२२ असार २०८३, सोमबार
सफल उडान

ध्रुव थापाको व्यावसायिक यात्रा: कलेज बंक गरेर शुरूआत, मेहनतले सफलता

ध्रुव थापाको व्यावसायिक यात्रा: कलेज बंक गरेर शुरूआत, मेहनतले सफलता

‘मलाई सानैदेखि केही नयाँ गरौँ भन्ने लाग्थ्यो । केही नयाँ प्रयोग गरिरहने बानी थियो । शायद आज म त्यही जगमा उभिएको छु,’ हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाले आफ्नो विगत सम्झिँदै कुराकानीको शुरूआत गरे ।

उनी बालक हुँदा परिवारको आर्थिक अवस्था मध्यमस्तरको थियो । भारतीय प्रहरीको जागिरबाट रिटायर्ड भएका उनका बुवाले पोखरामा किराना पसल चलाउँथे ।

ध्रुवले कहिलेकाहीँ पसलमा बुवालाई सघाउँथे । सँगसँगै स्कूलको अध्ययन पनि चलिरहेको थियो ।

उनका दाइ नेपाल राष्ट्र बैंकमा जागिरे थिए । यत्तिकैमा ध्रुवले एसएलसी उत्तीर्ण गरे । 

एसएलसीपछि पृथ्वीनारायण क्याम्पसमा ‘ल’ (कानून) अध्ययनका लागि भर्ना भए । 

राष्ट्र बैंकमा जागिरे दाइले बेलाबखत अथवा मौका मिल्दा सेकन्डह्यान्ड मोटरसाइकल किन्ने र अरूलाई बेच्ने काम गर्थे । 

दाइको त्यो काम ध्रुवले पनि नियालिरहेका थिए ।

निकै समय सोचेपछि थापालाई लाग्यो, ‘दाइले सेकेण्डह्यान्ड मोटरसाइकल बेचिरहेका छन्, यसको शोरूम नै किन नराख्ने ?’ 

आफ्नो सोचलाई साकार पार्न उनले आफ्ना बुवासँग प्रस्ताव राखे । 

तर बुवाले त्यतिखेर सहजै मानेनन् ।  तर दाइले भाइको योजनामा साथ दिए । 

‘बुवाले चाहिँ त्यस्तो चल्दैन भन्नुभयो । तर दाइले भने हुन्छ, गरेर हेर न त भन्ने कुरा गर्नुभयो,’ उनी सम्झन्छन्, ‘कलेज पढ्दै गर्दा अलिअलि गरेर हेर्न हुन्छ भन्नुभयो ।’

दाइको सहमति पाएपछि बुवालाई कन्भिन्स गर्न सहज भयो । 

उनले बुवालाई कन्भिन्स गराएनन् मात्रै लगानी पनि लिए, करीब ३ लाख रुपैयाँ । 

यो २०४५/०४६ सालतिरको कुरा हो । त्यसपछि उनले शोरूम नै राखे– ‘गण्डकी रिकन्डिसन सेन्टर’ ।

त्यसबखत उनी केवल १७ वर्षका थिए । 

यससँगै शुरू भएको थियो थापाको व्यावसायिक यात्रा । 

‘बिहान दुई पिरियड छाडेर आएर शोरूम खोल्थें । म प्रायः कलेज बंक गर्ने विद्यार्थीमै पर्थें ।’

उनको घर पोखराको प्राइम लोकेसनमै छ । 

त्यहाँ शोरूमका लागि जमिन पनि आफ्नै थियो ।  

आफ्नै जग्गामा शोरूम बनाएर शुरूवाती दिनमा ३ वटासम्म सेकेन्डह्याण्ड मोटरसाइकल बिक्री गरेको उनी सम्झन्छन् । 

कलेज बंक गरेर शोरूमको यात्रा 

कलेज जीवनमा उनी अधिकांश दिन पूरा अध्ययन नगरी कलेज बंक गरेर निस्किन्थे ।

बिहान छिटो उठ्न अल्छी मान्थे उनी । तर शोरूम खोल्न भने समयमै पुग्थे ।

‘बिहान दुई पिरियड छाडेर आएर शोरूम खोल्थें । म प्रायः कलेज बंक गर्ने विद्यार्थीमै पर्थें,’ उनले भने ।

प्रायः साथीहरूको समूह नै मिलेर त्यतिखेर कलेज बंक गर्ने गरेको उनी सम्झन्छन् । 

पछाडिका अन्तिम दुई विषयहरू नपढिकनै निस्कने र शोरूम खोल्ने उनको दैनिकी नै थियो । 

यति गर्दा पनि परीक्षामा फेल भने हुँदैनथे ।

‘एक्जाम आउने बेलामा एक महिना किताब पढ्थें । त्यसरी पढ्दा पनि सजिलै पास हुन्थें,’ उनी भन्छन्, ‘कक्षा २ मा चाहिँ फेल भएको थिएँ, त्यसपछि मलाई कुनै पनि विषय लागेन ।’ 

पछाडि फर्किएर हेर्नुपरेन

थापाले शुरूआती दिनदेखि नै राम्रो ‘बिजनेस’ पाए । 

केही समयपछि नै उनलाई सुजुकी मोटरसाइकलको डिलरशीपका लागि अफर आयो । उनी नहडबडाई त्यसमा अगाडि बढे । 

उनले २०५१ मा गण्डकी ट्रेड हाउस सञ्चालनमा ल्याए । यसबाट उनले सेकेन्डह्याण्ड चरापाङ्ग्रे सवारी साधनको कारोबार गरे । 

त्यसलगत्तै २०५२ मा डेलिम मोटरसाइकल (कोरिया) र २०५४ मा सुजुकी २ ह्वीलरको आधिकारिक क्षेत्रीय डिलरशीप सञ्चालनमा ल्याए । 

यसबीचमा कोरियन मोटरसाइकल बिक्री गर्न थालेपछि थापाको यात्रामा थप इँटा थपियो । 

प्रायः लाहुरेहरूले कोरियन मोटरसाइकल चढ्थे । त्यतिखेरै त्यो मोटरसाइकलको मूल्य २ लाख रुपैयाँ आसपास थियो । 

थापा सम्झन्छन्, ‘त्यो समयमा नै यसको उच्च माग भयो । यसले मलाई निकै व्यस्त पनि बनायो ।’

उनको यात्रा विस्तारै विस्तारै अघि बढ्दै थियो ।

मोटरसाइकलको क्षेत्रीय डिलर सञ्चालनमा ल्याएको एक वर्षमै हुलास मोटर नेपालको आधिकारिक क्षेत्रीय वितरक समेत बने उनी । 

व्यापार विस्तारमा फड्को मार्दै गर्दा विभिन्न कम्पनीहरूसँग साझेदारी भयो । 

जसपश्चात थापाले २०५७ मा स्थापना गरे, हिमालय अर्गनाइजेसन ।

यही अर्गानाइजेसनअन्तर्गत अहिले थापाले व्यापार विस्तार गर्दै लगेका छन् । 

थापाले २०५९ मा हिमालयन इन्भेष्ट एन्ड डेभलपमेन्ट प्रालि स्थापना गरे । त्यसमार्फत रियल स्टेट, रि–फाइनान्स र बैंकिङसँग सम्बन्धित क्षेत्रहरूमा हिमालय अर्गानाइजेसनले नयाँ प्रवेश गरेको थापा बताउँछन् । 

सेकेन्डह्यान्ड मोटरसाइकल खरिदबिक्रीबाट शुरू भएको उनको व्यावसायिक यात्रा अन्य ब्राण्डेड मोटरसाइकल हुँदै गाडीसम्म फैलियो । 

उनले विस्तारै गाडीको पनि डिलर शुरू गरे । 

अहिले उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत लगानी गरेका छन् । पोखरामै चर्चित होटल र अटोमोबाइल सेक्टरमा लगानी लगानी गरेका छन् ।

अहिले थापाले आयाम इन्टरकन्टिनेन्टलमार्फत फोर्स मोटरको आधिकारिक वितरक बनेर गाडी बिक्री वितरण गरिरहेका छन् ।

....

अध्यक्ष थापाको संलग्नता यतिमा मात्रै सीमित छैन ।

उनी मुलुकभरको अटोमोबाइल्स कम्पनीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष पनि हुन् । 

यसअघि पनि उनले विभिन्न संघ–संगठनमा नेतृत्वदायी भूमिकामा रहेर काम गरिसकेका छन् । 

विभिन्न संगठनमा आबद्धता र व्यस्तताको समयमा उनलाई उनकी पत्नी मिलन थापाले व्यवसायमा साथ दिइरहिन् । 

थापा भन्छन्, ‘उनको पनि बाहिर संघ–संस्थाहरूमा व्यस्तता बढ्दै गएको छ । अहिले छोराले पनि मलाई व्यवसायमा साथ दिँदै आएको छ । 

छोरालाई पनि व्यवसायमा डोहोर्‍याउँदै 

पछिल्लो समय व्यवसायमा पुस्तान्तरणको लहर चलेको छ ।

यसै भीडमा थापाले आफ्नो छोरालाई पनि यही क्षेत्रमा डोहोर्‍याउन थालेका छन् ।

उनका छोरा सौरभ उमेरले २३ वर्षका भए । उनी अहिले हिमालयन अर्गानाइजेसनका म्यानेजिङ डाइरेक्टर हुन् ।

‘हामीहरू एकैपटक ठूलो लगानीबाट शुरू गर्न खोज्छौँ, पैसा छ भने त गर्दा भयो, नत्र सानैबाट शुरू गर्नुभए हुन्छ । कुनै पनि काम सानो हुँदैन,’

बुवालाई बिजनेसमा साथ दिँदै उनीमाथिको भार कम गर्ने भूमिका सौरभले खेल्दै आएका छन् ।

‘सौरभले सानै उमेरदेखि मेरो व्यवसायमा सहयोग गर्दै आएको हो,’ उनी भन्छन् ।

अझ बढी त नाडाको अध्यक्षमा निर्वाचित भइसकेपछि व्यवसाय सम्हाल्ने जिम्मेवारी नै सौरभको काँधमा आएको उनले बताए ।

नयाँ उद्यमीहरूलाई सन्देश

धेरै हण्डरठक्कर खाँदै उनी आजको स्थानमा आइपुगेका हुन् । अप्ठ्यारो परिस्थितिसँग जुध्दै त्यसबाट पार पाएर उनी अगाडि बढिरहेका छन् ।

थापा व्यवसाय क्षेत्रमा लाग्न चाहनेहरूलाई सानै कामबाट भएपनि व्यवसाय शुरू गर्न सुझाव दिन्छन् ।

‘हामीहरू एकैपटक ठूलो लगानीबाट शुरू गर्न खोज्छौँ, पैसा छ भने त गर्दा भयो, नत्र सानैबाट शुरू गर्नुभए हुन्छ । कुनै पनि काम सानो हुँदैन,’ उनले भने ।

विगतमा आफूले नै शोरूम सफा गर्ने, भुइँ पुछ्ने तथा मोटरसाइकल पनि आफैं पुछ्ने गरेको उनले सम्झिए । 

‘काम सानोठूलो हुँदैन । नेपाल ‘रमटेरियल’ हो । यहाँ अवसर धेरै छन्, सदुपयोग गर्न जाने पुग्छ,’ उनले भने ।

थापाले व्यवसायका लागि नेपालमा अवसर नै अवसर रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्