०५ साउन २०८३, मंगलबार

पोखरामा कांग्रेसले २२ वडाध्यक्ष जित्दा गठबन्धनबाट उठेका माओवादीका सबै उम्मेदवार पराजित

जेठ १०, २०७९
पोखरामा कांग्रेसले २२ वडाध्यक्ष जित्दा गठबन्धनबाट उठेका माओवादीका सबै उम्मेदवार पराजित
पोखरा महानगरपालिका-१७ को वडाध्यक्षमा विजयी नेकपा (एमाले)बाट उम्मेदवार राधिका शाही योगी र अन्य सदस्यहरू सोमवार विजयी र्‍यालीमा सहभागी हुँदै । पोखराको ३३ वडामा उनी एक मात्रै निर्वाचित महिला वडाध्यक्ष हुन् । तस्वीर: जमुना वर्षा शर्मा, रासस

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका माओवादी उम्मेदवार सबै पराजित भएका छन् । 

महानगरमा ३३ वटा वडामध्ये १८ वटा वडामा कांग्रेस वडाध्यक्ष, माओवादी वडा सदस्य र केही वडामा एकीकृत समाजवादी वडा सदस्यसहितको प्यानल नेकपा एमालेसँग प्रतिस्पर्धा गरेको थियो । 

ती सबै वडामा प्रायः कांग्रेसले वडाध्यक्षमा जितेको छ । तर, सदस्य पदका माओवादी उम्मेदवार भने पराजित भएका छन् । 

पोखरा महानगरपालिकाको प्रमुख र उपप्रमुखसहित वडा ६, ८, १४, १५, १६, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २९, ३०, ३१ र ३३ नम्बरमा गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गरेको हो । 

प्रमुखमा एकीकृत समाजवादी र उपमेयर तथा वडाध्यक्षहरू कांग्रेसको भागमा परेको थियो । वडा सदस्यहरू माओवादीको भागमा पर्ने गरी चुनावी तालमेल भएको थियो । 

गठबन्धनबाट कांग्रेसले जितेका प्रायः वडामा सदस्यमा भने धेरै नेकपा एमाले र केही एकीकृत समाजवादीका उम्मेदवार उच्च मतान्तरले विजयी भएका छन् । त्यही माओवादीका उम्मेदवारहरूले पराजय भोग्नु पर्‍यो । यससँगै अब बन्ने पोखरा महानगरपालिका नगरपरिषद्मा नेकपा एमालेको बहुमत पुगेको छ । 

यससँगै माओवादी कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि पोखेका छन् । 

गण्डकी प्रदेश सांसद माओवादी नेता दीपक कोइरालाले भने कसरी भोट हाल्ने भन्ने ज्ञानको कमीका कारण यस्तो भएको बताए । ‘पूर्वाग्रह होइन बरु कसरी भोट हाल्ने भन्ने ज्ञानको कमीका कारण माओवादीको यस्तो नतिजा आएको हुन सक्छ,’ उनले लोकान्तरसँग भने । 

पोखरा महानगरपालिका मतगणना करीब–करीब सम्पन्न भएको छ । ३३ मध्ये बाँकी रहेका ३ वटा वडाको मतगणना जारी छ । 

मतगणना सम्पन्न भएका ३० वटा वडामध्ये कांग्रेसले २२ वटामा वडाध्यक्ष र एमालेले ८ वटाको वडाध्यक्ष जीतेको छ । 

अहिले मत गणना जारी रहेका वडामा पनि एउटा वडामा एमालेको अग्रता छ । अरुमा कांंग्रेसको अध्यक्षमा अग्रता भए पनि सदस्यमा एमालेकै अग्रता छ । नगरपरिषद्मा उपप्रमुखसहित १९ जना एमाले र २२ जना कांग्रेससहितको गठबन्धन सदस्य आउने लगभग पक्का भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्