
एउटै पार्टी विभक्त भएर तीन टुक्रा भएपछि एक अर्काको अस्तित्व नै अस्वीकार गर्ने अवस्थामा पुगेका तीन कम्युनिष्ट पार्टीका नेताको भेट कांग्रेसको मञ्चमा हुने भएको छ ।
कांग्रेसले शुक्रबार दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा १४ औं महाधिवेशन उद्घाटन गर्दैछ । सोही उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा उपस्थित हुने भएका हुन् ।
कांग्रेस केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार यी तीनै जना नेताले कार्यक्रममा आउने निश्चित गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी बनेको थियो । उक्त नेकपा २०७७ फागुन २३ मा सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् एमाले र माओवादी केन्द्रमा फर्किए ।
त्यसपछि एमाले पनि सग्लो रहेन । एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपाल गत भदौमा नयाँ पार्टी दर्ता गरेर एमालेबाट विभाजित भए ।
ओली र प्रचण्ड गत पुस ५ यता आमनेसामुन्ने भएका छैनन् । उनीहरू सार्वजनिक मञ्चमा एक अर्काविरूद्ध खनिने गरेका छन् । एकले अर्काको उछितो काढ्छन् । एकले अर्को पार्टीको अस्तित्व नै अस्वीकार गर्ने तहको व्यवहार गर्दै आएका छन् ।
नेकपा एमाले अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको देखभेट नभएको पनि करीब साढे चार महिना भयो । एमालेको आन्तरिक विवाद समाधान गर्नका लागि भनेर असार २३ मा होटल मेरियटमा ओली र नेपालको लामो संवाद भएको थियो । त्यसयता उनीहरू आमुन्ने सामुन्ने भएका छैनन् ।
नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका छन् । नेपाललाई ओलीले देशद्रोही, आन्दोलनविरोधी आदि आरोप लगाएका छन् । त्यतिमात्रै होइन, माधव नेपालहरू सहभागी भएको संसद् बैठक समेत चल्न नदिने घोषणा ओलीले गरेका छन् ।
उनीहरूबीच देशव्यापी रूपमा तिक्तता र आक्रोश छ । अर्कातर्फ, एकले अर्काको कार्यकर्ता तानातान गरिरहेका छन् । ओलीले त माधव नेपाल र उनको पार्टीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा नै दर्ता गरेका छन् ।
नेकपा एमालेले मंसिर १० देखि १४ सम्म आयोजना गरेको दशौं राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा माधव नेपाल र उनको पार्टीलाई निमन्त्रणा समेत दिएन ।
‘अपवित्र सम्बन्ध’बाट बनेको र राजनीति पार्टीको हैसियत नै नभएको टिप्पणी गरेर निमन्त्रणा नदिएको एमालेका नेताहरूले बताएका थिए ।
एमालेले महाधिवेशनको उद्घाटन समारोहमा अन्य पार्टीका शीर्ष नेतालाई भने बोलाएर बोल्न दिएको थियो ।
प्रचण्ड र नेपाल ओलीसँग छुट्टिएपछि उनीहरूले कांग्रेससँग मिलेर गठबन्धन बनाएका छन् । त्यसमा जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पनि संलग्न छ ।
सत्ता सहयात्री दलको महाधिवेशन भएका कारण प्रचण्ड, नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुने भएका छन् ।
तर, ओलीसँग प्रचण्ड र नेपालले तिक्ततापूर्ण सम्बन्धको अवस्थामा उनीहरूले नै ‘दक्षिणपन्थी धार’को भनेर आरोप लगाउने कांग्रेसको मञ्च शेयर गरेर के भाषण गर्लान् भन्ने राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ ।