
बुद्ध एयरले वैशाख २ गतेदेखि भद्रपुरबाट पोखराको दैनिक सिधा उडान गर्ने भएको छ ।
उडान तालिका सार्वजनिक गर्दै आइतवार कम्पनीले यस रुटका लागि शुरूवाती भाडादर रु. ६,९०० कायम गरेको छ ।
कम्पनीको पहिलो उडान पोखराबाट भद्रपुर दिउँसो १:२५ हुनेछ भने भद्रपुरबाट पोखरा दिउँसो ३ बजे फर्कने कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।
यस उडानबाट दुबै प्रदेशका वासिन्दा मात्र लाभान्वित नभई सीमापारी सिलगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटकहरु भित्रिन सजिलो हुने कम्पनीले बताएको छ । सीमापारिबाट आएका पर्यटकहरु भद्रपुरबाट पोखराको सिधा उडान भर्न सक्छन् ।
भद्रपुर वरिपरि रहेको विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यका साथै इलामका चियाबगान, हिमश्रृंखलाहरुको पनि पर्यटकहरुले अवलोकन गर्न सक्नेछन् ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेजहरु पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको कम्पनीले जनाएको छ ।
बुद्ध एयर काठमाडौं बाहेक पोखरालाई देशको विभिन्न प्रदेशहरूसँग सिधा उडानले जोडेको छ । यसअघि नै पोखरालाई भैरहवा, भरतपुर (चितवन), नेपालगञ्ज, सिमरा, धनगढी र जनकपुरबाट सिधा उडान विस्तार गरिसकेको छ ।
बुद्ध एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाजहरू रहेका छन् ।