०१ साउन २०८३, शुक्रबार
स्थानीय चुनाव

चुनावका ८ रोचक दृश्यः पति-पत्नी फरक दलबाट जितेकोदेखि ११औं पटकमा हार व्यहोरेकोसम्म

जेठ ६, २०७९
चुनावका ८ रोचक दृश्यः पति-पत्नी फरक दलबाट जितेकोदेखि ११औं पटकमा हार व्यहोरेकोसम्म

देशका अधिकांश स्थानीय तहको निर्वाचन मतपरिणाम आइसकेको छ । केही ठाउँमा मतगणना अझै जारी छ । 

हरेक वर्षको निर्वाचनका बेला रोचक दृश्यहरू हेर्न पाइन्छ । यस निर्वाचनमा पनि यस्तै रोचक दृश्यहरू देखिए ।  

कतै भाइलाई हराएर दाजु निर्वाचित भए भने कतै दाजुलाई हराएर भाइ । एउटै वडामा फरक पार्टीबाट श्रीमान–श्रीमती नै निर्वाचित भएका दृश्यदेखि २१ वर्षको उमेरमै गाउँपालिका हाँक्नेसम्म देखिए । 

फरक पार्टीबाट जनप्रतिनिधि बनेका श्रीमान-श्रीमती

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा फरक पार्टीबाट श्रीमान-श्रीमती वडा सदस्यमा निर्वाचित भएका छन् । 

उक्त गाउँपालिकाको वडा नम्बर ७ मा नेकपा एमालेबाट सन्दीप उपाध्याय र कांग्रेसबाट उनकी श्रीमती कमला उपाध्याय वडा सदस्यमा निर्वाचित भएका छन् । 

एमालेबाट खुला सदस्यमा सन्दीप ७५५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवबहादुर श्रेष्ठले ७१४ मत ल्याए ।

त्यसै गरी सन्दीपकी श्रीमती कमला पनि वडा नम्बर ७ बाटै महिला सदस्यमा विजयी भएकी छन् । नेपाली कांग्रेसबाट ७९२ मत ल्याएर उनी विजयी भएकी हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कमलादेवी बोकटीले ७२३ मत ल्याइन् । 

भाइलाई हराउँदै वडाध्यक्षमा दाइ विजयी 

इलामको रोङ गाउँपालिकामा भाइलाई हराउँदै दाइ वडाध्यक्षमा विजयी भएका छन् । 

नेपाली कांग्रेसका मनोहरि खड्काले आफ्नै भाइ मनकुमार खड्कालाई १२२ मतको अन्तरले पराजित गरेका हुन् ।  

मनोहरिले ६१० मत ल्याएर वडा नम्बर १ को वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

नेकपा एमालेबाट उम्मेदवार भएका भाइ मनले ४८८ मत मात्र ल्याए ।

बहिनी ज्वाइँलाई हराउने जेठान

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा आफ्नै बहिनी ज्वाइँलाई हराएर जेठान नगरप्रमुखमा निर्वाचित भएका छन् । गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ४ हजार ६३ मतको अन्तरले ज्वाइँ मदनसुन्दर (जगुलु) श्रेष्ठलाई पराजित गरेका हुन् । 

सुरेन्द्रले १५ हजार ९८ मत ल्याएर विजयी भए । मदनसुन्दरले ११ हजार ३५ मत मात्रै ल्याउन सके । 

२०७४ को निर्वाचनमा १४ हजार मत ल्याएर एमालेबाट नगरप्रमुखमा विजयी भएका मदनसुन्दर यसपटकको निर्वाचनमा भने आफ्नै जेठानसँग पराजित भए ।

११औं पटकमा भतिजसँग हारेका नरसिंह

लगातार १० पटक वडाध्यक्षमा चुनाव जितेका ललितपुरका नरसिंह व्यञ्जनकार ११औं पटकमा भतिजबाट पराजित भएका छन् । 

ललितपुर महानगरपालिका–१० को वडाध्यक्षमा उम्मेदवारी दिएका ८१ वर्षीय व्यञ्जनकारले ५४३ मत ल्याएर दोस्रो भए । 

कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका उनका भतिज रविनमान व्यञ्जनकारले ८२५ मत ल्याएका छन् ।

यसअघि नरसिंहले २०२९ सालमा पहिलोपटक वडाध्यक्ष जितेका थिए । त्यस वर्ष  उनले कांग्रेसको समर्थनमा उम्मेदवार भएका आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाललाई पराजित गरेका थिए । 

नरसिंहले २०४९ मा बाहेक अहिलेसम्म सबै चुनाव स्वतन्त्र उम्मेदवार बनेर जितेका हुन् ।

२०४९ सालमा उनलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको थियो । त्यतिबेला अन्य कुनै पार्टीले वडाध्यक्षमा उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएका थिए । 

२०५४ को चुनावमा उनलाई कांग्रेसले टिकट दिएन । त्यसपछि वडावासीले उनलाई स्वतन्त्र उम्मेदवार बनाए । त्यो चुनावमा नरसिंहबाहेक सबै उम्मेदवारको जमानत जफत भएको थियो । 

भाइहरू जिते, दाइहरू हारे !

एकअर्काको प्रतिद्वन्द्वी भएर स्थानीय तह निर्वाचनमा होमिएका सहोदर दाजुभाइबीचको प्रतिस्पर्धामा भाइहरू विजयी भएका छन् । लुम्बिनी प्रदेशका ३ वटा वडामा दाजुभाइबीच रोचक प्रतिस्पर्धा भएको थियो  । 

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, कोहलपुर नगरपालिकाको वडा नम्बर ३ र कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ७ मा दाजुभाइबीच प्रतिस्पर्धा भएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका–१ को वडाध्यक्षमा दाइलाई हराउँदै भाइले जीत हात पारेका हुन्  । नेकपा एमालेबाट उम्मेदवारी दिएका प्रमोद रिजाल ७८१ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए । 

रिजालका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विनोद रिजालले ५८१ मत प्राप्त गरे । विनोद प्रमोदका सहोदर दाजु हुन् । दोस्रो कार्यकालका लागि निर्वाचित भएका प्रमोद नगरको निवर्तमान प्रवक्ता समेत हुन् ।

‘वडामा गरेका राम्रा कामहरूको मूल्यांकन गरेर जनताले फेरि पनि मलाई जिताउनुभयो । हामीले आ–आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेकाले दाजुभाइको सम्बन्धमा कुनै वैमनस्यता छैन,’ उनले भने ।

बाँकेकै कोहलपुर नगरपालिका–३ मा सहोदर दाजुभाइ माधव रिजाल र तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुँदा भाइ माधव निर्वाचित भएका छन् । 

एमालेबाट उम्मेदवार बनेका माधवले नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका तारकेश्वरलाई ४०७ मतान्तरले पराजित गरी अध्यक्षमा चुनिएका छन् । १ हजार ३०७ मत प्राप्त गरी माधव विजयी हुँदा तारकेश्वरले ९०० मत प्राप्त गरेका छन् ।

माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष तथा नगरका प्रवक्ता हुन् । निर्वाचित भएपछि माधवले भने,  ‘हामी दाजुभाइबीच यसअघि पनि प्रतिस्पर्धा भएको थियो, अहिले पनि भयो । मनमुटाव पहिले पनि थिएन, अहिले पनि भएन ।’

पार्टीले अगाडि सारेपछि दाजुभाइ प्रतिस्पर्धाबाट पछाडि हट्ने कुरा नहुने माधवको भनाइ छ । अघिल्लो निर्वाचनमा पनि तारकेश्वर भाइ माधवसँग ६५ मतले पराजित भएका थिए  । 

कपिलवस्तुको वाणगंगा नगरपालिका–७ मा सहोदर दाजुभाइ विष्णु गिरी र नेत्र गिरीबीच प्रतिस्पर्धा हुँदा विष्णु निर्वाचित भएका हुन् । विष्णुले १ हजार ७५१ मत ल्याएर विजयी हुँदा नेत्रले जम्मा ६८५ मत मात्र ल्याउन सके । 

विष्णुका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुमार खड्काले १ हजार ३२० मत ल्याए । विष्णु एमालेबाट र नेत्र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट प्रतिस्पर्धामा थिए । दाजुभाइबीच चुनावी प्रतिस्पर्धा हुँदा आमाले कुन छोरालाई भोट हाल्ने भनेर धर्मसंकटमा परेको बताएकी थिइन् । 

२१ वर्षमै गाउँपालिका अध्यक्ष

पर्साको कालीकामाई गाउँपालिकामा २१ वर्षकै एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । 

जनता समाजवादी पार्टीका २१ वर्षीय वशिष्टकुमार कलवार गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् ।

३ हजार ७४३ मत ल्याएर उनी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ४२ वर्षीय अजय कुमारले ३ हजार ६२६ मत, नेकपा एमालेका राजेशकुमार चौरसिया १ हजार ३१७ मत ल्याएका छन् ।

काकालाई हराएर २२ वर्षकै उमेरमा गाउँपालिका अध्यक्ष

सर्लाहीको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षका राजाबाबु यादव निर्वाचित भएका छन् । पढ्ने उमेरमै आफ्नै काकालाई हराएर उनी गाउँपालिकाको अध्यक्ष बन्न सफल भएका हुन् । 

माओवादी नेता तथा पूर्व सांसद शिवजी यादवका छोरा भएकै कारण उनले गाउँपालिकामा माओवादी केन्द्रबाट टिकट पाएका थिए । बुबाको राजनीतिक विरासतको फाइदा उनलाई पुगेको छ । ४ हजार ८१ मत ल्याएर उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । 

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी उनका आफ्नै काकासमेत रहेका नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवले २ हजार ३९२ मत ल्याएका थिए  । त्यसै गरी स्वतन्त्रबाट के.एस. राहुल वर्माले १ हजार ४६९ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तमप्रसाद चौधरीले ९२१ मत र लोकतान्त्रिक समाजवादी पार्टीका मनिषकुमार मिश्रले ७५६ मत पाएका छन्  ।

पञ्चायतकालदेखि नहारेका गुमानसिंह

लमजुङको बेँसीशहर नगरपालिकामा एमालेले प्रमुख र उप्रमुख दुवै पदमा जितेको छ । एमालेका गुमानसिंह अर्याल प्रमुखमा र पदमा गुरूङ उपप्रमुखमा विजयी भएका हुन् । 

अर्यालले कांग्रेसका श्रीकान्त घिमिरेलाई २ हजार ८ मतको अन्तरले पराजित गरेका हुन् । अर्यालले ९ हजार ४७९ मत ल्याउँदा घिमिरेले ७ हजार ४७१ मत मात्रै पाएका थिए । 

बेँसीशहरमा कांग्रेस र माओवादी केन्द्रले एमालेविरूद्ध चुनावी तालमेल गरेका थिए । एमालेले गठबन्धनलाई पराजित गरेको हो  । 

अर्याल २०४३ सालमा पहिलो पटक बेँसीशहर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । पञ्चायती शासनविरुद्ध जनपक्षीय उम्मेदवार बनेका अर्याल बेँसीशहर गाविसको प्रधानपञ्च थिए ।

२०५४ सालमा एमालेबाट उम्मेदवार बनेका उनी फेरि गाविस अध्यक्ष निर्वाचित भएका थिए । उनलाई एमालेले २०७४ को स्थानीय निर्वाचनमा वेँशीसहर नगरपालिकाको मेयरको टिकट दिएको थियो । त्यसबेला पनि उनले ७ हजार ६२४ मत ल्याएर विजयी भएका थिए  । त्यसबेला कांग्रेस सभापतिसमेत रहेका भेषबहादुर पौडेल पराजित भएका थिए ।

अर्यालले २०५४ को निर्वाचनमा भेषबहादुरका बुबा तिलकबहादुर पौडेललाई पराजित गरेका थिए । बाबुछोरालाई हराएर बेँसीशहरको जनप्रतिनिधिमा निर्वाचित भएको भन्दै अर्यालले चर्चा बटुलेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्