२३ असार २०८३, मंगलबार

नक्कली फेसबुक अकाउन्टबाट बालिकालाई 'ब्ल्याकमेल' गरेर बलात्कार

माघ १, २०७८
नक्कली फेसबुक अकाउन्टबाट बालिकालाई 'ब्ल्याकमेल' गरेर बलात्कार

नेपाल प्रहरीले बालबालिकामाथि अपराध हुनबाट जोगाउनका लागि सचेत हुन अभिभावकसँग अनुरोध गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंले पछिल्लो समय बालबालिकामाथि विभिन्न खालका घटना हुने गरेको देखिएकाले त्यसप्रति ध्यानाकर्षण गराउँदै प्रहरीले आ-आफ्ना बालबालिकालाई समयमै सचेत गर्ने कुरामा गम्भीर हुन आग्रह गरेको छ । 

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले प्रविधिको प्रयोग बढेसँगै त्यसमार्फत जोडिएर अपराधका घटना हुने गरेको बताए । उनका अनुसार हालैमात्र संगम महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट एक बालिकालाई साथी बनाई जबर्जस्ती करणी भएको घटना बाहिर आएको छ । 

उक्त घटनामा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ स्थायी घर भई हाल ललितपुर बस्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि महानगरीय प्रहरीवृत्त महाराजगञ्जबाट कानूनी कारवाही थालिएको जनाइएको छ । 

प्रहरीका अनुसार शुरूमा ती व्यक्तिले बालिकालाई बारम्बार भिडियो कल गरी संवेदनशील अंग देखाउन लगाई भिडियो कल रेकर्ड गर्नुका साथै स्कुलमा साथी तथा घर परिवार समेतलाई उक्त भिडियो देखाउँछु र सामाजिक सञ्जालमा भाइरल बनाउँछु भनी धम्की दिएका थिए । 

त्यसपछि पुस २७ गते राति काठमाडौंको बूढानीलकण्ठ नजिकै रहेको एक निर्माणाधीन घर पछाडि भेट्न बोलाइ जबर्जस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ । 

अनुसन्धानका क्रममा उनले नै यसरी नक्कली फेसबुक एकाउन्ट बनाएको खुलेपछि पक्राउ गरिएको परिसरले जनाएको छ । प्रहरीले यसरी सामाजिक सञ्जालमा नक्कली फेसबुक एकाउन्ट खोली अपराधजन्य कार्य बढ्दो रहेकाले प्रहरीले सचेत हुन अपिल गरेको हो । रासस

salt training

कमेन्ट गर्नुहोस्