०१ साउन २०८३, शुक्रबार

सस्तोमा सूचना दिन सरकारले शुरू गर्‍यो 'केन्द्रीकृत एसएमएस गेटवे'

सस्तोमा सूचना दिन सरकारले शुरू गर्‍यो 'केन्द्रीकृत एसएमएस गेटवे'

सञ्चार तथा सूचना प्रविधि विभागले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ गरेको छ ।

बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केन्द्रीकृत एसएमएस गेटवे सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । उनले अहिलेको युग सूचना र प्रविधिको युग भएकोले प्रविधिसँग लक्षित वर्गलाई जोड्न एसएमएस गेटवे सेवा शुभारम्भ गरिएको बताए ।

मन्त्री कार्कीले एमएमएस गेटवे सेवा शुभारम्भ गरेर समापन र चियापानको कार्यक्रम मात्र गर्ने नभइ यसको कार्यान्वयनमा पनि सरकारले ध्यान दिने बताए । उनले सरकारले सकेसम्म जनतालाई प्रविधिसँग जोडेर सेवा दिनुपर्ने बताए ।

मन्त्री कार्कीले भने, ‘अहिलेको युग सूचना र प्रविधिको युग हो । सूचना र प्रविधिसँग हाम्रो लक्षित वर्ग, जोडिएको छ कि छैन ? लक्षित वर्गले यसबाट लाभ लिएको छ कि छैन ? त्यसतर्फ हामीले गम्भीरतापूर्वक विश्लेषण गरेनौँ भने हामी उद्घाटन, समापन, चियापान गर्छौं, त्यतिमा मात्रै यो सिमित हुनसक्छ । त्यसैले जुन उद्देश्यका साथ यो एसएमएस गेटवे हामीले प्रारम्भ गरेका छौँ त्यो उद्देश्यमा पूर्ण रुपले सफल हुन सकोस् । सूचना, सञ्चार र प्रविधिसँग हामीले लक्षित वर्गलाई जोड्न सकौँ । अहिले सेक्युरेटीको पनि कुरा छ । विश्वसनियताको पनि कुरा छ । राज्यले जनतालाई सकेसम्म सेवा प्रदान गर्दै जानुपर्दछ । अवसर दिनुपर्दछ । त्यो अवसरबाट समाजले लाभ लिनुपर्दछ । समाजले लाभ लिँदा राज्य नै लाभान्वित हुन्छ । जुन उत्साहका साथ उद्घाटन गरेका छौँ काम गर्ने बेलामा यस्तै उत्साहका साथ अघि बढ्छौँ । कार्यान्वयनमा पनि त्यही समर्पणका साथ अघि बढ्छौँ ।’

मन्त्री कार्कीले सरकारले दिएको सेवाबाट नागरिक लाभान्वित हुँदा राज्य नै लाभान्वित बन्ने बताए । उनले एसएमएस गेटवे सेवा शुरु भएको दुई, तीन महिनाभित्रबाट जनता कति लाभान्वित हुन्छन् भन्ने कुराको लेखाजोखा गरिने बताए ।

कुनै पनि सरकारी निकायले सूचना प्रविधि विभागको पूर्वाधार (सफ्टवेयर) प्रयोग गरी दूरसञ्चार प्रदायक (हाल नेपाल टेलिकम) र एनसीएलमार्फत् सेवाग्राहीलाई एसएमएस पठाउने प्रणाली नै एसएमएस गेटवे हो । यसबाट सम्बन्धित निकायले आफ्ना सेवाग्राहीलाई सस्तो दरमा सूचना वा जानकारी पठाउन सक्छन् । सेवाग्राहीले पनि सम्वद्ध सरकारी निकायलाई एसएमएस पठाउँदा लाग्ने शुल्क सस्तो हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्