२८ असार २०८३, आइतबार

जनकपुरमा धेरै उम्मेदवार, आकलन गर्न गाह्रो

बैशाख २४, २०७९
जनकपुरमा धेरै उम्मेदवार, आकलन गर्न गाह्रो

निर्वाचन नजिकिँदै जाँदा पनि जनकपुर उपमहानगरपालिकामा जीतहारको स्पष्ट तस्वीर अनुमान गर्न सकिएको छैन ।

५ दलीय गठबन्धनले जसपा नेता लालकिशोर साहलाई मेयरमा उम्मेदवार बनाएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी लगभग २ गुणा बढी मतले मेयरमा निर्वाचित भएका थिए । उनले कांग्रेसका मनोज साहलाई पराजित गरेका थिए ।

लालकिशोर अहिले जसपाबाट र मनोज स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका छन् । अघिल्लोपटक द्विपक्षीय भिडन्त भएको थियो भने यसपटक धेरै उम्मेदवार हुँदा परिस्थिति फेरिएको छ ।

जनकपुरधामको मेयरका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । जसमा लोसपाबाट मनोजकुमार चौधरी, नेकपा एमालेवाट शिवशंकर साह ‘हिरा’, जसपाबाट लालकिशोर साह, स्वतन्त्रवाट मनोज साह, बलराम महतो र जानकीराम साह रहेका छन् । मनोज साह कांग्रेसतर्फका मेयरको उम्मेदवार थिए तर ५ दलीय गठबन्धनमा जसपाको खातामा जनकपुरधाम परेपछि मनोज पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

कांग्रेस स्रोतका अनुसार मनोजलाई जनकपुरधामका कांग्रेसीको पनि सहयोग रहेको छ । यतिसम्म कि विमलेन्द्र निधिका अधिकांश व्यक्ति मनोजको प्रचारमा लागेका छन् । निधिलाई मनोजको राजनीतिक गुरुका रूपमा जनकपुरधाममा चिनिन्छ ।

जनकपुरधाम क्षेत्रमा एउटा संघीय र २ वटा प्रदेश सांसद जितेका लोसपा आफ्ना मेयरका उम्मेदवार मनोजकुमार चौधरीलाई जिताउन सक्रिय रूपमा लागेको छ । वरिष्ठ नेता राजेन्द्र महतोले आफैं २४ वैशाखदेखि जनकपुरधाममै बस्ने बताएका छन् । नेता महतोले आफ्नो पार्टीको जीत सुनिश्चित रहेको बताए ।

नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’का लागि एमाले नेता रघुवीर महासेठ र उनका धर्मपत्नी जुली महासेठ १ हप्तादेखि जनकपुरधाममा रहेका छन् । हिरा जनकपुर उद्योग वाणिज्य संघ र मधेश प्रदेश उद्योग वाणिज्य संघको अध्यक्ष रहिसकेका छन् ।

जसपाका उम्मेदवार लालकिशोर साह ५ वर्ष जनकपुरधामको मेयर भइसकेका छन् । नगरमा खासै काम नगरेकाले उनीसँग स्थानीय निकै असन्तुष्ट छन् ।

५ दलीय गठबन्धनको शनिवार जनकपुरधाममा सभा हुने भएपछि लालकिशोरको पक्षमा स्थिति बदलिने अनुमान गरिएको छ ।

स्वतन्त्र उम्मेदवार बलराम महतोले पनि प्रचारलाई तीव्रता दिएका छन् । ‘क’ वर्गका ठेकेदार रहेका महतो २ दर्जन गाडी लिएरै प्रचार गरिरहेका छन् । उनले आफ्ना कम्पनीका सबै कर्मचारीलाई अहिले प्रचारमै लगाएका छन् ।

अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको पनि निकै चर्चा रहेको छ । जानकीराम यसअघि जनकपुरधाम ७ का वडाध्यक्ष थिए । उनले नै तत्कालीन मेयर लालकिशोर साहले नगरमा गरेका विभिन्न अनियमितता तथा सफाइको मागसहित आन्दोलन शुरू गरेका थिए ।

यो आन्दोलनका कारण जानकीराम निकै लोकप्रिय भएका थिए । उनी लोसपावाट नेकपा एमालेमा प्रवेश गरेका थिए तर एमालेले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव लडेका हुन् ।

यसपालि ३ वटा पार्टीले मेयरमा महिला उम्मेदवार उठाएका छन् । तमलोपाले विभा ठाकुर, जनमत पार्टीबाट अनितादेवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलले उम्मेदवारी दिएकी छन । विभा मधेस आन्दोलनमा निकै सक्रिय रहेकी महिला नेतृ हुन् । उनले मनोनयन दाखिला दिनभन्दा २ दिनअघि लोसपा छोडी तमलोपामा प्रवेश गरेकी थिइन् ।

पार्टीभन्दा जातीय गणितले स्थानीय तहको चुनावमा काम गर्ने गरेको छ । जनकपुरधाममा साहुजीको मत रहेको छ । त्यसपछि ब्राह्मण, यादव, मुस्लिम मत रहेको छ । प्रतिस्पार्धामा देखिएका अधिकांश उम्मेदवार साह जातिकै देखिएका छन् । जसमध्ये सुडी जातिबाट स्वतन्त्र उम्मेदवारद्वय मनोज साह, बलराम महतो, जसपाका लालकिशोर साह उम्मेदवार रहेका छन् । कलवारवाट शिवशंकर साह ‘हिरा’ र मनोजकुमार चौधरी तथा तेलीबाट जानकीराम साह रहेका छन् ।

अधिकांश साहुजी जातिबाट उम्मेदवार भएका कारण अन्य जातिको जसको बढी मत आउँछ त्यो नै जित्ने जानकार बताउँछन् ।

लालकिशोर साहलाई ब्राह्मण, क्यास्थ, भूमिहार, राजपूत मात्र नभई साहुजीमा पनि निकै असन्तुष्टि देखिएकाले यादव र मुस्लिम जातिबाट मात्रै मत आउने सम्भावना रहेको छ । जसपा मत पनि ती जातिमा बढी देखिएको छ ।

गत स्थानीय तह निर्वाचनमा तत्कालीन राजपाले हात पारेको जीतलाई अपवाद मान्ने हो भने जनकपुरधाम उपमहानगरपालिका दलको आधिकारिक उम्मेदवारभन्दा स्वतन्त्रलाई फापेको इतिहास छ ।

२०४६ सालको जनआन्दोलनपछि पहिलोपटक २०४९ सालमा भएको स्थानीय तह निर्वाचनमा कांंग्रेसबाट बागी भएर चुनाव लडेका वृषेशचन्द्र लाल मेयर जितेका थिए । त्यतिबेला कांग्रेसबाट दिगम्बर राय र लाल मेयरका आकांक्षी थिए । कांग्रेसले रायलाई टिकट दियो । असन्तुष्ट बनेका लालले बागी उम्मेदवारी दिए । कांग्रेसका आधिकारिक उम्मेदवार रायले हार व्यहोर्नुपर्‍यो ।

प्रजातन्त्र पुनर्बहालीपछि लाल नै जनकपुरको पहिलो मेयर बन्न सफल भए । त्यसपछि भएको अर्को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट दामोदरप्रसाद उपाध्याय र बजरंगप्रसाद साह आकांक्षी थिए । उपाध्यायले टिकट पाएपछि साहले बागी उम्मेदवारी दिए । त्यो निर्वाचनमा साहले पञ्चायतकालमा दुईपटक प्रधानपञ्च बनिसकेका उपाध्यायलाई पराजित गरे ।

साहलाई जिताउनमा विमलेन्द्र निधिको ठूलो हात रहेको थियो । निधिका सबै निकटस्थ कार्यकर्ता उपाध्यायविरुद्ध साहलाई जिताउनमा लागेका थिए ।

स्वतन्त्रले जीतहात पार्ने इतिहास बोकेको जनकपुरधाममा फेरि एकपटक स्वतन्त्र उम्मेदवार हौसिएका देखिन्छन् । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्