११ साउन २०८३, सोमबार

सीके राउतको जनमत पार्टीले काठमाडौंमा पनि उम्मेदवारी दिने, एमालेसँग तालमेलको चर्चामा सत्यता छ ?

बैशाख २, २०७९
सीके राउतको जनमत पार्टीले काठमाडौंमा पनि उम्मेदवारी दिने, एमालेसँग तालमेलको चर्चामा सत्यता छ ?
फाइल फोटो

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकासहित कुल २६ वटा जिल्लामा उम्मेदवारी दिने भएको छ ।

जनमत पार्टीका महासचिव चन्दन सिंहले तराई-मधेशबाहेक काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुर तथा चितवन, मकवानपुर र उदयपुरमा समेत उम्मेदवारी दिने तयारी भएको बताए ।

'कोर मधेशका २० जिल्लाबाहेक काठमाडौं उपत्यका, चितवन, हेटौंडा र उदयपुरमा पनि हामी आफ्नो उम्मेदवारी दर्ता गराउँछौं,' सिंहले लोकान्तरसँग भने।

अहिलेसम्म पार्टी एक्लै चुनाव लड्ने कुरा भए पनि आवश्यकता अनुसार तालमेल हुनसक्ने उनले खुलाए ।

'अहिलेसम्म हामी एक्लै चुनाव लड्ने भनेका छौं,' सिंहले भने, 'विभिन्न पार्टीहरूले तालमेलका लागि हामीसँग एप्रोच गर्नु भएको छ। तर अहिले कसैसँग तालमेल नगर्ने पक्षमा हामी छौं।'

आगामी दिनमा आवश्यकता हेरेर अन्य राजनीतिक दलसँग तालमेल हुनसक्ने उनको भनाइ छ ।​

एमालेसँग जनमतको तालमेल हुन्छ त ?

२०७५ साल फागुन २४ गते केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको १४ बुँदे सहमतिमार्फत सीके राउत मूलधारको राजनीतिमा आएका थिए । त्यसपछि स्वतन्त्र मधेश गठबन्धनलाई जनमत पार्टीमा रूपान्तरण गरिएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राउतलाई मूलधारमा ल्याएको हुनाले एमालेसँग जनमत पार्टीको तालमेल हुनसक्ने चर्चा छ । यद्यपि त्यस विषयमा ती दुई पार्टीले आधिकारिक रूपमा केही कुरा सार्वजनिक गरेका छैनन् ।

केही राजनीतिक दलहरूले तालमेलका लागि एप्रोच गरेको भए पनि कसैसँग त्यसअनुसार सहमति नभएको सिंहले खुलाए । कुन–कुन राजनीतिक दलसँग कुराकानी भयो वा भइरहेको छ त्यस विषयमा समेत उनले केही खुलाउन चाहेनन्।

नेकपा एमालेका सचिव रघुवीर महासेठले भने जनमत पार्टीसँग तत्काल तालमेलको सम्भावना नरहेको बताए ।

'संविधानबाहिर गएर देशलाई विखण्डन गर्ने बाटोमा लागेका सीके राउतलाई हाम्रो पार्टीको नेतृत्वको सरकारले वार्ता गरी मूलधारमा ल्याएकै हो,' एमाले स्थायी कमिटी सदस्य समेत रहेका महासेठले थपे, 'सहमतिअनुसार उहाँ मूलधारको राजनीतिमा आउनुभयो, त्यो स्वागतयोग्य कुरा हो । तर उहाँसँग एमालेले तालमेल गर्ने कुनै सम्भावना छैन।'

राजनीतिमा असम्भव भन्ने चिज केही नभए पनि तत्काल जनमत पार्टीसँग तालमेल नहुने बताए ।

'अहिलेसम्म न त हाम्रो पार्टीको तर्फबाट जनमत पार्टीसँग तालमेलका लागि पहल गरिएको छ, न त जनमत पार्टीबाट नै हामीकहाँ प्रस्ताव आएको छ,' महासेठले थपे, 'त्यसैले अब तत्काल नै जनमत पार्टीसँग तालमेल हुने सम्भावना छैन ।'

salt training

कमेन्ट गर्नुहोस्