
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न पाँचवटा क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लागू हुने गरी आदेश जारी गरेका हुन् । राति १२:३० बजे जारी गरिएको उक्त आदेशमा तोकिएको सिमानाभित्र आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
प्रशासनले कानुन हातमा लिनेलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ। प्रशासनद्वारा जारी आदेशमा भनिएको छ, ‘यस आदेशको कोही कसैबाट उल्लङ्घन भएमा एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्नेछ।’
प्रशासनले जिल्लाका पाँचवटा इलाकाको चारकिल्ला तोकेर उक्त सिमानाभित्र कर्फ्यु लगाएको हो।
दुईपक्षबीचको झडप भएपछि प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको हो । घटनामा प्रदर्शनकारी र प्रहरीतर्फ १६ जना घाइते भएका छन् ।
