
भारत राजस्थानका भाजपा विधायक ज्ञानचन्द पारखले प्रधानमन्त्री नरेन्द्र मोदीलाई महादेवको अवतार भनेका छन् । उनले मोदीलाई महादेवको अवतार भन्नु अतिशयोक्ति नहुने बताएका हुन् ।
वित्त विधेयकमाथिको छलफलका क्रममा पारखले कुनै समय ‘हर हर महादेव’को नारा दिइन्थ्यो र अहिले ‘हर हर मोदी’को नारा लगाइएको बताए । यति मात्र होइन पारखले ‘हर हर राम’ र ‘हर हर कृष्ण’ होइन कि ‘हर हर मोदी’ को नारा लगाउन भनेका हुन् ।
बीजेपी विधायक पारखले जब महादेवको तेस्रो नेत्र खुल्छ तब तबाही हुन्छ भनेझैँ मोदीले तेस्रो आँखा खोल्दा कश्मीरबाट आतंककारीको सफाया भएको पनि दाबी गरे । पाकिस्तानी भूमिमा भारतले सर्जिकल स्ट्राइक गरेको थियो ।
तर, उनको यो भनाइप्रति मन्त्री महेश जोशीले भने आपत्ति प्रकट गरेका छन् । मानिसको तुलना भगवानसँग कसरी हुन सक्छ भन्दै उनले प्रश्न गरेका छन् । यो भगवान शिवको अपमान भएको पनि उनको भनाइ छ ।
यसअघि महाराष्ट्र बीजेपी अध्यक्ष चन्द्रकान्त पाटिलले मोदी दिनमा २ घण्टा मात्र सुत्ने गरेको बताएका थिए । २२ घन्टा जागा भएर देशका लागि काम गरिरहेको बताएका पाटिलले मोदीले निद्राको आवश्यकता नपरोस् भनेर नयाँ प्रयोग गरिरहेको समेत भन्न भ्याएका थिए ।