०५ साउन २०८३, मंगलबार
आन्दोलनमा ग्यास व्यवसायी

भाडा र मूल्य बढाउन माग गर्दै व्यवसायीले ११ दिनदेखि रोके आपूर्ति, ग्यास अभावको संकेत

भाडा र मूल्य बढाउन माग गर्दै व्यवसायीले ११ दिनदेखि रोके आपूर्ति, ग्यास अभावको संकेत

पछिल्ला दिनहरूमा खाना पकाउने ग्यास (एलपी ग्यास)को अभाव देखिन थालेको छ ।

सरकारले ग्यासको मूल्य समायोजन नगरिदिँदा आफूहरू मारमा परेको भन्दै व्यवसायीहरूले आपूर्ति रोकेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले ग्यास ढुवानीमा भाडादर समायोजन नगरेको भन्दै ग्यास उद्योगी तथा डिलरहरूले भारतबाट ग्यास नल्याउँदा बजारमा अभाव शुरू भएको छ ।

आयात शून्य

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ, जसको असर नेपालमा पनि देखिएको छ । 

नेपाल आयल निगमले पछिल्लोपटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदै पेट्रोलको प्रतिलिटर १ सय ५५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय ३८ रुपैयाँ कायम गरेको छ । 

ग्यास भने प्रतिसिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँमा कारोवार हुँदै आएको छ ।

डिजेलको मूल्य बढ्दा भाडादर बढेको तर ग्यासको मूल्य समायोजनमा सरकारले ध्यान नदिएको भन्दै ग्यास व्यवसायीहरूले गत फागुन १९ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेका छन् । 

व्यवसायीहरू ग्यास आपूर्ति नै बन्द गरेर बसेका छन् । 

ग्यास उद्योगहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले आफूहरूले बाध्य भएर आपूर्ति बन्द गरेको बताए । 

उनले भने, ‘डिजेलको भाडा बढेसँगै नेपाल आयल निगमले ग्यास ढुवानीको भाडा बढाउनुपर्ने हो, त्यसो नहुँदा हामीलाई गाह्रो भएर आपूर्ति बन्द गर्न बाध्य भयौँ ।’

अध्यक्ष मल्लीका अनुसार भारतीय बजारमा डिजेल प्रतिलिटर ९७ रुपैयाँ मूल्य हुँदा रिफाइनरीबाट उद्योगसम्म ल्याउन बाह्य ढुवानी भनेर ८७ रुपैयाँ कायम गरिएको थियो ।  

भारतीय बजारमा डिजेल प्रतिलिटर ७० रुपैयाँ हुँदादेखि नै भाडा उही दरमा रहेको मल्लीले बताए । अहिले भारतीय बजारमा नै डिजेलको मूल्य प्रतिलिटर १ सय भारुभन्दा बढी भइसकेको छ ।

अध्यक्ष मल्लीले भने, ‘उता डिजेलको भाउ ५० प्रतिशतभन्दा बढीले बढिसक्दा पनि हाम्रोमा भने पुरानै भाउमा खरिद गरिरहेको अवस्था थियो । पछिल्लो समय त इन्डियन आयल निगमले पनि भाडा समायोजन नगरी ग्यास नपठाउने भनेको छ ।’

उनका अनुसार, नेपालमा इन्डियन आयल निगमबाट नै रिफाइनरी ग्यास आउँछ । त्यो ग्यास यहाँका उद्योगहरूले सिलिन्डरमा राखेर बिक्री वितरण गर्ने गरेका छन् ।

संघले ११ दिन अघिबाट नयाँ एलपी ग्यासको अर्डर लिन बन्द गरेको छ ।  यस्तै ६ दिनअघिदेखि रिफाइनरीबाट ग्यास लोड गर्ने काम बन्द गरेको छ भने ३ दिन अघिबाट नेपाल नपसेका ग्यासलाई सीमापारि नै रोकिदिएको संघका अध्यक्ष मल्लीले बताए । 

ग्यासको भाउ बढाउन माग 

नेपालमा अहिले ग्यास प्रति सिलिन्डर १ हजार ५ सय ७५ रुपैयाँमा भरिँदै आएको छ । यो ग्यास मात्रको मूल्य हो । तर अब भने डिजेलको भाउमा ठूलो वृद्धि हुँदा ढुवानीमा समेत असर पर्ने भन्दै ग्यास व्यवसायीहरूले ग्यासको भाउ बढाउनका लागि माग गरिरहेका छन् । 

एलपी ग्यासको भाउ बढाउनका लागि पटक–पटक सरकारलाई आग्रह गर्दै आएका ग्यास व्यवसायीहरूले यसपटक भने आपूर्ति नै रोकेका छन् । 

अध्यक्ष मल्ली भन्छन्, ‘अब ग्यास र डिजेलको भाउमा ग्याप ठूलो भइसकेको अवस्था छ, समयानुकूल यसलाई समायोजन गर्दै डिजेलको भाउ बढ्दा ग्यासको पनि बढ्ने र घट्दा ग्यासको पनि घट्ने सिस्टम मिलाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

उनले सरकारलाई आफूहरूले गत फागुन १९ गतेदेखि ध्यानाकर्षण गराए पनि माग सम्बोधनका लागि चासो नदिएको आरोप लगाए । 

बजारमा अभाव !

ग्यास व्यवसायीहरूको दुई साता अघिदेखिको आन्दोलनका कारण अहिले बजारमा एलपी ग्यासको अभाव हुन थालेको छ । 

ग्यास  बिक्रेताहरूले आयात रोकिएको भन्दै एलपी ग्यास किन्न जाने ग्राहकहरूलाई खाली हात फर्काउन थालिसकेका छन् ।

‘अहिलेसम्म त पुरानै स्टक मात्र बिक्री गरेका छौँ, अब सकिनै लागेको छ, नयाँ सिलिन्डर आएका छैनन्,’ ललितपुरको कुमारीपाटीस्थित एक ग्यास व्यवसायीले भने ।

ती व्यवसायीका अनुसार, भएको स्टकबाट मात्रै बिक्री गर्दा अहिलेसम्म धाने पनि अबको एक/दुई दिनमै एलपी ग्यास अभाव हुने देखिन्छ ।

हाल नेपालभर दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । तर आपूर्ति बन्द हुँदा पुरानो स्टकले पनि केही दिन मात्रै धान्ने एलपी ग्यासका डिलरहरूले बताउँदै आएका छन् । 

एलपी ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले अहिले ग्यास आपूर्ति नहुँदा एक सिलिन्डर मात्रै ग्यास हुने ग्राहकलाई ठूलो समस्या पर्ने बताए । 

उनले आफूहरूले बाध्य भएर आन्दोलन गर्दा पनि सरकारले सुनुवाइ नगरेमा अबको एक सातापछि ग्यास सिलिन्डर अभाव हुने अध्यक्ष अर्यालले बताए । 

अहिले आपूर्ति शून्य भएको अवस्थामा पुरानो स्टकले काम चलाए पनि नयाँ स्टक ल्याउनका लागि सरकार आफैंले बाटो खुलाउनुपर्नेमा जोड दिए । 

अहिले केही कम्पनीको मात्रै यो हप्ताभरिलाई पुग्ने ग्यास रहेको उनको भनाइ छ ।

‘सरकारले यस्तो परिस्थिति आफैं चाहन्छ भने हामीले के भन्ने, सरकारले नै जवाफ दिनुपर्छ । तर घाटामा काम गर्ने स्थिति आएपछि सरकारलाई मूल्य बढाउन आग्रह गरिएको हो,’ उनले भने । 

उनका अनुसार ७४ रुपैयाँ डिजेलको मूल्य हुँदा प्रति सिलिन्डरको लोकल ढुवानी ३६ रुपैयाँ लिने गइएको थियो । 

अहिले भने डिजेलको मूल्य १ सय ३८ रुपैयाँ पुग्दा पनि भाडालाई वैज्ञानिक ढंगले समायोजन नगर्दा समस्या भएको उनको भनाइ छ ।

कर घटाउने कि मूल्य बढाउने ? 

यता, नेपाल आयल निगमले एलपी ग्यासको मूल्य बढाउन सरकारलाई प्रस्ताव गरेको छ ।

अहिले काठमाडौं उपत्यकामा कायम भएको एलपी ग्यासको प्रति सिलिन्डर मूल्य १ हजार ५ सय ७५ रुपैयाँमा निगमले ६ सय रुपैयाँभन्दा बढी घाटा खाइरहेको निगमका सह–प्रवक्ता पुष्कर कार्कीले बताए । 

उनका अनुसार, अहिले सो मूल्यमा २ सय रुपैयाँ प्रतिसिलिन्डर उपभोक्ताले मूल्य अभिवृद्धि कर तिर्दै आएका छन् ।

सरकारले ग्यासमा सो कर घटाएर भए पनि उपभोक्तालाई सहुलियत दिनुपर्नेमा निगमको जोड रहेको उनले बताए । 

उनले भने, ‘सरकारले कर छुट नदिएमा मूल्य बढाउनुपर्ने अवस्था आउने बाध्यात्मक परिस्थिति छ, यसमा सरकारसँग छलफल भइरहेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्