
ऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारूपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ ।
ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा सञ्चालन भन्नेमा टुंगो लाग्न नसकेर अन्योल देखिएको कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले बताए ।
‘कसैबाट पनि ऐन कानून बनाउन ‘लबिङ’ भएको नदेखिँदा जनताले अपेक्षा गरेको समयभित्रै कलेज सञ्चालन हुने अवस्था देखिँदैन,’ उनले भने, ‘ऐन ल्याउने कुरा सरकार र संसद्सँग जोडिएकाले त्यसका लागि अहिलेसम्म पहल भएको देखिएको छैन ।’
गत वर्ष २ पटक विघटन भई पुनःस्थापित प्रतिनिधि सभाले हाल पनि निर्वाधरूपमा काम गर्न नसकिरहेका अवस्थामा कलेज सञ्चालनका लागि चाहिने कानून निर्माणको विषय ओझेलमा परेको जनाइएको छ ।
उनले अहिलेसम्म कलेज सञ्चालनसम्बन्धी विधेयकको मस्यौदासम्म पनि तयार हुन नसकेको अवस्थामा कलेज सञ्चालन हुन अझै डेढ–दुई वर्ष पर्खिनुपर्ने देखिएको बताउँछन् । कलेजलाई एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान, मेडिकल कलेज वा विश्वविद्यालयमध्ये कुनै एक प्रारूपमा सञ्चालन गर्न सकिने बताइएको छ ।
ऐन कानून बनिसकेपछि पनि कलेजमा स्वास्थ्यसम्बन्धी उपकरण र प्राविधिक जनशक्ति लगायतको व्यवस्थापन जस्ता काम गर्न समय लाग्ने देखिएको छ ।
सरकारको प्राथमिकता प्राप्त आयोजना गेटा मेडिकल कलेज निर्माणस्थलमा निर्माण गर्नुपर्ने ३६ भन्दाबढी भवन संरचनामध्ये २९ वटाको निर्माण पूरा भइसकेको छ । थप केही संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
अस्पताल, कलेज, छात्राबास, आवास भवनका अलावा अक्सिजन प्लान्ट, कुरुवा घर, लास घर, जस्ता संरचनाको निर्माण पूरा भइसकेको छ । भवनमा फर्निचर, पानी, विद्युतीकरण र फोहर व्यवस्थापनको काम भइरहेको छ । कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलव आठ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले सुरुको अवस्थामा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो ।
कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै ६ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ । मुक्तकमैयालाई अन्यत्र पुनः स्थापना गरी उक्त जग्गामा मेडिकल कलेजको ट्रमा सेन्टर बनाउने योजना छ । तर उनीहरूलाई अन्यत्र पुनः स्थापना गराउन समेत पहल नहुँदा ट्रमा सेन्टरको योजना अलपत्र परेको छ ।
कलेजका संरचनाको निर्माण पूरा भएसँगै आफ्नै गाउँठाउँमा मेडिकल शिक्षा अध्ययन गर्न पाउने आशा भने स्थानीयमा जागेको छ । स्थानीय तीर्थराज ओझा कलेज सञ्चालन हुन सकेमा आफ्नै ठाउँमा मेडिकल शिक्षा पढ्न चाहने स्थानीयवासीको सपना पूरा हुने भई मेडिकल शिक्षामै ठूलो फड्को मार्ने बताउँछन् ।
‘यसले मेडिकल पढ्ने मात्र नभई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नमा समेत योगदान पुर्याउने आशा छ,’ ओझाले भने, ‘कलेज सञ्चालनमा आउँदा यस क्षेत्रको आर्थिक गतिविधि र रोजगारी सिर्जनामा समेत ठूलो टेवा पुग्नेछ ।’
नेपालमा छात्रवृत्ति पाउने सीमित व्यक्तिले मात्र मेडिकल शिक्षा पढ्न पाउने गरेका छन् । कतिपय व्यक्ति आफ्नै खर्चमा मेडिकल पढ्न विदेश जानुपर्ने बाध्यता छ । मेडिकल कलेज निर्माण शुरू गरिँदा ८ अर्ब ३४ करोड लागत अनुमान रहेको थियो । यो आयोजनाको गुरुयोजना अद्यावधिक हुँदा निर्माणको लागत अनुमान बढ्ने जनाइएको छ । अहिलेसम्म भौतिक संरचना निर्माणमा ४ अर्ब ५० करोड खर्च भइसकेको छ ।
शुरूका वर्षमा कलेजका संरचना निर्माणको प्रक्रिया अघि बढाउँदा उत्पन्न बाधा अवरोध र देखिएको झन्झटिलो प्रक्रियाका कारण कलेज स्थापना हुने नहुनेमा अन्योल देखिएको पनि थियो । सरकारले विक्रम संवत् २०६६ सालमा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । भौतिक संरचना निर्माणको काम विक्रम संवत् २०७४ देखि मात्र शुरू भएको थियो । कलेज ६०० शय्याको निर्माण गर्ने लक्ष्य छ ।
कलेजका अस्पताल भवन लगायतका संरचनाको निर्माणमा शर्मा राजेन्द्र कुमार कम्पनी, लुम्बिनी कुमार केएस् र रविना कन्ट्रक्सन प्रालि संलग्न छन् । – सिद्धराज भट्ट/रासस