
जिल्ला हुलाक कार्यालय तनहुँले एक वर्षमा दुई लाख थानभन्दा बढी टिकट बिक्री वितरण गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७८÷७९ मा दुई लाख दुई हजार पाँच सय ५० थान टिकट बिक्री गरेको हो ।
यसअघि बजारका स्टेशनरी पसल, फोटो पसलबाट पनि टिकट बिक्री वितरण हुँदै आएकामा तोकिएको भन्दा बढी मूल्य लिने गरेपछि हुलाकबाट मात्रै टिकट बिक्री हुने गरेको हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईले जानकारी दिए । साउन महिनामा २५ हजार आठ सय २०, भदौमा २४ हजार चार सय २०, असोजमा २७ हजार एक सय २०, कात्तिकमा १५ हजार चार सय ४०, मङ्सिरमा १४ हजार पाँच सय २०, पुसमा आठ हजार चार सय २०, माघमा २१ हजार, फागुनमा १५ हजार दुई सय ५०, चैतमा १५ हजार सात सय ५०, वैशाखमा १० हजार ६०, जेठमा १० हजार एक सय दश र असारमा १४ हजार छ सय ४० थान टिकट बिक्री भएको छ ।
कार्यालयले एक वर्षको अवधिमा विभिन्न सेवाबाट रु २६ लाख २१ हजार दुई सय ४५ राजस्व सङ्कलन गरेको भट्टराईले जानकारी दिए । भन्सार महसुल आयात शीर्षकबाट रु ७३ हजार नौ सय २५, हुलाक सेवा शुल्कबाट रु २१ लाख दुई हजार पाँच सय ६८, अन्य क्षेत्रको आयबाट रु ३४ हजार पाँच सय, धरौटी सदर स्याहाबाट रु ४४ हजार चार सय २३ र अन्य बाडफाड हुने राजस्व शीर्षकबाट रु तीन लाख ६५ हजार आठ सय दुई सङ्कलन भएको छ ।
हुलाक कार्यालयले तनहँुबाट प्रकाशित हुने सात वटा दैनिक, पाँच वटा साप्ताहिक र सात वटा एफएम रेडियोलाई नेपाल सरकारको लोककल्याणकारी विज्ञापनको रकम भुक्तानी गर्दै आएको छ ।
जिल्लामा एउटा जल्ला हुलाक कार्यालय, १४ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाक कार्यालयमार्फत सेवा प्रवाह हुँदै आएको भट्टराईले जानकारी दिए । हुलाक कार्यालयले चाँडै नै घरघरमा राहदानी सेवा ढुवानीको कार्यसमेत गर्ने तयारी गरेको छ ।