०५ साउन २०८३, मंगलबार

मंकीपक्स रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह, हटलाइन नम्बरमा गर्नुहोस् फोन

मंकीपक्स रोगप्रति सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह, हटलाइन नम्बरमा गर्नुहोस् फोन

विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिममा नेपाल पनि रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेका बताए । उनले नेपालमा संक्रमण नदेखिए पनि सचेत हुनुपर्ने बताए । यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो । 

संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनका र्‍याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामग्रीबाट सर्ने गर्दछ । श्वास नली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अंगबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्दछ । बाँदर, मुसा, लोखर्के लगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ । 

ज्वरो आउनु, सामान्य ज्वरो शुरू भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उपकिनुजस्ता यस रोगमा लक्षण देखिन्छ । टाउको, ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु, लक्षण १४–२८ दिनसम्म रहन सक्छ र सामान्यता आफैं हराउने गर्दछ ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा संक्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने मन्त्रालयले जनाएको छ । 

मंकीपक्सबाट बच्नका लागि मंकीपक्सको शंका वा पुष्टि  भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पीपीई लगाउने, नियमितरूपमा साबुन पानीले हात धुने, मरेका वा बिरामी जनवारको सम्पर्कमा नजाने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाडा तातो पानीले धुने, संक्रमितको सम्पर्कमा आएका सहत र स्थान निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने गर्नु पर्दछ ।

मन्त्रालयले ज्वरो आएको १ देखि ३ दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा मन्त्रालयको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्