०५ साउन २०८३, मंगलबार
गौतमश्री सहकारी ठगी प्रकरणः

सिलाइ-कटाई गरेर शान्तिले जम्मा गरेकी थिइन् ९ लाख, सहकारी भागेपछि धाउँदैछिन् विभाग

साउन १६, २०७९
सिलाइ-कटाई गरेर शान्तिले जम्मा गरेकी थिइन् ९ लाख, सहकारी भागेपछि धाउँदैछिन् विभाग

ललितपुर इमाडोलकी शान्ति महर्जन छोरीको नाममा मासिक बचत गरेको पैसा झिक्न सोमवार बिहानै कुलेश्वरमा रहेका गौतमश्री सहकारी पुगेकी थिइन् । एक वर्षे मुद्दती निक्षेपमा राखेको ९ लाख रुपैयाँ अवधि पुगेपछि उनी पैसा निकाल्न गएकी थिइन् । तर, उनले आफ्नो पैसा निकाल्न पाइनन् । 

उनी पुग्दा सहकारीमा ताला लागिसकेको थियो । ४ दिन अगाडि नै सञ्चालक भागेपछि छोरीको पढाइ खर्चको पैसा निकाल्न गएकी महर्जन रित्तो हात फर्किनुपर्‍यो । घरव्यवहार चलाउँदै सिलाइ–कटाई गरेर कमाएको पैसा डुब्यो भन्दै उनी कुलेश्वरबाट सिधैं सहकारी विभागमा उजुरी दिन पुगिन् ।

सोमवार बिहान नागरिकता र बचत गरेको रकमको स्लिप लिएर विभाग पुगेकी महर्जन पैसा फिर्ता नै पाइँदैन कि भन्नेमा चिन्तित पनि थिइन् ।  सरकारले सञ्चालन अनुमति दिएर सहकारी चलेकोले आफ्नो पैसा पनि सरकारकै पहलमा फिर्ता पाइने उनको अपेक्षा छ ।

ताहाचलमा सामान्य फर्निचरको काम गर्ने मचान महर्जन परिवारको पनि गौतमश्रीमा ५ वटा खाता थियो । सहकारीमा उनको परिवारको सवा लाख रुपैयाँ जति जम्मा भएको थियो । एउटा खातामा १५ सय, अर्कोमा ९ हजार र अरु २ वटा खातामा ४० देखि ५९ हजार रुपैयाँ जम्मा गरेका थिए । दुःखले कमाएर जम्मा गरेको पैसा राख्ने र झिक्ने गरिरहेका महर्जनसँग एक सातादेखि बचत संकलन गर्न सहकारीका कर्मचारी आएनन् । उनको परिवारले सोमवार बिहानमात्रै सहकारीका सञ्चालक भागेको थाहा पाए । उनी पनि आफ्नो मेहनतको कमाइ डुबेको भन्दै फिर्ता दिलाइदिन सहकारी विभागमा निवेदन दिन पुगेका छन् । 

भक्तपुर घर भएकी एक महिलाले मलेसियाबाट भिनाजुले सुरक्षा गार्ड गरेर कमाएको ९ लाख रुपैयाँ यही सहकारीको मुद्दती बचतमा राखेकी थिइन् । ‘दिदीले राम्रो ब्याज आउने ठाउँमा राखिदिनु भनेकोले बैंकमा भन्दा सहकारीमा धेरै प्रतिफल पाइने आशामा पैसा राखेकी थिएँ’, उनले भनिन् । सहकारीका सञ्चालक सम्पर्कविहीन भएपछि सहकारी बन्द भएको उनले ६ दिनपछि मात्रै थाहा पाइन् । सहकारी सञ्चालक भागेपछि अब दिदीलाई के फिर्ता गर्ने र भिनाजुको पसिनाको मूल्य कसरी तिर्ने  भन्ने चिन्ताले उनलाई सताइरहेको छ । 

सोमवार दिउँसो क्षेत्रपाटीमा फर्निचर सञ्चालन गर्दै आएका रामेश्वर तिवारी सहकारी विभागमा बचत फिर्ताको माग गर्दै उजुरी दिन आइपुगे । उनले जग्गा बेचेको २० लाख रुपैयाँ गौतमश्री सहकारीमा ४ महिना अगाडि मात्रै मुद्दती निक्षेपमा राखेका थिए । 

सहकारी विभागमा सोमवार बिहान भेटएका यी चार प्रतिनिधि पात्र मात्रै हुन् । सहकारीमा हजारदेखि करोडसम्म राख्ने बचतकर्ता पनि छन् । काठमाडौंकै श्यामलाल, सुमित्रा, सामिला र रेवन अम्वादे परिवारले उक्त सहकारीमा ५ करोड रुपैयाँ बचत गरेका थिए । उक्त रकम दिलाइपाउँ भन्दै अम्वादे परिवारले आइतवार नै विभागमा उजुरी दिइसकेका छन् । 

गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाबाट ठगिएको भन्दै दुई दिनमै करीब ११ सय बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका छन् । विभागमा शुक्रवार र आइतवार मात्रै १ हजार ७५ जनाले करीब डेढ अर्ब रुपैयाँ बचत फिर्ता गराइदिन माग गर्दै उजुरी दिएका थिए । उजुरी दिने क्रम जारी गरहेकोले सोमवारसम्ममा ११ सय नाघेको सहकारी विभागले जानकारी दिएको छ ।

कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको र विभिन्न स्थानमा सेवा केन्द्र तथा डिपार्टमेन्ट स्टोरसम्म सञ्चालन गरेको यो सहकारीका सञ्चालक ११ साउनदेखि सम्पर्कविहीन छन् । सञ्चालक भागेपछि सहकारीका बचतकर्ता ‘बचत फिर्ता दिलाइपाउँ’ भन्दै सहकारी विभागमा पुगेरै उजुरी दिइरहेका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतम हुन् । 

बचतकर्ताको पैसा फिर्ता दिलाउने प्रयास गर्दै सहकारी विभाग

सहकारी विभागले बचतकर्ताले बचत रकम फिर्ता दिलाउने प्रयास शुरू गरिसकेको जानकारी दिएको छ । विभागले आवश्यक अध्ययन गर्ने र सहकारीको सम्पत्ति बिक्री वा नयाँ सञ्चालकबाट सहकारी चलाउन सक्ने विषयको टुंगो लगाउने भएको छ ।

विभागका प्रवक्ता टोलराज उपाध्यायका अनुसार आइतवार एकैदिन एक हजारको संख्यामा उजुरीकर्ता विभागमा आएका थिए । सहकारीविरुद्ध उजुरी पर्नासाथै आइतवार नै सहकारी विभागले सञ्चालकको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।

यो सहकारी बन्द गरेर सञ्चालक खोज्न र सहकारीको सुरक्षा गर्न नेपाल प्रहरीलाई पत्र लेखिसकिएको छ भने पीडित बचतकर्ताबाट प्राप्त उजुरी, निवेदनका आधारमा विभागले थप आवश्यक कारबाही गर्न ३ दिनभित्र सम्बन्धित निकायलाई सिफारिस गर्ने उपाध्यायले बताए । 

उनका अनुसार बचतकर्ताको उजुरीपछि थप अध्ययन गर्ने काम शुरू भइसकेको छ । बचतकर्ताको हित हेरेरै सहकारी समस्याग्रस्त घोषणा गर्नुपर्ने वा नयाँ सञ्चालकबाट चलाउनसक्ने अवस्थाको बारेमा अध्ययन शुरू गरिएको उनले बताए । 

अहिले संकटको अवस्था र उजुरीकर्ताको संख्या हेर्दा नयाँ सञ्चालक समिति बनाएर सहकारी चलाउन सक्ने अवस्था देखिँदैन । सहकारीको अध्ययन भइरहेकोले संकटग्रस्त घोषणा गरेर सहकारीको दायित्व राफ–साफको निर्णय हुन सक्ने पनि उपाध्यायले बताए । 

सहकारी अब चल्नै नसक्ने भए संकटग्रस्त घोषणा गर्न विभागले सिफारिस गर्ने छ । विभागको सिफारिसमा सहकारी व्यवस्थापन समितिले ‘संकटग्रस्त’ घोषणा गर्ने प्रावधान छ । समितिले हालसम्म १२ वटा सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गरिसकेको छ । विभागले भने १४३ वटा सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गर्न सिफारिश गरेको थियो ।

समस्याग्रस्त सहकारी समितिले ३ हजार ५९ जना बचतकर्ताको १ हजार ६२४ वटा उजुरीका आधारमा हालसम्म १२ वटा सहकारीलाई मात्र ‘संकटग्रस्त’ घोषणा गरेको छ । यसबाट १ अर्ब १७ करोड ७ लाख ९० हजार ८८४ रुपैयाँको दाबी परेको छ ।

पछिल्लोपटक इच्छाराज तामाङले चलाएको सिभिल सहकारी र सुधीर बस्नेतको ओरियन्टल सहकारीलाई पनि संकटग्रस्त घोषणा गरिएको थियो । तर, ओरियन्टललाई सर्वोच्चको आदेशले ‘चलाउनू’ भन्ने आदेश दिएको छ । तर, यो सहकारी न सञ्चालन हुन नसकेको छ न त बचतकर्ताको रकम फिर्ता गर्न नै सकेको छ । सिभिलका सञ्चालक तामाङ कारागारमा रहेका कारण उक्त सहकारीका बचतकर्ताले पैसा फिर्ता पाएका छैनन् ।

१५ जना सञ्चालकहरूकाे खाता रोक्का

सहकारी विभागको पत्रलगत्तै नेपाल राष्ट्र बैंकले गौमश्री सहकारीका अध्यक्षसहित १५ जनाको खाता रोक्का गरेको छ । सहकारीमा उपाध्यक्ष गौतमकी श्रीमती निर्मला खत्री, सचिव राम गौतम, सदस्यहरू होमकुमारी खत्री, अर्जुन गौतम, शन्तोषी केसी, भगवती थापा र सुभास भुसाल छन् । सहकारीको लेखा समिति संयोजक सुनिता तिमिल्सिना, लेखा समिति सदस्यद्वय पंकजकुमार झा र विकास चौधरी छन् । सहकारीको व्यवस्थापक रविन विष्ट, ऋण व्यवस्थापक अनिल गौतम र लेखापाल सुनिता सिंहको पनि खाता रोक्का गरेर अनुसन्धान शुरु गरिएको बैंकले जनाएको छ । 

सहकारीका अध्यक्ष सम्पर्कविहीन भएकोले संस्था बन्द हुने र संस्थाको सम्पत्तिको सुरक्षा पाउँ भन्दै सहकारीका व्यवस्थापक रविन विष्टले प्रहरी प्रधान कार्यालयसमक्ष निवेदन पनि दिएका छन् । उनले १३ असारमै यस्तो निवेदन दिएको फेला परेको छ । 

salt training

कमेन्ट गर्नुहोस्