०५ साउन २०८३, मंगलबार

युक्रेनबाट ८०० विद्यार्थीलाई सकुशल उद्धार गर्ने यी २४ वर्षीया महिला पाइलट

फागुन ३०, २०७८
युक्रेनबाट ८०० विद्यार्थीलाई सकुशल उद्धार गर्ने यी २४ वर्षीया महिला पाइलट

रुस र युक्रेनबीचको युद्ध १९ औं दिन पनि जारी छ । भारत सरकारले युक्रेनमा फसेका आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउन निरन्तर अपरेशन गंगा चलाइरहेको छ, जसअन्तर्गत हालसम्म हजारौं विद्यार्थीलाई स्वदेश फर्काइएको छ । 

यही अवस्थामा विद्यार्थीलाई स्वदेश फर्काउन कोलकाताको न्यू टाउनकी पाइलट महाश्वेता चक्रवर्तीले महत्त्वपूर्ण भूमिका खेलेकी  छन् ।

अपरेशन गंगाकी २४ वर्षीय सदस्य महाश्वेताले हालसम्म युक्रेनमा फसेका ८०० विद्यार्थीलाई सकुशल स्वदेश फर्काइसकेकी छन् । 

महाश्वेताले फेब्रुअरी २७ देखि मार्च ७ गतेसम्म ६ वटा इभ्याकेसन उडान गरिसकेकी छन् । 

भाजपा महिला मोर्चाले महाश्वेता चक्रवर्तीका विषयमा ट्वीट पनि गरेको थियो, जसमा कोलकाताकी २४ वर्षीय पाइलट महाश्वेता चक्रवर्तीले युक्रेन, पोल्याण्ड र हंगेरीको सिमानाबाट ८०० भन्दा बढी भारतीय विद्यार्थीको उद्धार गरेको लेखिएको थियो । 

मोर्चाले यो ठूलो सम्मानको विषय भएको जनाएको छ । 

यति मात्रै होइन, भारतीय जनता युवा मोर्चाकी उपाध्यक्ष प्रियंका शर्माले पनि २४ वर्षीया महाश्वेता बंगाल भाजपा महिला मोर्चा प्रमुखकी छोरी भएको आफ्नो ट्वीटमा लेखेकी छन् । 

उनले ट्वीट गर्दै लेखेकी छन्- महाश्वेता पश्चिम बंगाल राज्य भाजपा महिला मोर्चा अध्यक्ष तनुजा चक्रवर्तीकी छोरी हुन् । भारतले हालसम्म 80 भन्दा बढी विशेष निकासी उडानहरूमार्फत् लगभग 20 हजार नागरिकहरूलाई उद्धार गर्न सफल भएको छ।

कमेन्ट गर्नुहोस्