सेगवे–नाइनबटले नेपाली बजारमा नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ ।
छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारीसाधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवेनाइनबटले मंगलवार नेपाली बजारमा यो स्कुटर सार्वजनिक गरेको हो ।
सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च विक्री हुने ई–स्कुटर ब्रान्ड हो ।
नेपालमा सेगवे ई–१२५ को बिक्री गत चैत १९ देखि वारेन्टी सहित शुरु भइसकेको छ । नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रा.लि ले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरू पनि सार्वजनिक गर्ने बताएको छ ।
इलेक्ट्रिक स्कुटर ई–१२५ संयुक्त राज्य अमेरिकाको मोबिलिटी इनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । २०२० रेडडट डिजाइन अवार्ड विजेता यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई श्रृङखला अन्तर्गतको पहिलो स्कुटर हो ।

यो इलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ आविष्कार र सेन्सरहरूले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।
प्रति घण्टा ७५ कि.मी. सम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २,४०० वाट बोस्च इलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएम को अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४ भी र २७ एएच लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ । स्कुटर सँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् ।
बोस्चको १० औँ पुस्ताको डुअल च्यानल एबिएसब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ । सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।
आईपीएक्स५ वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ ।
साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरू कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ ।
सेगवे इ–१२५ दुई भिन्न आकर्षक रंगहरूमा उपलब्ध छ – सेतो र ग्रे । यो स्कुटरको नेपाली मूल्य ३ लाख ९१ हजार रुपैयाँ तोकिएको छ ।