
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेड बीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता भएपश्चात दुईवर्ष सेवाअवधि पूरा गरेका पुनर्बीमा कम्पनीका कर्मचारीहरूलाई पुनर्बीमाको सिफारिसमा अधिकतम १५ लाख रुपैयासम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ ।
हाल बैंकको आधार दर ६.९७ प्रतिशत रहेको छ ।
सम्झौता अनुसार पुनर्बीमा कम्पनीको कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ ।
यस सम्भौता पश्चात दुवै पक्ष लाभान्वित भई पुनर्बीमाका कर्मचारीहरूको सम्मानपूर्वक जीवनयापन गर्नमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यो सम्झौताले दुई सरकारी संस्थाको व्यवसाय विस्तारमा सहयोग पुग्ने बताए ।
पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले दुई संस्थाबिचको सम्बन्धलाई व्यवहारीक र बस्तुपरक बनाउदै लैजाने बताए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कार्यक्रमको विषयबस्तु बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा बैंकका विभागीय प्रमुख राज्य लक्ष्मी खड्गी, पुनर्बीमा कम्पनीका बरिष्ठ प्रबन्धक रन्जना थकुलवट, प्रबन्धक सरोज कोइराला, थापाथली शाखाका शाखा प्रबन्धक बिक्रममान श्रेष्ठ लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।