![अध्यक्षमा उम्मेदवारी दिएर केन्द्रीय सदस्यको सूचीमा नाम आएपछि के भन्छन् भीम रावल ? [कुराकानी]](https://lktcdn2.prixacdn.net/media/bhim-rawal_Qg45wLorJy.jpg)
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका नेता भीम रावलको नाम उम्मेदवारको सूचीमा केन्द्रीय सदस्यमा समेत भेटिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले बिहान ४ बजेपछि मतदान शुरू गर्दा उम्मेदवार रावलले विद्युतीय मशिनमा मतदान गरेका छन् तर उनले आफ्नो नाम अध्यक्ष र केन्द्रीय सदस्य दुवैतिर भेट्टाएपछि अनौठो मानेका छन् ।
मतदान गरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै रावलले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी नै नदिएकोमा केन्द्रीय सदस्यमा नाम आउनु गलत भएको प्रतिक्रिया दिए ।
लोकान्तरसँग कुराकानी गर्दै उम्मेदवार रावलले आफूले केन्द्रीय सदस्य पद स्वीकार नगर्ने बताए ।
पढ्नुहोस् रावलसँग गरिएको संक्षिप्त कुराकानी –
तपाईंको नाम केन्द्रीय सदस्यमा पनि भएको कुरा के हो ?
– पहिला पनि यो कुराको विवाद आएको हो, सातौं महाधिवेशनमा सदस्यमा हालेको थिएन, नहालेको कुरामा शपथ गर्दैन भन्दा अनावश्यक विवाद गरिरहेका छन् । यसपटक मैले निर्वाचन आयोगमा गएर स्पष्ट शब्दमा मेरो उम्मेदवारी सदस्यमा होइन, अध्यक्षमा मात्रै हो भनेको थिएँ । अहिले मेरो नाम अध्यक्षमा पनि छ, तल सदस्यमा पनि राख्या छन् क्या ! सदस्यमा राख्नुको तात्पर्य के हुन्छ भने, मैले सदस्यमा हालेकै छैन, म भोलि अध्यक्षमा हारेर सदस्यमा बढी मत आयो भने अनि मलाई शपथ लिएन सदस्यमा निर्वाचित भएर भन्ने हल्ला मच्चाउँछन् क्या । मैले अहिले नै स्पष्ट पारिदिएँ, निर्वाचन आयोगलाई प्रस्ट पारिदिएको छु – मैले अध्यक्षमा मात्रै भरेको छु । यति गर्दागर्दै पनि मेरो नाम सदस्यमा पनि रहेछ । म भोलि जितेपनि शपथ लिने कुरा, सदस्य हुने कुरा छैन ।
अध्यक्षको उम्मेदवार भएपछि केन्द्रीय सदस्यको उम्मेदवार स्वतः भएको मानिन्छ नि होइन ?
– होइन, मलाई निर्वाचन आयोगको प्रमुख के भन्नुभएको थियो भने – जे भर्यो, दुइटैमा टिक लगायो भने मात्रै दुइटामा भरिन्छ, होइन भने भरिँदैन भन्नुभएको थियो । अहिले मशिनमा मैले तल सदस्यको पनि देखें । मैले समयमै स्पष्ट पारिराख्नुपर्यो नि ! पछि शपथ लिन मानेन भनेर हल्ला मच्चाउँछन्, पार्टीको निर्णय मानेन भन्छन् । सदस्यमा मेरो नाम आयो भने म शपथ लिन्न, उम्मेदवारी नदिएको कुरा किन स्वीकार गर्छु ?
तपाईंको अध्यक्षमा अलिकति कम मत आयो र केन्द्रीय सदस्यमा बढी मत आयो भने केन्द्रीय सदस्य रहनुहुन्छ कि हुन्न ?
– म अध्यक्षबाहेक अरु पद बस्दैन । मैले पहिले नै भनेर फर्ममा पनि अध्यक्षमा मात्रै भरेको छु । अध्यक्षमा उठ्या मान्छे केन्द्रीय सदस्य किन रहने ? मत खसाल्न जाँदा केन्द्रीय सदस्यमा पनि नाम देखें । गल्तीले मेरो नाम हालेर आयो भने पनि स्वीकार गर्दैन, मैले अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिएको छु ।
निर्वाचन आयोगले सच्याउँछु भन्या छ ?
– मैले पछि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छु । उहाँहरूले सबैको यस्तै भयो, तपाईंको पनि भयो भन्नुभयो तर अहिले भनेर मेरो नाम आयो भने पनि मैले त पहिले नै स्पष्ट पारिसकेको छु – अध्यक्ष पदमा जित्यो भने अध्यक्ष भएर म यो पार्टीमा काम गर्छु, मैले सदस्य पदमा दिएको पनि होइन, केन्द्रीय सदस्य स्वीकार गर्ने, शपथ लिने कुरा हुँदैन ।