१२ साउन २०८३, मंगलबार
स्थानीय चुनाव

प्रधानमन्त्रीदेखि पूर्वमन्त्रीहरूलाई आफ्नै ‘कोर एरिया’मा अविश्वास, देउवाको वडामै कांग्रेस पराजित

जेठ ४, २०७९
प्रधानमन्त्रीदेखि पूर्वमन्त्रीहरूलाई आफ्नै ‘कोर एरिया’मा अविश्वास, देउवाको वडामै कांग्रेस पराजित

स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेका छन् । 

चुनावको प्रारम्भिक नतिजाअनुसार राजनीतिक वृत्तमा सधैँ चर्चामा रहने अनुहारलाई यो चुनाव फापेको देखिन्न । मतपरिणामअनुसार उनीहरूको आफ्नै प्रभाव क्षेत्रमा जनविश्वास घट्दो देखाउँछ ।

सुदूरपश्चिममा आफ्नै ‘कोर’ क्षेत्रमा हार बेहोर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्वमन्त्री लेखराज भट्ट, रामजनम चौधरी, गौरीशंकर चौधरीलगायत छन् ।

देउवाको वडामै कांग्रेस पराजित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडा डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ हो, जहाँ नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार पराजित भए । सो वडामा नेपाली कांग्रेस बिपीका उम्मेदवार नरेश भण्डारी वडाध्यक्षमा निर्वाचित भएका छन् । 

वडाध्यक्षमा निर्वाचित भण्डारीले ६७३ मत र कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवाले ५४४ मत ल्याए ।

तर गन्यापधुरा गाउँपालिका अध्यक्षमा भने कांग्रेसका उम्मेदवार इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन् ।

गृहनगरमै लेखराजका भाइ पराजित

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री लेखराज भट्टको गृहनगरमा एमाले उम्मेदवारले पराजय भोग्नुपरेको छ । 

कैलालीको गोदावरी नगरपालिकामा एमालेले सचिव भटट्का भाइ गोकर्ण भट्टलाई मेयर उम्मेदवार बनाएको थियो । 

मेयरमा नेपाली कांग्रेसका वीरेन्द्र भट्ट विजयी भएका छन् । उनले लेखराज भट्टका सहोदर भाइ गोकर्णलाई ४ हजार २७७ मतान्तरले पराजित गरेका हुन् । 

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार मेयरमा निर्वाचित वीरेन्द्रले १५ हजार ५०१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गोकर्णले ११ हजार २२४ मतमा सीमित भए । 

३ महिने पार्टीले भत्कायो रामजनम र जनकराजको आधार इलाका

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रामजनम चौधरीको आधार इलाकालाई भर्खरै दर्ता भई चुनावमा होमिएको रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले भत्काएको छ ।

पूर्वमन्त्री चौधरीको घर रहेको जोशीपुर गाउँपालिका–४ को वडाध्यक्षमा रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका रामजनम चौधरी निर्वाचित भएका छन् । 

उनले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेर आफ्नो प्यानलसहित वडाध्यक्षमा विजयी भए । पूर्वमन्त्री चौधरीको घर यही वडामा छ । २०७४ को स्थानीय तहको निर्वाचनमा जोशीपुर गाउँपालिकामा कांग्रेसले जितेको थियो । 

त्यस्तै पूर्वराज्यमन्त्री रहेका नेपाली कांग्रेसका नेता जनकराज चौधरीको घर रहेको जोशीपुर गाउँपालिका ५ मा पनि नागरिक उन्मुक्ति पार्टीले नै जितेको छ ।

सो वडामा नेपाली कांग्रेसलाई २२६ मतले पराजित गर्दै नागरिक उन्मुक्ति पार्टीका अनरकुमार चौधरी विजयी भएका हुन् । 

वडा मात्रै होइन, कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिकाले नागरिक उन्मुक्ती पार्टीले लिड गरिरहेको छ । सो क्षेत्र अघिल्लो निर्वाचनमा रेशम चौधरी जितेको क्षेत्र पनि हो । 

हाल सो क्षेत्रमा अन्य दलको कन्तबिजोग छ । सो क्षेत्रबाट कांग्रेस नेता तथा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावल पनि प्रतिनिधित्व गर्छन् । 

गुमनाम गौरीशंकर

मन्त्री छँदा नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका पूर्व मन्त्री गौरीशंकर चौधरी स्थानीय तह निर्वाचनमा गुमनाम देखिए । उनको प्रभाव क्षेत्र कैलाली निर्वाचन क्षेत्र नं. ३ स्थित स्थानीय तहमा एमालेलाई निकै सकस छ । कैलारी गाउँपालिका–२ बसौटी घर भएका गौरीशंकरको वडामा कांग्रेसका उम्मेदवारले जीत हात पारेका छन् । 

लेखकको वडामा समाजवादीको झण्डा 

कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश लेखकको घर भएको कञ्चनपुरको एक वडामा एकीकृत समाजवादीले जितेको छ ।

जिल्लाको वेदकोट नगरपालिका–८ को वडाध्यक्षमा समाजवादीका वेदकोट नगर अध्यक्षसमेत रहेका महेशराज जोशी निर्वाचित भएका छन् । वेदकोटमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । 

गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलु बोहरालाई ११० मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्