०१ साउन २०८३, शुक्रबार
माल पाएर चाल नपाएपछि

उपत्यकामा फोहोरको पहाड थुप्रिँदा त्यसबाट ग्यास निकाल्ने 'मशिन' खिया लागेर अलपत्र [भिडियो]

असार ९, २०७९
उपत्यकामा फोहोरको पहाड थुप्रिँदा त्यसबाट ग्यास निकाल्ने 'मशिन' खिया लागेर अलपत्र [भिडियो]

एकातिर फोहोर व्यवस्थापनको चुनौती र अर्कातिर ग्यासको बढ्दो मूल्यका कारण आमसर्वसाधारण मारमा परिरहेका बेला सानो परिमाणमा भने पनि यी दुवै समस्या न्यूनीकरणमा काम आउने एउटा मशिन भक्तपुरमा झण्डै एक दशकदेखि बिग्रिएर अलपत्र छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिकामा जैविक फोहोरबाट ग्यास र मल उत्पादन गर्न भन्दै सीड नेपाल नामक संस्थाको टेक्निकल सपोर्टमा भारतबाट ल्याइएको पोर्टेबल बायो ग्यास प्लान्ट गट्ठाघरको सैनिक ब्यारेकअगाडि १० वर्षदेखि अलपत्र परेको हो ।

नेदरल्यान्ड्सको टेक्नोलोजी जडित यो मशिनले तरकारीजन्य कुहिने फोहर, भान्छाबाट निस्कने अन्य प्रकृतिका कुहिने फोहर र मिठाइ पसलको फोहोरबाट दैनिक ५ केजी ग्यास उत्पादनका गर्ने गरी सन् २०१० मा स्थापना भएको थियो । मशिन २ वर्षमात्र सञ्चालन भएर अलपत्र परेको हो ।

दैनिक २०० केजी कुहिने फोहोरबाट ५ केजी ग्यास र मल उत्पादन गर्ने क्षमता यो प्लान्टको छ । ठूला होटल, अस्पताल तथा तरकारी बजारहरूमा यस्ता मशिन राखेर फोहोर व्यवस्थापनको समस्या केही हदसम्म कम गर्ने विकल्प हुनसक्थ्यो ।

शुरूमा यही प्लान्टबाट उत्पादित ग्यास उक्त कार्यालयमा खाना, खाजा र चिया बनाउनका लागि प्रयोग गर्ने गरिएको थियो ।

'करीब २ वर्ष जति सञ्चालनमा आयो। मशिन सञ्चालनका लागि भनेर थ्री फेज लाइन पनि तान्यौं, तर तत्कालीन समयमा दैनिक १६ घण्टासम्म लोडसेडिङ हुँदा मशिन चल्न सकेन । यसरी एक दिन, दुई दिन गर्दागर्दै हप्तौंसम्म बन्द हुँदा मशिनमा समस्या देखिन थाल्यो। यस्तो समस्या धेरै भएपछि मशिन ब्लक हुन पुग्यो र बन्द भयो,' मध्यपुर ठिमी नगरपालिकास्थित सामुदायिक विकास सरसफाइ र गैसस समन्वय शाखाका प्रमुख तुलसीभक्त तकुले लोकान्तरसँग भने।

भारतबाट मेकानिक झिकाउँदा पनि मर्मत हुन नसकेको उनले जानकारी दिए ।

'मर्मत गरेर सञ्चालन गर्नका लागि भनेर भारतको पुनेबाट टेक्निसियन झिकायौं, तर पूरै मशिन खोल्न पर्ने र समान पनि उतै (भारतमा) मात्र पाइने भनेर उहाँहरू यत्तिकै फर्किनुभयो। त्यसपछि फेरि सम्पर्क हुन सकेन ।'

भन्सार छुटमा ल्याइएको यो मशिनका लागि १७ लाख रुपैयाँ खर्च भएको उनले बताए ।

अहिले सामान्य खर्चमा मर्मत हुने भए मर्मत गरेर सञ्चालन गर्ने र सामान्य हिसाबले मर्मत गर्न नसकिएमा युनिभर्सिटीमा टेक्निकल विषय अध्ययनरत विद्यार्थीलाई प्राक्टिकलका लागि उपलब्ध गराउने विषयमा छलफल भइरहेको तकुको भनाइ छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्