु रिमालको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको तामाङले बताए ।
‘नेतृत्वको खटाई, निर्देशन र समन्वयले मात्रै हामीले सफलरूपमा व्यवस्थापकीय काम गर्न सकेका हौं’, उनले भने ।
क्याटरिङको छनोट– आफ्नै मेन्यू, १५ वटा कोटेसन
महाधिवेशनमा करीब ४ हजार प्रतिनिधि सहभागी हुने तय भएपछि उनले उपत्यकाभरका १५ वटा क्याटरिङ र पार्टी प्यालेस छानेर कोटेसन मागेका थिए ।
क्याटरिङहरूले पठाएको कोटेसन हेरेर तामाङ नेतृत्वको टीमले खाना र खाजाको मेन्यु तयार गर्यो । जसमा, मटन, चिकेन करी, कालो मासको दाल, मिक्स भेज तरकारी, अचार र बजारमा उपलब्ध उत्कृष्टमध्येका चामलको भातसहितको मेन्यु बन्यो ।
‘हामीले त्यही मेन्यूलाई फेरि सबै क्याटरिङलाई पठाएर कति मूल्यमा खुवाउन सक्नुहुन्छ भनेर सोध्यौं । सबैले मूल्य पठाएपछि कम मूल्य प्रस्ताव गर्नेमध्येका क्याटरिङ फोन गरेर अझ कति कम गर्न सकिन्छ, भनेर सोधेका थियौं । हामीले मूल्य मात्रै सस्तो हेरेका थिएनौं, क्याटरिङ व्यवस्थापन गर्न सक्ने क्षमतालाई पनि उत्तिकै ध्यान दिएका थियौं । एक घण्टामा करीब ७/८ हजार जनालाई खाना खुवाउन सक्ने क्षमता चाहिन्थ्यो । त्यसअनुसारको जनशक्ति जुटाउन सक्ने क्षमता पनि हुनुपर्थ्यो’, तामाङले भने ।
सबैसँग पालैपालो कुरा गरेर असोज १२ गते राती ११ बजे ए–वान पार्टी प्यालेस छनौट गरेर उनीहरूलाई खबर गरिएको तामाङले बताए । ए–वानले काठमाडौंका धेरै ठाउँमा पार्टी प्यालेस चलाइरहेको हुँदा जनशक्ति जुटाउन सक्ने र मूल्य पनि सस्तो प्रस्ताव गरेका उसलाई छानिएको तामाङले बताए । ए–वानले प्रतिप्लेट ६ सय रूपैयाँमा एमाले महाधिवेशनमा खाना खुवाएको थियो ।
यातायात पनि उनकै काँधमा
महाधिवेशन स्थलमा पुग्ने प्रतिनिधिका लागि एमालेले ललितपुरको सातदोबाटोबाट सवारी साधन व्यवस्थापन गर्ने भनेको थियो । त्यसको व्यवस्थापनका लागि केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा उप–समिति बनेको थियो । तर, अन्तिममा श्रेष्ठले यातायात व्यवस्थापनको जिम्मा पनि तामाङलाई नै सुम्पिदिए ।
‘टुर अपरेटर कम्पनीहरूसँग सवारी साधनको अवस्था बुझ्यौं । उहाँहरूले साधनको व्यवस्थापन गर्न सक्छौं, भनेपछि कोटेशन मागेर सवारी साधनको व्यवस्थापन गरेका हौं’, तामाङले भने ।
शुरूमा सातदोबाटोबाट गोदावरीसम्म पर्यटक बसमा प्रतिनिधिलाई लैजाने तयारी एमालेको थियो । तर, उक्त क्षेत्रको बाटो विस्तारका लागि भत्काइएको र कतिपय ठाउँमा साँघुरो सडक भएका कारण माइक्रोबसको व्यवस्था गरिएको तामाङले बताए ।
एक दिनको ८ हजार रूपैयाँ तिर्ने गरी ३० वटा माइक्रो बस तीन दिन परिचालन गरेर महाधिवेशन प्रतिनिधिलाई सातदोबाटो–गोदावरी लाने ल्याउने काम भएको उनले बताए ।
यसो हुँदा करीब सात लाख २० हजार रूपैयाँमा यातायात व्यवस्थापन भएको उनले जानकारी दिए ।
‘ओलीको देवत्वकरण गरेका होइनौं’
एमालेको विधान महाधिवेशनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको धेरै प्रचार भएकोमा केही प्रतिनिधिले नै आलोचना गरेका थिए । समूहगत छलफलमा व्यक्तिलाई भन्दा विचारलाई ब्रान्डिङ गर्नुपर्ने आवाज उठेको थियो । काठमाडौंका सडकको पोल, गेट, सनराइज हल परिसर सबैतिर ओलीको तस्वीर र मस्कट प्रयोग गरेर ओलीको ब्रान्डिङ गरेको आरोप लागेको थियो ।
तर, कार्यालय सचिव तामाङ भने अध्यक्ष ओलीसँग सबै प्रतिनिधिले प्रत्यक्ष भेट्ने अवसर नभएकाले महाधिवेशन परिसरमा ओलीको मस्कट राखेर प्रतिनिधिलाई फोटो खिच्ने अवसर दिएको तर्क गर्छन् ।
‘कोरोना महामारी र अध्यक्षको स्वास्थ्य सुरक्षाको कारण प्रतिनिधिले उहाँलाई प्रत्यक्ष भेट्न सक्ने अवस्था थिएन । महाधिवेशनमा आएका प्रतिनिधिले अध्यक्षको मस्कटसँगै भए पनि तस्वीर खिच्छन् भनेर राखिएको हो । व्यक्ति ब्रान्डिङको कुनै उद्देश्य थिएन’, उनले भने ।
बोत्तलमा ब्रान्डिङ होइन– सफाइमा सजिलो बनाउने उपाय
महाधिवेशन हलमा वितरण गरिएको पानीको बोत्तलमा पनि ओलीको तस्वीर प्रयोग गरिएकोमा सर्वत्र आलोचना भएको थियो । तर, महाधिवेशनस्थलमा पानीको बोत्तल व्यवस्थापनका लागि अध्यक्षको फोटो सहितको महाधिवेशनको लोगो प्रयोग गरिएको तामाङले बताए ।
‘पानी खेर नजाओस् र बोत्तल बोक्न पनि सजिलो होस् भनेर हामीले सबैजसो कार्यक्रममा आधा लिटर साइजका बोत्तल प्रयोग गर्ने गरेका छौं । ठूलो बोत्तल प्रयोग गर्दा व्यक्तिले एकै पटक सबै पानी प्रयोग गर्दैन । एक जनाले प्रयोग गरेर छाडेको पानी अर्को व्यक्तिले प्रयोग पनि गर्दैन । त्यसकारण हाम्रा बैठक र भेलाहरूमा सानो आकारको बोत्तल प्रयोग गर्छौं’, तामाङले भने, ‘महाधिवेशन हलमा पनि व्यवस्थापन सजिलोका लागि साना बोत्तल प्रयोग गरेका थियौं ।’
‘एक दिनमा एक जना व्यक्तिले कम्तिमा चारवटा बोत्तल प्रयोग गर्ने अुनमान गरेका थियौं । तीन दिनमा करीब डेढ लाख बोत्तल प्रयोग हुने आंकलन भयो । ती सबै बोतल हल परिसरमै फाल्दा सफाइमा अप्ठ्यारो हुने भएकाले बोत्तलमा अध्यक्षको तस्वीर राख्दा फाल्दैनन् र सरसफाइ पनि सजिलो हुन्छ भन्ने सल्लाह भयो’, उनले भने ।
‘अधिवेशन शुरू भएपछि स्टेजबाट एउटै बोत्तल तीन दिनसम्म प्रयोग गर्न र कार्यक्रम सकिएपछि हल परिसरमा नफाल्न भनेका थियौं । त्यसो हुँदा मुश्किलले १० प्रतिशत बोत्तल मात्रै हल परिसरमा छाडिएको थियो’, तामाङले भने ।
आत्मविश्वास बढ्यो
गोदावरीमा एमालेको पहिलो विधान महाधिवेशन सफल रूपमा आयोजना र व्यवस्थापन गरेपछि पार्टीका अरू कार्यक्रमहरू आयोजना गर्न आत्मविश्वास बढेको तामाङले बताए ।
‘दशौं हजार मानिस सहभागी भएको कार्यक्रम सफलरूपमा व्यवस्थापन गर्न सकियो । अब हुने दशौं राष्ट्रिय महाधिवेशनमा मुश्किलले ३ हजार जति प्रतिनिधि होलान्, त्यो कार्यक्रम सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने लागेको छ’, उनले भने ।
विधान महाधिवेशन सफल व्यवस्थापन गरेको सहभागी र पार्टी नेतृत्वबाट तामाङले प्रशंसा पाएका छन् ।
‘सबैले हाम्रो व्यवस्थापकीय कामको प्रशंसा नै गर्नुभएको छ । केही कमीकमजोरी भएका छन् । त्यो आगामी दिनका लागि अनुभव भयो । खाना, यातायात र अरू कुरामा कसैले गुनासो राखेको सुनेको छैन’, तामाङले भने ।
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...