![भृकुटीमण्डपमा जारी बृहत शैक्षिक मेलामा विद्यार्थीहरूको घुइँचो [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/0-02-03-84fe009cf3a385597ec3e78d00bcd07c2f1f7a4dee19a8d971506a017ff08dbe_699583c2463a0bec_p11DpIY1vG.jpg)
कान्तिपुर हिसान बृहत् शैक्षिक मेलाको तेस्रो दिन विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता देखिएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी मेलामा आइतवार करीब ६० हजार भन्दा बढीले अवलोकन गरेका छन् ।
मेलाको तेस्रो दिन निकै नै भीड लागेको भीएस निकेतन क्याम्पसका प्रधानाध्यापक गोपाल सिंहले लोकान्तरलाई जानकारी दिए ।
'शनिवारभन्दा पनि आइतवार विद्यार्थीको उपस्थिति बाक्लो देखियो,' सिंहले लोकान्तरसँग भने ।

एसईई उत्तीर्णपछि कक्षा ११ मा भर्ना हुने विद्यार्थी र कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरी एडुफेयर सञ्चालन गरिएको उनको भनाइ छ ।
यस्तै ग्लोबल कलेजका प्रधानाध्यापक अम्ब दत्त जोशीले आइतवार विद्यार्थीहरूको सहभागीता उत्साहजनक भएको बताए ।
'हिजोसम्म निरुत्साहित थियौं, तर आज पूरै स्टल भरिभराउ देखियो,' उनले भने
विद्यार्थीहरूले कलेजको पूर्वाधार र फीबारे बढी जानकारी लिएको उनले बताए ।
कलेजको १६ स्टल पूरै भरिभराउ भएको उनको भनाइ छ ।
ब्रिटिश कलेजका प्रशासन तथा मार्केटिङ प्रमुख अमरदीप मण्डलले कलेजको स्टलमा आइतवार ३ सयभन्दा बढीले सहभागीता जनाएको बताए ।
लोकान्तरसँग उनले भने,'कोभिड पछिको पहिलो ठूलो फेयर हो निकै उत्साहजनक छ, मेलामार्फत विद्यार्थीहरूले नेपालमा पनि राम्रो अध्ययन छ भन्ने हिसाबले बुझिरहनुभएको छ ।

हिसानका उपपाध्यक्ष तथा हेरल्ड इन्टरनेसनल कलेजका चेयरम्यान तथा प्रधानाध्यापक नारायणप्रसाद उपाध्यायले विज्ञान विषयमा विद्यार्थीहरूले बढी चासो राखेको बताए।
उनका अनुसार नेपालका विभिन्न ठाउँबाट विद्यार्थीहरू मेलामा सहभागी भएका छन् ।
उनले भने,'कतिपय त ब्रीज कोर्श अध्ययन गरिरहेका विद्यार्थीहरूले उत्साहका साथ मेलामा सहभागी भएको पाइएको छ ।'
'उत्कृष्ट शिक्षा नेपालमै’ नारा दिइएको ‘कान्तिपुर हिसान एडुफेयर’ भोलि (सोमबार) सम्म सञ्चालन हुनेछ ।
४ दिनको सो मेलामा २ लाखले अवलोकन गर्ने अनुमान गरिएकोमा लक्ष्यअनुसार पुग्ने आँकलन संयोजक शर्माको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्तरुपमा आयोजना गरेको मेलामा ७४ वटा शिक्षण संस्थाको स्टल रहेका छन् ।
हरेक दिन मेला बिहान १० देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।

मेलामा देशभरकै विद्यार्थीहरू उपस्थित रहेको संयोजक शर्माले जानकारी दिए ।
'विद्यार्थीहरूले जुन विषयमा जिज्ञासा राखे र सोही अनुसारको जानकारी पाए । त्यसले हिजो बुझेको र अहिले बुझेकोमा फरक पाएका छन् । यति भएपछि आफूलाई उपयुक्त लागेको विषयमा निर्धक्क अध्ययन गर्न सक्नेछन् भन्ने अपेक्षा गरिएको छ,' संयोजक शर्माले लोकान्तरसँग भने ।






