
स्थानीय तह निर्वाचनको क्रममा विराटनगर महानगरमा भएको निर्वाचनमा अत्याधिक मत बदर भएको पाइएको छ ।
विराटनगर महानगरमा मत गणना चलिरहेको छ । अहिलेसम्मको गणनाको तथ्यांक अनुसार, अघिल्लो निर्वाचनमाभन्दा बढि मत विराटनगर महानगरमा बदर भएको छ ।
मुख्य निर्वाचन अधिकृतकाको कार्यालयका अनुसार ६२ हजार ४ सय ४२ मत गणना गर्दा मेयरमा १५ हजार ५ सय ३ मत बदर भएको छ । त्यस्तै, उपमेयरमा २३ हजार ९ सय ९९ मत बदर भएको छ ।
अघिल्लो निर्वाचनमा महानगरमा रहेको कुल मतदाता १ लाख १३ हजार ७६१ मध्ये ८० हजार ६ सय ८९ मत खसेको थियो । त्यसमध्ये, १९ हजार ४ सय १९ मत बदर भएको थियो ।
महानगरको मेयरमा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा, राप्रपाका प्रह्लाद साह, जनता समाजवादी पार्टी परित्याग गरी स्वतन्त्ररूपमा उमेश यादवलगायत १३ जना उम्मेदवार मेयरको प्रतिस्पर्धामा छन् ।
उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादव, एमालेकी शिल्पा निराला कार्की, राप्रपाकी बिन्दा लुइँटेल आचार्य, स्वतन्त्रमा माओवादी केन्द्रकी नमिता न्यौपाने, कांग्रेसकी गंगा सुवेदीलगायत १४ जना उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन् ।
विराटनगरमा उम्मेदवार नै नभएको चुनाव चिन्हमा धेरै मत आएको छ । ‘हामीले आयोगलाई जानकारी गराएका छौ’, मुख्य निर्वाचन अधिकृत भरत लम्सालले भने, ‘यसको तथ्याक भने हामी अन्तिममा सार्वजनिक गर्छौ ।’
उम्मेदवार नै नभएको चिन्हमा समेत मत आएकाले धेरै मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम बुढाथोकीले बताए ।
जसपा, माओवादी, एकिकृत समाजवादी लगायतका दलहरुले मेयर पदमा उम्मेदवारी दिएका छैनन् तर, उनीहरुको चुनाव चिन्हमा मेयरका लागि पनि मत आएको छ ।
त्यसैगरी, कांग्रेस, माओवादी र नेकपा एसले उपमेयरमा उम्मेदवारी दिएको थिएन । उनीहरुको चुनाव चिन्हमा पनि उपमेयरका लागि मत आएको छ ।
गठबन्धन भित्र खटपट तथा फरक–फरक चुनाव चिन्हमा मतदान गर्दा आफुलाई आउने मत समेत बिग्रिने डरले दलका प्रतिनिधिले आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्न लगाएको हुनसक्ने गठबन्धन भित्रकै दलका नेताहरू बताउँछन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा प्रदेश १ का १३७ पालिकामा ६ दशमलव ४४ प्रतिशत मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।
अघिल्लो निर्वाचनमा १३७ पालिकामा कुल २६ लाख ६५ हजार ८३३ मतदातामध्ये १९ लाख २० हजार ९०८ जनाले मतदान गरेका थिए ।
यस वर्षको चुनावमा विराटनगर महानगरमा रहेको कुल मतदाता १ लाख ३३ हजार १४२ मध्ये ६७ दशमलव ३५ प्रतिशत अर्थात् ८९ हजार ६ सय ७८ मत खसेको छ ।