
झिलिमिली पर्वको रूपमा तिहारलाई मानिन्छ । तर, यही तिहारमा भने बजारमा झिलिमिली बत्ती निकै न्यून मात्रामा रहेको छ ।
कोरोना महामारी, अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि तथा नाकामा असहज हुँदा बजारमा झिलिमिली बत्तीको अभाव भएको व्यवसायीहरूले बताएका छन् ।
तिहार विशेषतः झिलिमिली चाड हो । तिहारमा बालिने झिलिमिली बत्तीहरू विगतमा जस्तो फालाफाल देखिँदैन ।
विद्युतीय व्यवसायी महासंघका अनुसार, विगतमा करीब ८५ करोड रूपैयाँ बराबरको झिलिमिली बत्ती तिहारका लागि नेपाल ल्याइने गरिएको थियो ।
तर अहिले त्यो परिणामको तुलनामा निकै न्यून मात्रै आयात भएको छ ।
महासंघका महासचिव कोमल पोखरेलले यो तिहारका लागि अहिले बजारमा करीब ३५ करोड रूपैयाँको मात्रै झिलिमिली बत्तीहरू आयात भएको लोकान्तरलाई जानकारी दिए ।
गत वर्षको तिहारका लागि मुलुकमा करीब ६५ करोड रूपैयाँ बराबरको झिलिमिली बत्ती आयात गरिएको थियो ।
कोरोना महामारी आउनुपूर्व सामान्यतयाः करीब ८५ करोड रूपैयाँ हाराहारीको झिलिमिली बत्ती आयात गरिने गरेकोमा पछिल्ला वर्षहरूमा भने परिणाम घटाउँदै लगिएको महासंघका महासचिव पोखरेल बताउँछन् ।
नेपालमा चिनियाँ झिलिमिली बत्तीको हिस्सा ८० प्रतिशत रहेको छ ।
यस्तै इन्डियाबाट १२ देखि १५ प्रतिशतसम्म झिलिमिली बत्ती आयात हुने गरेको छ भने न्यून मात्रामा अन्य मुलुकहरूबाट आयात हुने गरेको छ ।
चिनियाँ नाकामा अवरोध
बजारमा झिलिमिली बत्ती कम हुनुको एउटा कारण चिनियाँ नाका प्रभावित हुनु पनि हो ।
तातोपानी र केरुङ नाकामा आयातका लागि सहज अवस्था नहुँदा बजार केही प्रभावित बनेको छ ।
तर यसको हिस्सा भने कम नै रहेको व्यवसायीहरूले बताए ।
चिनियाँ नाकाबाट नेपालमा करीब १२ देखि १५ प्रतिशतसम्म मात्रै झिलिमिली बत्ती भित्रिने गरेको छ ।
तिहारका लागि ल्याइएका कतिपय यस्ता बत्तीहरू अहिले नाकामै रोकिएका छन् ।
महासंघका महासचिव पोखरेलका अनुसार अहिले यस्ता सामान बोकेका करीब ४ कन्टेनर नाकामा लाइनमा छन् ।
उनीहरू कहिले आइपुग्ने ठेगान नभएको उनले बताए ।
मूल्य बढ्यो
अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष झिलिमिली बत्तीको मूल्य बढेको छ ।
यस वर्षको तिहारमा झिलिमिली बत्तीको मूल्य ३० प्रतिशतसम्म बढेको महासंघले जनाएको छ ।
नाकामा सहज आपूर्ति हुन नसक्दा समुद्री मार्ग प्रयोग गरेर सामान ल्याइएको छ, त्यसकारण पनि झिलिमिली बत्तीको मूल्य बढ्न पुगेको महासचिव पोखरेल बताउँछन् ।
उनका अनुसार सामान किन्नका लागि ३ महिनाअघि नै माग गर्नुपर्ने हुन्छ ।
यसवर्ष कोरोना महामारीको तेस्रो भेरियन्टको हल्लाका कारण ३ महिनाअघि पनि व्यवसायीहरूले धेरै सामान माग गर्न सकेनन्, जसका कारण पनि अहिले बजारमा यस्ता सामानहरू कम आयात भएका छन् ।
उनले अन्तर्राष्ट्रिय बजारमा नै यस्ता सामानहरूको मूल्य बढ्दा नेपालमा पनि मूल्य बढ्न पुगेको बताए ।
अहिले नेपाली बजारमा झिलिमिली बत्तीको मूल्य फरक–फरक छ ।
‘मूल्य व्यवसायीहरू स्वयंले नै आफ्नो लागतका आधारमा निर्धारण गर्ने गरेका छन्,’ महासचिव पोखरेल भन्छन्, ‘बजारमा पनि यस्ता वस्तुको मूल्य बढेको छ ।’