
अन्तर्राष्ट्रिय श्रमिक दिवस (मई दिवस) को अवसर पारेर उद्योग सङ्गठन मोरङले शुुभकामना आदानप्रदान एवं श्रमिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सङ्गठनले विश्वभरिका श्रमिकको महान् दिनको रूपमा रहेको मई दिवस श्रमिक र रोजगारदाताले साझा रूपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यसवर्ष पनि १३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुुभकामना आदानप्रदान तथा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा वक्ताहरूले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासु जस्तो भएकाले रोजगारदाता र ट्रेड युनियन बीचको सम्वाद तथा सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
सङ्गठनले हाइजिन प्रालि, बुढिगङ्गामा विगत २५ वर्षदेखि कार्यरत महिला श्रमिक द्रोपदी राय र जय श्री कम्पनी प्रालिमा विगत ३७ वर्षदेखि अनवरत कार्यरत पुरुष श्रमिक महेश चौधरीलाई सम्मान गरेको छ ।