२६ असार २०८३, शुक्रबार
स्थानीय चुनाव

कृष्णप्रसाद जसले मेयर जितेर पनि अबिर लाएनन्, विजय र्‍यालीमा सहभागी हुन पाएनन्

जेठ ४, २०७९
कृष्णप्रसाद जसले मेयर जितेर पनि अबिर लाएनन्, विजय र्‍यालीमा सहभागी हुन पाएनन्

कांग्रेसको गढको रुपमा चिनिने अर्घाखाँचीको सन्धीखर्क नगरपालिकामा नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । 

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ८०१ मतान्तरले पराजित गरेर श्रेष्ठ सन्धीखर्कको मेयरमा निर्वाचित भएका हुन् । 

श्रेष्ठले ११ हजार १३८ मत ल्याए भने गठबन्धनकी भण्डारीले ९ हजार ३३४ मत मात्र ल्याइन् । उपप्रमुखमा पनि एमालेकी मिश्रा आचार्य ९ हजार ६४६ मतका साथ विजयी हुँदा नेकपा माओवादी केन्द्रका राजेन्द्र भुसालले ९ हजार १६८ मत मात्र ल्याउन सके ।  

मेयरमा निर्वाचित श्रेष्ठले विजयी भएर पनि अबिर भने लगाउन पाएनन् । विजयी जुलुसमा पनि गएनन् । आमाको मृत्यु भएपछि श्रेष्ठ किरिया बसेका छन् । उनले किरियामै बसेको बेला मतदान गरेका थिए । 

श्रेष्ठकी आमा उमाकुमारी श्रेष्ठको वैशाख २६ गते ८६ वर्षको उमेरमा निधन भएको हो । आमाको निधन भएको ५ दिनका दिन वैशाख ३० गते अर्घाखाँची आवासीय मावि बेल्बाटिकाबाट मतदान गरेका थिए । 

यसअघि (२०७४) को पहिलो स्थानीय तह निर्वाचनमा कांग्रेसका कमलप्रसाद भुसालसँग १ हजार १०३ मतले पराजित भएका श्रेष्ठ ५ वर्षपछि त्यही नगरमा फराकिलो मतले विजयी भएका हुन् । 

निर्वाचित भएसँगै लोकान्तरसँगको कुराकानीमा श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता नगरबाट भइरहको तीव्र बसाइँसराइ रोक्ने भएको बताए । 

वैशाख ३० गते निर्वाचनका दिन मत हालेर फर्किएका कृष्णप्रसाद ।

‘विजय जुलुसमा सहभागी हुन पाइनँ । तर, अब जनताको मन र मुटुमा बसेर काम गर्नेछु,’ उनले भने, ‘मेरो पहिलो काम बसाइँसराइले नगरका ग्रामीण वस्तीहरू रित्तिएर खण्डहर भएका छन् । थोरै पैसा जोडिहाले बुटवल झर्ने प्रवृत्ति छ । यो कार्यलाई रोक्न म शिक्षा स्वास्थ्य, पूर्वाधारको विकास गरी बुटवल झरिहाल्नुपर्ने अवस्था अन्त्य गर्नेछु ।’

आफ्नो जीतलाई उनले जनताको रोजाइको रुपमा लिएका छन् । ‘कांग्रेसले अर्घाखाँचीमा सधैँ जनतालाई आशा मात्रै देखायो काम गरेन । अझै अहिले फेरि एमालेलाई सिध्याउन भनेर गठबन्धन गर्‍यो,’ उनले भने, ‘जिल्लामा जनता एमालेमा छन् । गठबन्धनको त झण्डा एकातिर नेता कार्यकर्ता अर्कोतिर भएका छन् ।’

श्रेष्ठको घर सन्धीखर्क वडा नम्बर २ चुत्राबेसीमा पर्छ । उक्त वडामा पनि एमालेले जीत निकालेको छ । उक्त वडामा एमालेका मोतिजंग रायमाझी निर्वाचित भएका छन् । सन्धीखर्कमा ३५ हजार मतदाता रहेकोमा २१ हजार ५८५ मत खसेको थियो । सन्धीखर्क एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीको गृहनगर पनि हो । 

श्रेष्ठ एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय सचिव हुन् । उनी दुई कार्यकाल उद्योग वाणिज्य संघ अर्घाखाँचीको अध्यक्ष र केन्द्रीय सदस्यसमेत भएका हुन् । 

उनी जिल्लामा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । अर्घाखाँचीमा विगतको निर्वाचनमा भन्दा धेरै राम्रो मतपरिणाम एमालेले निकालेको छ । 

जिल्लाका तीन वटा स्थानीय तहमा एमालेले जितेको छ । मालारानी गाउँपालिकामा दलबहादुर भट्टराई अध्यक्ष र उपाध्यक्षमा दीपा पोखरेल निर्वाचित भएका छन् । 

त्यस्तै पाणिनी गाउँपालिकामा टेकबहादुर न्यौपाने अध्यक्ष र नर्मदा पौडेल उपाध्यक्षमा निर्वाचित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्