११ साउन २०८३, सोमबार
स्थानीय चुनाव

तानसेनको चुनावी जोडघटाउ : २५ वर्ष सहकार्य गरेका ‘बेस्ट फ्रेन्ड’ भिड्दा देखिएकाे राैनक

‘ओझेलमा परेको पाल्पालाई पुनर्जीवन दिने मेयर खोजिरहेका छन् तानसेनवासी’
तानसेनको चुनावी जोडघटाउ : २५ वर्ष सहकार्य गरेका ‘बेस्ट फ्रेन्ड’ भिड्दा देखिएकाे राैनक

त्रिवी शिक्षा आयोगको परीक्षा उत्तीर्ण गरेपछि पाल्पाका धनेन्द्रराज घिमिरे र सन्तोषलाल श्रेष्ठले २०४९ सालमा एकैदिन नियुक्ति लिएर विश्वविद्यालयमा २५ वर्ष सहकार्य गरे । सन्तोष त्रिभुवन बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख भए, धनेन्द्र चाहिँ सेवा अवधि छँदै अवकाश लिएर पूर्णकालीन राजनीतिमा होमिए । 

२०७९ वैशाख ११ अघिसम्म दुईजना मिल्ने साथी थिए, अहिले एकका विरुद्ध अर्को चुनावी मैदानमा उत्रिएका छन् । पाल्पा सदरमुकाम तानसेनको मेयरका लागि नेपाली कांग्रेसबाट श्रेष्ठ र एमालेबाट घिमिरे मेयरका उम्मेदवार छन् । ‘हामी अहिले पनि मिल्ने साथी हौं, केही बिग्रेको छैन । अस्ति मनोनयनको दिन पनि सँगै फोटो खिचायौं,’ श्रेष्ठले भने । 

सन्तोषले कांग्रेसमा मेयरको उम्मेदवारका रूपमा प्रतिबद्धता पत्र पेश गरेको भोलिपल्ट मिल्ने साथी धनेन्द्र एमालेबाट उम्मेदवार सिफारिश भए । ‘धनेन्द्रलाई एमालेले उम्मेदवार बनाएपछि ऊसँग प्रतिष्पर्धा गर्न सक्ने सन्तोष मात्र हो भनेर मलाई पार्टीले उम्मेदवार बनायो, अहिले हामी चुनावी मैदानमा छौं,’ श्रेष्ठले लोकान्तरसँग भने । 

उम्मेदवारी दर्ता पछि पनि आक्कलझुक्कल सन्तोषसँग भेट भएको धनेन्द्रले बताए । ‘उम्मेदवारी दिँदाको दिन पनि हामी सँगै थियौं । त्यसपछि पनि एकाध कार्यक्रममा सँगै छौं । राजनीतिक रूपमा प्रतिस्पर्धा भए पनि व्यक्तिगत रूपमा एकआपसमा शुभकामना दिएका छौं,’ घिमिरेले भने, ‘घरदैलोमा जाँदा स्वास्थ्यको ख्याल गर्र्नुपर्ला, पानी धेरै खानुपर्ला भनेर पनि कुरा भएको छ ।’

एमालेसँग जनताको फ्रस्टेसन पाएँ, यसपकट मैले जित्छु : श्रेष्ठ

नेपाली कांग्रेसका तर्फबाट तानसेनको मेयरका उम्मेदवार सन्तोषलाल श्रेष्ठ दुई दशकसम्म पाल्पाको नेतृत्व गरेको दलले अपेक्षित विकास गर्न नसकेकाले यसपटक मतदाताले नयाँ नेतृत्व खोजेको दाबी गर्छन् । 

‘पाल्पामा एमालेले दुईदशक राज गरेपनि जनतालाई सन्तुष्ट बनाउने ढंगले काम गरेको देखिएन । नारा मात्र दियो, काम भएको देखिएन । पारदर्शी पनि भएन,’ श्रेष्ठले भने, ‘चुनावी प्रचारको शिलशिलामा धेरै ठाउँमा घुमेर हिँडेको छु, एमालेसँग जनता फ्रस्टेट छन् । कामभन्दा गफ गर्ने भनेर मान्छेमा असन्तुष्टि भेट्टाएँ ।’ 

सन्तोषलाल श्रेष्ठ

त्रिभुवन बहुमुखी क्याम्पसबाट उमेर हदका कारण अवकाश पाएपछि श्रेष्ठ पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेजमा काम गर्न लागे । तानसेनको असनटोलमा जन्मेका सन्तोषलालको पारिवारिक पृष्ठभूमि व्यापार व्यावसाय हो । 

‘मैले जुन संस्थामा काम गरेर नेतृत्व गरें, त्यसै आधारमा यसलाई टिकट दियो भने चुनाव जितिन्छ भनेकाले मैले टिकट पाएको हो, तानसेनलाई पुनर्जीवन दिने योजना मसँग छ,’ उनले भने । 

तानसेनलाई चलायमान बनाउन पर्यटन विस्तारमा जोड दिने योजना रहेको उनले बताए । 

‘यहाँको पर्यटनसँग सिद्धबाबाको ढुंगा जोडिएर आउँछ । सिद्धबाबा सुरुङमार्गका लागि पहल गर्ने तथा रानीमहल, रिडीको ऋषिकेशलगायत यस क्षेत्रका यर्पटकीय क्षेत्रको प्रचार गरेर तानसेनमा पर्यटक ल्याउने मेरो योजना हुनेछ,’ श्रेष्ठले भने । 

मेरो विजयमा सन्तोष सर अबिर लिएर आउनुहुनेछ : घिमिरे

नेकपा एमालेका उम्मेदवार धनेन्द्र घिमिरे तानसेनलाई नमूना नगर बनाउने आफ्नो योजना रहेको बताउँछन् । 

‘तानसेनको विकासमा हामीले प्रयत्न गर्दै आएका छौं, साथीहरूले यसअघि पनि प्रयत्न गर्नुभएको छ, अब तानसेललाई नयाँ उचाइबाट विकास गर्दै नमूना शहर बनाउने योजना छ,’ घिमिरेले भने । 

तानसेन नगरपालिका अन्तर्गत मदनपोखरामा जन्मेका घिमिरे लामो समयदेखि राजनीतिमा आबद्ध छन् । नेकपा एमाले पाल्पा कमिटीको तेस्रो कार्यकालको अध्यक्ष रहेका घिमिरेको चुनावी प्रतिस्पर्धा भने पहिलो हो । 

धनेन्द्र घिमिरे

‘तानसेनको विकासका लागि मसँग राजनीतिक भिजन र इच्छाशक्ति पनि छ, नगरको समृद्धि र विकासको यात्रालाई अगाडि बढाउने मेरो संकल्प हो,’ घिमिरेले भने, ‘मतदाताको प्रतिक्रिया सन्तोष सरलाई प्रतिस्पर्धामा नल्याएको भए हुन्थ्यो, धनेन्द्र सरलाई नै न्याय गर्नुपर्ला भन्ने पाएको छु,’ घिमिरेले भने । 

नेकपा एमाले २०५१ सालदेखि पाल्पाको पहिलो शक्ति भएकाले यसपटक पनि चुनाव जित्न कुनै अप्ठ्यारो नरहेको उनले दाबी गरे । 

के भन्छन् मतदाता ? 

केही वर्ष अघिसम्म चहलपहल हुने तानसेन बजार सुस्ताएकोमा मतदाताहरू चिन्तित छन् । १५ वर्ष अघिसम्म पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थीको घुइँचो हुन्थ्यो । त्यसले पाल्पाका घरमा भाडामा बस्ने विद्यार्थीकै कारण पनि व्यापार बढेको थियो । 

कुनैबेला विद्यार्थीलाई भाडामा लगाउने गरेका कोठामा माकुराले जालो लगाएका छन् । पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकेमात्र यहाँ चहलपहल बढ्ने र तानसेनले पुनर्जीवन पाउने उनीहरूको विश्वास छ ।

टीकाराम राना

पञ्चायत कालमा पाल्पामा प्रधानपञ्च बनेका टीकाराम राना (९०) अहिलेका नेताहरू नगरको विकास भन्दा पनि आफ्नै स्वार्थ पूरा गर्न लागेको आरोप लगाउँछन् ।

‘म नै मेयर हुनुपर्छ भन्ने प्रतिस्पर्धा छ, यो ठाउँको विकासमा उनीहरूको चिन्ता छैन,’ रानाले भने । 

ललितपुरबाट पाल्पामा गएर बसेको सिलवाल परिवारका सातौं पुस्ताका मनबहादुर सिलवाल तानसेनको चहलपहल सुस्त हुँदै गएकोमा नेताहरू चिन्तित नभएको गुनासो गरे । चहलपहल घट्दै गएकाले बसाइँसराइको क्रम बढेको उनी बताउँछन् ।

मनबहादुर सिलवाल बायाँ

‘यही क्षेत्र (कैलाशनगर डाँडा)मा सिलवालका एक दर्जनभन्दा बढी घर थिए, अहिले तीन घरमा सीमित छौं,’ लामो समय मिसन अस्पतालमा डेन्टिस पेशा गरेर अहिले अवकाश लिएका सिलवालले भने, ‘अवसर कम हुँदै गएपछि मानिसहरू यहाँबाट पलायन हुन थाले ।’

तानसेनमा ढाकाका कपडाको व्यापार गर्ने शशि केसी राजनीतिक दलका नेताहरूको अदूरदर्शिताका कारण तानसेन बजार सुक्दै गएको बताउँछन् ।

‘सिद्धबाबाको बाटोको विकल्प हुनासाथ तानसेनमा पर्यटक आउने वातावरण बन्छ, तर यहाँका नेताको बुद्धि फिरेन,’ दलहरूप्रति आक्रोश व्यक्त गर्दै केसीले भने । 

शशि केसी दायाँ

तानसेन बजारमा कस्मेटिक र फेन्सी व्यापार गर्दै आएकी इन्दिरा सिंह खानेपानी अहिले पनि तानसेनको मुख्य समस्या रहेको बताउँछिन् ।

‘पहिला भुल्के र सिस्ने खोलाको पानी आएको थियो, अहिले कालीगण्डकी नदीको पानी ल्याउन थालेपनि पानीको समस्या समाधान भएको छैन,’ सिंह भन्छिन्, ‘विशेषताविहीन बन्दै गएको तानसेनलाई पहिलाको जस्तै चहलपहल बनाउने मेयर हामीलाई चाहिएको छ ।’​

कस्तो छ राजनीतिक अंकगणित ?

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा तानसेनको मेयरमा एमालेका अशोक शाही विजयी भएका थिए ।

शाहीले १० हजार ४५० मत प्राप्त गर्दा नेपाली कांग्रेसका अजयमान कर्मचार्यले ८ हजार ६७ मत प्राप्त गरेका थिए ।

उपयमेयरमा एमालेकै लक्ष्मी पाठक विजयी हुँदा कांग्रेसकी लालकुमारी राना निकटतम् प्रतिद्वन्द्वी रहेकी थिइन् ।

नेकपा एमाले विभाजन भएको र गठबन्धन बलियो भएकाले आफूहरूले जित्ने कांग्रेसको दाबी छ । नेकपा एमालेले भने नेकपा एसको प्रभाव नरहेकाले यसपटक पनि फराकिलो मतान्तरसहित विजयी हुने दाबी गरेको छ । 

नेकपा एमाले तानसेन नगर कमिटीका अध्यक्ष गुराँस आत्रेय यसपटक पनि सहज जीत निकाल्ने दाबी गर्छन् ।

‘तानसेनमा एमालेको बलियो संगठन र पकड छ । प्राज्ञिक, राजनीतिक र सामाजिक क्षेत्रको उम्मेदवार भएकाले चुनाव जित्न सहज छ,’ आत्रेयले लोकान्तरसँग भने । 

गुराँस आत्रेय

तानसेन क्षेत्र नेकपा एसका प्रभावशाली नेता सोमप्रसाद पाण्डेले चुनाव जितेको क्षेत्र हो । गठबन्धनका तर्फबाट माओवादीकी प्रतीक्षा सिञ्जेली उपमेयरकी उम्मेदवार छिन् भने एमालेले शशि श्रेष्ठलाई उपमेयरको उम्मेदवार बनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्