
पाल्पामा सुख्खा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरूद्व भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत पर्ने तिनाउ गाउँपालिका वडा नम्बर– ५ कालीमाटीमा सुख्खा पहिरो खसेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी वीरेन्द्र थापाले दिउँसो दुई बजेदेखि झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको बताए ।
पहिरो झरेको खण्डमा दुवैतिरबाट एक्जाभेटर प्रयोग गरेर पहिरो हटाउने काम भइरहेको उनले बताए ।
सडक अबरुद्ध हुँदा बुटवलबाट पहाडी जिल्ला, गुल्मी, पाल्पा, अर्घाखाँची, बाग्लुङ, पोखरा र स्याङजा जाने यात्रु र मालबहाक गाडी झुम्सामै रोकिएका छन् । त्यस्तै, बुटवल आउँदै गरेका गाडीहरु पाल्पाको डुम्रेमा रोकिएका छन् ।
यो ठाउँमा पटक–पटक पहिरो खसेर सडक अवरूद्ध हुने गरेको छ ।


