२३ असार २०८३, मंगलबार

‘नेपाल लोकस्टार–२’को डिजिटल अडिसन चल्दै, निर्णायकमा कुमार बस्नेतदेखि ज्योति मगरसम्म

‘नेपाल लोकस्टार–२’को डिजिटल अडिसन चल्दै, निर्णायकमा कुमार बस्नेतदेखि ज्योति मगरसम्म

लोकसंगीतमा आधारित नेपालको पहिलो रियालिटी शो ‘नेपाल लोकस्टार’को दोस्रो सिजन छिट्टै प्रशारण हुने तयारीमा छ ।

हिमालय टेलिभिजनले उत्पादन र प्रशारण गर्न लागेको शोको केही दिनयता डिजिटल अडिसन चलिरहेको छ । शोमा प्रतिस्पर्धा गर्न चाहनेले घरमै बसेर अडिसन दिन सक्नेछन् । 

डिजिटल अडिसनका लागि हिमालय टेलिभिजनको वेवसाइट एपमा अडिसन वटम क्लीक गरी लोकस्टारको अडिसन पेजमा जानुपर्नेछ । त्यहाँ आफ्नो व्यक्तिगत विवरणहरू भरी आफूले गाएको गीतको क्लीप अपलोड गरी सबमिट गर्नुपर्नेछ । 

प्रारम्भिक छनोटमा पर्ने प्रतियोगीलाई लोकस्टार निर्माण टिमले फोनमार्फत अगाडिको प्रक्रियाको जानकारी दिनेछ । एपबाट अडिसन दिने कठिनाई भए प्रतियोगीतहरूले आफ्नो विवरणसहित गीतको भिडियो क्लीप सिधै लोकस्टारको मोबाइल नम्बर ९८०१२३७८८० मा भाइबर वा ह्वाट्सएपमार्फत पठाउन पनि सकिने जनाइएको छ । शोको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै देश तथा विदेशका कन्सर्ट र चर्चित संगीतकार तथा एरेन्जरसँग गीत रेकर्डको अवसरसमेत पाउनेछन् । 

निर्णायकमा कुमार–कुलेन्द्रदेखि रामजी–ज्योतिसम्म

‘नेपाल लोकस्टार’को दोस्रो सिजनका लागि चारजना निर्णायक –जज)हरू तय गरिएको छ । जसमा लोकगायक कुमार बस्नेत, रामजी खाँड, कुलेन्द्र विश्वकर्मा र लोकगायिका ज्योति मगर रहने भएका छन् । 

यीमध्ये रामजी पहिलो सिजनमा पनि निर्णायकमा थिए भने कुमार, कुलेन्द्र र ज्योतिलाई दोस्रो सिजनको निर्णायकका रुपमा लिइएको हो ।

‘नेपाल लोकस्टार सिजन २’मा संगीत निर्देशकको रुपमा संगीतकार तथा एरेन्जर आशिष अविरल अनुबन्धित भएका छन् । उनले प्रतिस्पर्धीहरूको संगीत कौशल निखार्न सहयोग गर्ने जनाइएको छ । ‘नेपाल लोकस्टार’को पहिलो सिजनमा रोल्पाका शनि विश्वकर्मा विजेता बनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्