३१ जेठ २०८३, आइतबार

दलीय घेरा तोड्दै धनगढी उपमहानगरमा हमालको उदय, फराकिलो मतान्तरणले विजयी

जेठ ८, २०७९
दलीय घेरा तोड्दै धनगढी उपमहानगरमा हमालको उदय, फराकिलो मतान्तरणले विजयी
फाइल फोटो

राजनीतिक दलीय किल्ला भत्काउँदै धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको उदय भएको छ ।

सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले हराउँदै धनगढी उपमहानगरपालिकाको मेयर हमालमा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका निवर्तमान मेयर नृपबहादुर वडलाई. १२ हजार ४८ .मतले हराउँदै उनी विजयी भएका छन् । हमालले २६ हजार ८६५ मत पाएका छन् भने वडले १४ हजार ८१७ मत पाए । नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्द ९ हजार ११५ मतका साथ तेस्रो स्थानमा खुम्चिन पुगेका छन् ।

गोपाल हमाल

उपमेयरमा नेकपा एमालेकी कन्दकला राना विजयी भएकी छिन् । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी शान्ति अधिकारी क्षेत्रीलाई २ हजार ८०९ मतले पराजित गर्दै उनी विजयी भएकी छन् । रानाले १५ हजार ४७९ मत प्राप्त गरेकी छन् भने अधिकारीले १२ हजार ६७० मत पाएकी छन् ।

नन्दकला राना

९३ हजार १५१ मतदाता रहेका धनगढीमा जम्मा ६८.०४ प्रतिशत अर्थात् ६३ हजार ७१५ मत खसेको थियो ।

यसअघि को–को जिते धनगढी क्षेत्रमा ?

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा जीत हासिल गरेको थियो । २०५४ सालमा एमाले विजयी भएको थियो ।

धनगढी उपमहानगरपालिका सहितको तत्कालीन ३ नम्बर क्षेत्रमा २०४८ सालको आम निर्वाचनमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा एमालेले जितेको थियो ।

२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः कांग्रेसले जीत हासिल गरेको थियो । २०६२/०६३ को दोस्रो जनआन्दोलनपछिको पहिलो संविधानसभा सदस्य निर्वाचन २०६४ मा धनगढीसहितको ६ नम्बर क्षेत्रबाट माओवादी केन्द्र विजयी भएको थियो ।

संविधान सभाको दोस्रो निर्वाचन २०७० मा ६ नम्बर क्षेत्रबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका थिए । निर्वाचनमा देउवा डडेल्धुराबाट पनि निर्वाचित भएका थिए ।

निर्वाचनपछि देउवाले कैलाली–६ छाडेपछि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसबाट पुस्करनाथ ओझा विजयी भएका थिए । २०७४ सालको संघीय निर्वाचनमा धनगढी सहितको ५ नम्बर क्षेत्रबाट एमालेका नारदमुनि राना विजयी भएका थिए ।

२०७४ सालको मत परिणाम

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका वड १४ हजार ३२४ मत ल्याई बिजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी हालका नवनिर्वाचित मेयर हमालले ११ हजार ५२७ मतमा चित्त बुझाउनुपरेको थियो । नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसमझ राना १० हजार २०९ मत ल्याउँदै तेस्रो स्थानमा थिए भने एमालेका उम्मेदवार दुर्गा जोशी ९ हजार ९४६ मतमा सीमित भएका थिए । राप्रपाका विष्णु शाहले ८२८ मत, मधेशी जनाधिकार फोरमका प्रेमकुमार बिसीले ४५९ मत र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २१६ मत प्राप्त गरेका थिए ।

अघिल्लो निर्वाचनमा धनगढीका जम्मा मतदाता ७६ हजार ४३० जना थिए । त्यसताका ८७.११ प्रतिशत मत खसेको थियो भने २ं.११ प्रतिशत मत बदर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्