२६ जेठ २०८३, मंगलबार
परिकार

नेपालको परम्परागत बिहानी खाजा सातु कसरी बनाइन्छ ?

असार २५, २०७९
नेपालको परम्परागत बिहानी खाजा सातु कसरी बनाइन्छ ?

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ ।

कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्यबद्र्धक रहेछ भन्ने बुझ्न थालेपछि धेरैले सेवन गर्न थालेका छन् ।

सातु आफैंमा सन्तुलित पोस्टिक आहार भएका कारण बच्चादेखि बुढाबुढी सबैलाई उत्तम मानिएको छ । सातु परम्परागत रूपमा महीसँग खाने गरिन्थ्यो भने पछिल्लो समय तातो या चिसोपानी, तातो या चिसो दूधसँग मात्र नभई विभिन्न फलफूलको रस या दहीसँग समेत खान थालिएको छ । कर्न फ्लेक्स, मुस्ली, चोकोज ओट्स जस्ता पूर्ण रूपमा प्रोसेसिङ गरेर तयार गरिएको परिकारभन्दा सातु कैयौ गुणा स्वास्थ्यबद्र्धक हुने हुँदा यसको क्रेज दिनानुदिन बढ्दो छ ।

सातुमा भिटामिन, मिनेरल्स, क्याल्सियम, प्रोटिन र फाइबर समेत पर्याप्त पाइने हुँदा सबै उमेर समूहका लागि एक सन्तुलित आहारा मानिन्छ । पछिल्लोसमय विभिन्न व्यावसायिक समूहले सातुलाई राम्रो बजार लिन फरक रेसिपी गरेर लोभ्याउन थालेका छन् ।

काजु–बदाम जस्ता महंगा नट्स मिसाएर सातु बनाएको बजारमा र विज्ञापनहरूमा प्रस्ट देखिन्छ । सबैभन्दा स्वस्थकर सातु भनेको हाम्रो परम्परागत रूपमा बनाइने तरिका नै हो । जुन माटोको हाडीमा ग्रेन्स भुटेर ढुंगाको जातोमा पिसिन्थ्यो र ताजा–ताजा खाने गरिन्थ्यो । अहिले व्यावसायिक रूपमा बनाइने सातुहरू धेरै दिन बजारमा रहने हुँदा यसको आयुमा धेरै कमी आएको हुन्छ । बोराका बोरा मशिनमा पिसिने हुँदा बजारको सातुमा फाइबर पनि कमै पाइन्छ ।

सातु एकैदिन पटक–पटक खानु राम्रो मानिन्न र सुत्ने बेलामा पनि सातु नखाँदा राम्रो । सातु खाँदाखाँदै पटक–पटक पानी पिउनु पनि राम्रो होइन र चपाइरहनु पनि उत्तम होइन । मिठो भयो भनेर अत्याधिक सातु सेवन गर्नु पनि हानिकारक मानिन्छ ।

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयामा जौको सातु र सर्वत खाने चाड नै परापूर्वकालदेखि चल्दै आएको छ । सातुको महत्त्व आयुर्वेदमा समेत प्रस्ट पारिएको छ । सातुलाई कण्ठरोग, नेत्ररोग, भोक, प्यास, थकान, उल्टी, बन्दघाउ आदि नासक भनेर उल्लेख गरेको छ । नियमित सातु सेवन गर्नेलाई मधुमेह, कुष्ठरोग, क्षयरोग नहुने बताइएको छ ।

सातु कसरी बनाइन्छ ?

सातु बनाउन चाहिने सामग्रीःमकै ५०० ग्राम, भटमास ५०० ग्राम, गहुँ ५०० ग्राम, चना ५०० ग्राम, केराउ ५०० ग्राम, जौ ५०० ग्राम (अतिरिक्त), पानजिरा (स्वप) २ चिया चम्चा, रक साल्ट या वीरे नून स्वादअनुसार, आल्मन्ड ८० ग्राम, मुङ्गफली (बदाम) १२० ग्राम, कालो मरिच १ चिया चम्चा

सातु बनाउने विधि : उल्लेखित सम्पूर्ण गेडागुडीलाई राम्ररी पखालेर ड्राइ बनाई माटोको हाडी या बाक्लो कराइमा भुट्ने । केही चिसो हुनासाथ अन्य सामग्री हालेर जातो, घट्टो, ओखल या गल्यान्डरमा मसिनो गरी पिस्ने । चाल्नो या जालीमा छानेर सफा बोतल या डब्बामा एयर टाइट गरी राख्ने । नूनिलो रुचाउनेले वीरेनून या रक साल्ट हाल्ने वा गुलियो रुचाउनेले मिस्री या सख्खर हालेर तातो या चिसो दूध, चिसो या तातो पानी, दही या मही जेसँग पनि सेवन गर्न सकिन्छ ।

नेपाली सातु प्रयोग गरेर विभिन्न मिठाइ या लड्डुहरू पनि बनाउन सकिन्छ, जुन अन्य मिठाइको तुलनामा निकै स्वादिष्ट र स्वास्थ्यबद्र्धक पनि हुन्छ । माथि उल्लेखित सामग्रीबाहेक मल्टिग्रेन, हेल्दी मिक्स पाउडर जस्ता सातुहरू पनि निकै प्रसिद्ध छन् । स्यर्लेक्सभन्दा नि स्वास्थ्यबद्र्धक हेल्दी मिक्स पाउडर घरमै बनाएर आफ्ना बालबालिकालाई नियमित खुवाउन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्