२९ असार २०८३, सोमबार

‘ब्लड क्यान्सरको उपचार नेपालमै हुन्छ, निराश हुनुपर्दैन’

‘ब्लड क्यान्सरको उपचार नेपालमै हुन्छ, निराश हुनुपर्दैन’
प्रतीकात्मक तस्वीर ।

ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरूले निराश हुनु नपर्ने बताएका छन् ।

आइतवार वीर अस्पतालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरूले ब्लड क्यान्सरको उपचार सर्वसुलभ हुने भएकाले ब्लड क्यान्सर हुँदैमा आत्तिनु नपर्ने बताएका हुन् । 

कार्यक्रममा बोल्दै वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा. मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनु नपर्ने बताए । उनले अहिले धेरै प्रकारको टेक्नोलोजी र विज्ञहरू आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए । 

त्यस्तै भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेलले  क्यान्सरका धेरै औषधिहरू निःशुल्क पाइने गरेको तर यसको जनतामाझ पुर्‍याउने कुरामा कमजोरी रहेको बताए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि ब्लड क्यान्सर भएर निको भएकोले ब्लड क्यान्सर निको हुनेमा दुई मत नरहेको बताएका हुन् । 

त्यस्तै भारतस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका हेमाटो–अंकोलोजी एण्ड बोनम्यारो ट्रान्सप्लान्टका निर्देशक डा. दिनेश भुरानीले क्यान्सरका सबै बिरामी भारत गएर उपचार गर्न नसक्ने भएकोले नेपालमै आफू आएर निःशुल्क उपचार गर्ने गरेको बताए । 

उनले बिस्तारै क्यान्सरको उपचार नेपालमा सहज र सुलभ हुँदै जाने बताए । उनले दुई वर्ष यता कोरोनाका कारण राम्रोसँग काम गर्न नपाएको र अब नेपालकै स्थानीय सिस्टमलाई विकास गर्न आवश्यक रहेको बताए । 

हेमाटोलोजिस्ट डा.निरजकुमार सिंहले वीर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट बाहेकका सबै उपचारहरू गरिरहेको बताए । उनले जुनसुकै ब्लड क्यान्सरसम्बन्धी जुनसुकै उपचार समयमै भए निको हुने बताए । उनले सरकारलाई ब्लड क्यान्सरसम्बन्धी विशेष सेवा दिनका लागि घच्घच्याएर सहज उपचारको पहल गर्नुपर्ने बताए । 

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा ब्लड क्यान्सर उपचारको लागि स्तरोन्नति गर्ने काम भइरहेको बताए । उनले वीर अस्पताललाई सेन्टर एक्सेलेन्स हुने गरेर काम शुरू भएको र वीर अस्पताललाई नेपाली नागरिकको अस्पताल, विपन्नको अस्पताल बनाउने काम भइरहेको बताए । 

क्यान्सर पीडित डा. प्रेम दंगालले टेक्नोलोजीको सिस्टम विकास भइसकेकोले अबका दिनमा ब्लड क्यान्सर भएरै मरिन्छ भन्ने सोच्न नहुने बताए । 

त्यस्तै क्यान्सरपीडित रुबी क्षेत्रीले स्वास्थ्यमा सरकारले राजनीति गर्नु नहुने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्