
दुई दिन दिनसम्म परेको अविरल वर्षाका कारण जुम्लामा करोडौँको क्षति भएको छ । बाढीले यहाँ आठ स्थानीय तहमध्ये तिला गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।
तिला गाउँपालिका–४ जुम्लास्थित साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका–४ हाँकु, गिडीखोला, ७ सुर्की, सर्मी र ८ बंतडी, टोप्ला र मुछाली बुढाबाडा गाउँमा ठूलो क्षति भएको छ । क्षतिग्रस्त स्थल तिला गाउँपालिका– ४ मा जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं, सशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति गगन श्रेष्ठ, प्रहरी नायब उपरीक्षक दानबहादुर थापासहित प्रहरी टोली पुगेर फर्केको छ ।
प्रमुख जिल्ला अधिकारी प्रसाईंले कृषिको प्राविधिक टोलीले गरेको प्रारम्भिक सर्भेअनुसार क्षतिग्रस्त स्थानमा १८ हेक्टर (३६० रोपनी) धानबाली, १२ वटा स्याउ बगैँचामा पनि क्षति पुगेको बताए ।