१० साउन २०८३, आइतबार
नेपाली सिरियल

‘भुन्टी’देखि ‘सक्किगोनि’सम्मले युट्युबमा पाउँछन् लोभलाग्दो भ्युज

जेठ १४, २०७९
‘भुन्टी’देखि ‘सक्किगोनि’सम्मले युट्युबमा पाउँछन् लोभलाग्दो भ्युज

एक समय थियो सिरियल हेर्नका लागि टेलिभिजनको विकल्प थिएन । सिरियलका पारखीहरूलाई प्रसारण हुने दिन, समय कण्ठस्थ हुन्थ्यो । टेलिभिजन पनि सीमित घरमा हुन्थे । 

सिरियल आउने दिन टोलभरमा मानिसहरू जम्मा भएर टेलिभिजनमा सिरियल हेर्थे । ‘हिजोआजका कुरा’ होस् वा ‘तीतो सत्य’ यी सिरियल कुनै बखत निकै चर्चित थिए । ‘जिरे खुर्सानी’ होस् वा ‘मेरी बास्सै’ यी सिरियलले पनि निकै लोकप्रियता कमाएका थिए ।

यीमध्ये अहिले ‘मेरी बास्सै’ मात्रै नियमित प्रसारणमा छ । अन्य थुप्रै नयाँ सिरियलहरू पनि प्रसारण हुँदै आएका छन् तर अहिले हिजोको जस्तो सिरियल हेर्न टेलिभिजनको अगाडि कुरेर बसिरहनुपर्ने अवस्था भने छैन । प्रविधिको विकाससँगै अहिले दर्शकहरू युट्युबमा चाहेको समयमा चाहेकै सिरियल हेर्न सक्छन् । 

केही सिरियलहरू युट्युबकै लागि समेत निर्माण हुँदै आएका छन् । पछिल्ला समय प्रसारणमा रहेका थुप्रै सिरियलहरू छन्, तीमध्ये केहीले दर्शकमाझ राम्रो छाप छाड्न समेत सफल छन् । ती सिरियलले आफ्ना नियमित दर्शक बनाउन सफल हुँदै युट्युबमा सार्वजनिक भएको छोटो समयमै लाखौं भ्युज पाउने गरेका छन् । युट्युबमा सर्वाधिक भ्युज पाउँदै आएका नेपाली सिरियलहरू यसप्रकार छन् –

‘सक्किगोनि’

नेपाली दर्शकमाझ सर्वाधिक लोकप्रिय सिरियल हो ‘सक्किगोनि’ । हरेक बिहीवार राति हिमालय टीभीमा प्रसारण हुँदै आएको यस कमेडी सिरियललाई दर्शकले निकै रुचाउँदै आएका छन् । टीभीमा प्रसारणपश्चात ‘जेपीटी क्रियसन अफिसियल’ नामक युट्युबमा सार्वजनिक हुने सिरियलले निकै राम्रो भ्युज पाउने गरेको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबमा १० लाख बढी भ्युज यो सिरियललाई मिल्ने गरेको छ । 

अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ले यस सिरियलको लेखन एवं निर्देशन गर्दै आएका छन् । ‘भद्रगोल’ सिरियलबाट छुट्टिएपछि अर्जुन घिमिरे र कुमार कट्टेलको टीमले ‘सक्किगोनि’ शुरू गरेका थिए । अहिले सिरियल सिजन–२ को ७० भागसम्म प्रसारण भइसकेको छ । सिरियलमा ‘पाँडे’ र ‘जिग्री’का अलावा संजिता पाण्डे, कविराज भाम, रश्मी पाण्डे, कमलमणि नेपाल, दीपक आचार्य, सागर लम्साल, हरि निरौला, प्रियना आचार्य, सितादेवी घिमिरे लगायतको अभिनय रहँदै आएको छ । सिरियलका प्रायः भागले युट्युबमा ३० लाखभन्दा माथि भ्युज पाएका छन् ।

‘भुन्टी’ र ‘कान्छी’

‘भुन्टी’ र ‘कान्छी’ युट्युबमा निकै हिट सिरियल मानिन्छन् । यद्यपि यी दुवै सिरियल टेलिभिजनमा भने प्रसारणमा आउँदैनन् । यी दुवै सिरियललाई आशा खड्काले लेखन, निर्माण तथा निर्देशन गर्दै आएकी छन् । विगतदेखि नै दुवै सिरियलले युट्युबमा छोटो समयमै निकै लोभलाग्दो भ्युज पाउँदै आएका हुन् ।

‘भुन्टी’ हालसम्म १११ भाग प्रसारणमा आइसकेको छ भने ‘कान्छी’ ९९ भाग प्रसारणमा आइसकेको छ । सार्वजनिक भएको २४ घण्टा नबित्दै यी दुवै सिरियलले १० लाख बढी भ्युज पाएका हुन्छन् । सार्वजनिक भएकामध्ये अधिकांश भागले ३० लाखभन्दा बढी भ्युज पाएका छन् । दुवै सिरियलमा आशा खड्का शीर्ष भूमिकामा प्रस्तुत हुँदै आएकी छिन् । उनले ‘भुन्टी’ सिरियललाई ‘सुकुमाया टीभी’ र ‘कान्छी’लाई ‘कान्छी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएकी छन् ।

‘जुठे’

प्रसारणको छोटो समयबाटै दर्शकको मन जितेको सिरियल हो ‘जुठे’ । सामाजिक कथा प्रस्तुत गर्दै आएको सिरियल हिमालय टेलिभिजनमा बुधवार राति प्रसारण हुँदै आएको छ । सिरियलको हालसम्म ६१ भाग युट्युबमा सार्वजनिक गरिएको छ । मरिचमान श्रेष्ठ ‘बल्छी धु्रबे’ र राजु पौडेल ‘राजु माष्टर’को संयुक्त लेखन तथा निर्देशन रहने सिरियलको युट्युबमा सार्वजनिक हरेक भागले लोभलाग्दो भ्युज पाउँदै आएका छन् । सिरियलमा मरिचमान र राजुबाहेक रवी गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा, सरिता ढुंगाना लगायतको अभिनय रहँदै आएको छ । सिरियल राजु पौडेलको ‘मास्टर टीभी’ नामक युट्युब च्यानलमा सार्वजनिक हुँदै आएको छ ।

‘हल्का रमाइलो’

मरिचमान श्रेष्ठ ‘बल्छी धु्रबे’ र राजु पौडेल ‘राजु मास्टर’ले संयुक्त रूपमा ‘जुठे’सँगै ‘हल्का रमाइलो’ सिरियलको पनि लेखन एवं निर्देशन गर्दै आएका छन् । आइतवार राति हिमालय टीभीमा प्रसारण हुने ‘हल्का रमाइलो’ सिरियल पनि निकै लोकप्रिय मानिन्छ । यो कमेडी सिरियलमा मरिचमान र राजु नै शीर्ष भूमिकामा प्रस्तुत हुँदै आएका छन् । उनीहरूबाहेक शारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, रजनी गुरुङ, ईष्टु कार्की लगायतका कलाकारहरूको सिरियलमा अभिनय रहँदै आएको छ । यो सिरियल युट्युबमा भने मरिचमानको ‘बल्छि धु्रबे’ मार्फत सार्वजनिक हुँदै आएको छ । १३२ भागसम्म सार्वजनिक यस सिरियलका हरेक भागले लाखौं भ्युज पाएका छन् । 

‘गाह्रो छ हो’ 

‘गाह्रो छ हो’ पनि अर्को हिट नेपाली सिरियल हो । एपीवान टेलिभिजनमा सोमवार राति प्रसारण एवं ‘भटभटे माइला’ युट्युबमार्फत सार्वजनिक हुँदै आएको ‘गाह्रो छ हो’लाई पनि दर्शकले निकै रुचाउँदै आएका हुन् । बेगम नेपाली र रियाशा दाहालको संयुक्त लेखन रहेको यस कमेडी सिरियललाई मनराज श्रेष्ठले निर्देशन गर्दै आएका छन् ।

सिरियलमा बेगम र रियाशाबाहेक सुशील पोखरेल, अंशु थापा, मनराज श्रेष्ठ, विनोद राई, राजकुमार देवकोटा, करुणा श्रेष्ठ लगायतको अभिनय रहँदै आएको छ । सिरियल भाग ९९ सम्म प्रसारणमा आइसकेको छ । अधिकांश भागको युट्युबमा भ्युज लाखौं देखिन्छ ।

यीबाहेक ‘मेरी बास्सै’ सिरियलले पनि युट्युबमा राम्रै भ्युज पाउँदै आएको छ । यद्यपि पहिलेको जस्तो क्रेज भने देखिँदैन । ‘भद्रगोल’ सिरियलको भ्युज पनि पहिले जस्तो गएको छैन । रोकिएको ‘गोलमाल’ सिरियल फेरि प्रसारणमा आए पनि अपेक्षित भ्युज पाउन सकिरहेको छैन । 

‘हर्के हवल्दार’, ‘अति भो’ लगायतका सिरियलको भ्युज पनि अपेक्षित देखिँदैन । पछिल्लो समय प्रसारणमा आएको सिरियल ‘बिर्खे’, ‘ख्यालठट्टा’को भ्युज पनि खासै राम्रो छैन । युट्युबकै लागि पनि केही सिरियल निर्माण हुँदै आएका छन् । यद्यपि केही समय निर्माण हुने र बन्द हुने सिरियलको संख्या पनि निकै धेरै हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्